coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

एक्ली देवीले किन भोग खान्छिन् ?

मेरो जिन्दगीको एउटा अविष्मरणीय पल दशैँसँग जोडिएको छ। म १३ वर्षकी हुँदा थिएँ, कक्षा ८ मा पढ्थेँ। फूलपातीको अघिल्लो दिन हाम्रो घर पोत्ने दिन थियो। खेतालाहरूले घर पोत्दै गर्दा पानी सकियो। त्यतिबेला घरनजिकै पानी आइसकेको थियो, नत्र पानी लिन झन्डै आधा घन्टाको बाटो हिँड्नुपथ्र्यो। धारामा पानी नआएपछि त्यसको मूलमै के भएको रैछ हेरौँ भनेर म र भाइ (माइलो बुवाको छोरा राजन) आधा घन्टाको बाटो गैँयाथान पुग्यौँ। त्यहाँ पुगेको केही समयमा मलाई एकदमै अफ्ठेरो महसुस भयो। मैले लगाएको फ्रकमा रातो देखेपछि आत्तिएँ। म पहिलोपटक महिनावारी भएकी थिएँ। पहिलो महिनावारीमा घरको धुरी र दाजुभाइको अनुहार हेर्न हुँदैन भन्ने मान्यता थियो। भाइ साथमै थियो, अब के हुन्छ ? एकदम डर लाग्यो, भित्रभित्रै काँप्न थालेँ, तर केही भनिनँ। घर पुगेपछि आमालाई देख्नासाथ रोएँ। आमाले खै कसरी थाहा पाउनुभयो ‘ल, दशैँको बेलामै प-यो !’ भन्दै बाटामुनि जान भन्नु भो। पहिलोपल्ट महिनावारी हुँदा घरमा बस्न हुदैन भनेर अरुको घरमा पठाइन्थ्यो।

छिमेकी थापा दाजु–भाउजूको घरलाई बाटामुनि दाजुको घर भन्थ्यौँ हामी। दिदी पनि पहिलोपल्ट महिनावारी हुँदा त्यही बस्नुभएको थियो। हाम्रो घरमा जो महिनावारी भए पनि बस्ने, त्यसैले त्यो हाम्रा लागि खान्दानी महिनावारी छल्ने घर बनेको थियो।

दशैँको मुखमा अर्काको घरमा बस्नुपर्दा मन न्यास्रो भएको थियो। फूलपाती सकिएपछि बुवाले माइलोबुवासँग सोध्नुभएछ, ‘बबु (मेरो घरमा बोलाउने नाम) नहुँदा नरमाइलो भयो, के गर्ने ? माइलोबुवा यस्ता कुरामा असाध्यै कडा, भान्सामा चप्पल लगाएर बनाएको खाना अहिले पनि खानुहुन्न। महिनावारी हुँदा नबार्ने भनेर सोच्ने कुरै भएन, तर उहाँले मलाई एकदम माया गर्नुहुन्थ्यो। बुवाले उहाँसँग डराइडराइ सोध्नुभएको थियो रे। तर, माइलो बुवाले भन्नुभएछ, ‘केही हुन्न, तीन दिन भइसक्यो, भोलि बोलाउनू।’

फूलपाती सकिएपछि बुवाले माइलो बुवासँग सोध्नुभएछ, ‘बबु नहुँदा नरमाइलो भयो, के गर्ने ?’ माइलोबुवा यस्ता कुरामा असाध्यै कडा, भान्सामा चप्पल लगाएर बनाएको खाना अहिले पनि खानुहुन्न। तर उहाँले मलाई असाध्यै माया गर्नुहुन्थ्यो। उहाँले भन्नुभएछ, ‘केही हुन्न, तीन दिन भइसक्यो, भोलि बोलाउनू।’

उहाँले यसो भन्दा परिवारमा सबै छक्क परेछन्। पहिलोपल्टको नछुने ११ दिनसम्म अर्काको घरमा बसेर बार्ने चलन थियो। नवमीको दिन मलाई लिन बिहानै भाइबहिनी पुग्दा मेरो पहिलो प्रश्न थियो, ‘माइलो बुवाले के भन्नु हुने हो ?’

यसरी चार दिनको दिन मैले सबैको हातको टीका लगाएँ। हाम्रो परिवारमा पहिलोपल्ट तीन दिन मात्रै पहिलो नछुने बारिएको घटना थियो त्यो।

स्त्रीशक्ति
दशैँ हाम्रो सांस्कृतिक चाड हो, जो पूर्वीय सभ्यतासँग जोडिएको छ। यो हामीबीच भएको विविधतालाई एकतामा जोड्ने पर्व हो।

दशैँले पारिवारिक सम्बन्धहरूलाई नवीकरण गर्न मद्दत गर्छ। आफन्तसँग भेटघाट गराउँछ, आत्मीयता बढाउँछ। दशैँ स्त्रीशक्तिको महिमासँग पनि सम्बन्धित छ। नवरात्रिको महत्व सकारात्मक ऊर्जासँग छ। पूजाआजादेखि खानपान हुँदै आफन्तहरूसँगको भेटघाटसम्ममा यसको महिमा जोडिएको छ। दशैँले हामी आफूले आफैँलाई हाम्रा नाता–सम्बन्धलाई फर्किएर हेर्नका लागि अवसर जुटाइदिन्छ।

खै किन हो दशैँ प्रत्येक वर्ष फरक भएर आए जस्तो लाग्छ मलाई। सानो छँदा एउटा छुट्टै उत्साह लिएर आउने गरेको दशैँ अहिले थकाई मार्ने समय जस्तो लाग्न थालेको छ। वर्षभरि काम ग-यो, आरामले घर बस्ने दिनको कल्पना गर्दा पनि दशैँ अगाडि आउँछ। पहिला हामीकहाँ दशैँमा मार हान्ने चलन थियो, अहिले छोडिएको छ। फूलपातीदेखि म प्रायः शक्तिपीठहरू जान्छु। मन्दिर जाँदा एक प्रकारको सकारात्मक ऊर्जा प्राप्त हुन्छ। घरमै पनि बुवाले पूजापाठ गर्दा दशैँमा रौनक नै फरक लाग्छ। खानपिन, टीका, जमरा, आफन्तसँगको भेटघाट यस्तै त हो।

एक्ली देवी र भोग
दशैँमा अरु त ठीकै छ, कामको बोझ भने महिलालाई बढी देख्छु। दशैँ मात्र होइन, हाम्रा सबै चाडबाड महिलाले धानेका छन्। दशैँमा कामको बोझ बढी हुन्छ। वर्षभरि अफिसियल कामको बोझले थिचिए पनि दशैँमा घरमा के पकाउने, खाने, सफासुग्घर, पाहुनालाई स्वागत–सत्कार सबै महिलाले नै गरेको देख्छु। सबै त होइन होला, धेरैजसो पुरुष प्रायः यसै समय बिताइरहेका हुन्छन्। घरको काममा पुरुषको सहयोग भए महिलाका लागि पनि चाडबाड रमाइलो हुने थियो भन्ने लाग्छ। पुरुष प्रायः पिउने, खेल्ने गर्छन्,  महिलाहरू घरको काममा व्यस्त हुँदा चाडबाड महिलाका लागि थप बोझिल बन्ने गरेका छन्। कामको बोझको यो पाटोलाई बुझेर हात बटाउन सकियो भने दशैँ थप रमाइलो हुन्थ्यो कि जस्तो लाग्छ।

लैंगिकताको सवाललाई जोडेर हेर्दा दशैँको सबैभन्दा सशक्त पक्ष महिला शक्तिको पूजा–अर्चना नै हो। देवीको पूजा गर्नुको अर्थ स्त्रीशक्तिको सम्मान हो। हाम्रो जस्तो ‘मास्क्युलिन सोसाइटी’मा ‘फेमिनिन पावर’को उपासना आफैँमा रोचक पक्ष हो। नवरात्रिको पूजा–अर्चनाले एउटा छुट्टै परिवेशको निर्माण गरे जस्तो लाग्छ। जुन दशैँको सबैभन्दा सुन्दर र सबल पक्ष हो। टाढा–टाढा मन्दिरमा रहने देवीहरूलाई हेर्दा महिलाको सार्वजनिक जीवन परापूर्वकालदेखि नै थियो भन्न सकिन्छ। देवताहरूको कुरा गर्दा प्रायः देवीहरू एक्लै र पुरुष देवताहरू चाहिँ जोडी देखिन्छन्। जस्तोः बाग्लुङ कालिका, दक्षिणकाली, पाथीभरा, विन्दवासिनी सबै नै एक्लै छन्। पुरुष देवताहरू जोडीमै छन्– शिवसँग पार्वती, विष्णुसँग लक्ष्मी, राम मन्दिरमा सीता यस्तै–यस्तै। यसबाट के देखिन्छ भने महिलाको एकल जीवन त्यतिबेलादेखि नै थियो। महिलाहरू सशक्त थिए, एक्लै पनि बस्न सक्थे। उनीहरूको आफ्नै अस्तित्व थियो। पुरुष भगवान्मा एक्लै त हनुमानजी मात्रै हुन्। अघि हामीले बलिप्रथाको कुरा ग-यौँ, देवी–देवताको सन्दर्भमा मैले नबुझेको कुरा के हो भने देवीहरूले मात्र किन भोग खान्छन् ? या, देवीहरूलाई किन बलि चढाइन्छ ? पुरुष भगवान्ले किन भोग खाँदैनन् ?

सधैँको ‘डेडलाइन’बाट मुक्ति
यसपालिको दशैँमा खास योजना छैन। खाना पकाउन मलाई रमाइलो लाग्छ, अरु बेला सधैँ हिँड्न हतार हुन्छ, भ्याइँदैन, दशैँमा पकाउने हो। अरु बेला परिवारका सदस्यले पकाएको खाने, दशैँमा आफूले बनाएर उहाँहरूलाई खुवाउने योजना छ। मलाई धेरै कुरा पकाउन आउँदैन, तर जति आउँछ खानेहरूले मीठो हुन्छ भन्छन्। दशैँमा म छोरालाई असाध्यै मिस गर्छु, ऊ अमेरिकामा पढ्दै छ। आफ्नो हातले खाना पकाउँदा उसको सम्झना आउँछ। त्यसैले सकेसम्म उसलाई मनपर्ने खानेकुरा चाहिँ बनाउँदिनँ। सधैँ ‘डेडलाइन’मा हिँडेर होला दिनभरि घर बस्ने, घडी नहेरी समय बिताउने रहर सधैँ हुन्छ। हतार नगरी उठ्ने, आरामले चिया, खाना खाने, लथालिंग कपडाहरू मिलाउने, परिवारमा रमाइलो गरेर बस्ने योजना छ। कतिपयले दशैँमा पढ्ने योजना बनाउँछन्, मलाई चाहिँ दशैँ पढ्नका लागि उपयुक्त समय हो जस्तो लाग्दैन। पढ्ने, लेख्ने जीवनमा नियमित दिनचर्या भएकाले दशैँमा यी कुराबाट अलग बस्न मन लाग्छ।

केरा पकाउने त्यो प्रविधि
म खोटाङको सालम्बुमा जन्मिएर त्यहीँ हुर्किएँ। सानो छँदा दशैँ एकदमै रमाइलो लाग्थ्यो। प्रत्येक दिन बिहान डेढ घन्टा, बेलुका डेढ घन्टा हिँडेर स्कुल जानुपथ्र्यो, दशैँमा लामो छुट्टी हुने हुँदा रमाइलो हुन्थ्यो। नयाँ लुगा लगाउने, घरमा खसी काट्ने हुँदा बेग्लै रमाइलो हुन्थ्यो। घरमा अम्बा, सुन्तला लटरम्मै फलेका हुन्थे, तिनले पनि केटाकेटी मनलाई खुसी पार्न उत्साह भर्थे। अँगेनाको छेउमा माटोको ठूलो घ्याम्पोमा दशैँका लागि केरा पकाएको सम्झिन्छु। काँचो केरा पकाउनलाई घ्याम्पोको माथि हाँडी राखेर भुसमा आगो राखिन्थ्यो। खासमा के प्रविधि थियो त्यो ? अहिले सम्झिदा गज्जब लाग्छ। हाम्रा पारम्परिक सीप र तौर–तरिकाहरू कति अग्र्यानिक थिए र छन्। तिनको संरक्षण पो कसरी गर्ने हो जस्तो लाग्छ। रातो र पहेँलो माटोले घर पोत्नेदेखि जमरा राख्नेसम्म रमाइलो लाग्थ्यो। दशैँमा अष्टमीको दिन माइलो बुवाकोमा सगोलमा बोका पूजा गरिन्थ्यो, खाना त्यही खान्थ्यौँ। अष्टमीको दिन माइलो बुवा, हामी र कान्छा काकाका सन्तान जम्मा हुँदा करिब ३० जना एउटै भान्सामा खान्थ्यौँ, खुब रमाइलो हुन्थ्यो। नवमीको दिन सबैको घरमा खसी काटिन्थ्यो।

काइँलादाइ
हाम्रो घरमा एकजना बोल्न र सुन्न नसक्ने सहयोगी थिए। मलाई यति माया गर्थे कि दाउरा काट्न जाँदा सधैँ एउटा लौरो मेरा लागि ल्याइदिन्थे। दशैँमा टीका लाउन आउनेहरूलाई म लाइनै राखिएका ती लौराहरू देखाउँथेँ। माइलो बुवाकोमा बस्ने सहयोगी काइँला दाइको त म अति विश्वासपात्र थिएँ। दशैँका बेला उनी मलाई पैसा गन्न लगाउँथे। धेरैअघि हजुरआमाको पालादेखि नै जम्मा पारेर राखेका ती पैसाहरू गनेर म उनको थैलीमा मिलाएर राखिदिन्थेँ। उनी त्यो थैली मबाहेक कसैलाई छुन दिँदैनथे। बुवाभन्दा पाका उमेरका उनको सानी बच्चा हुँदैदेखिको मप्रतिको विश्वास सम्झिएर हिजोआज दशैँ आउँदा नोस्टाल्जिक हुन्छु। हाम्रो घरमा सानैदेखि बसेका उनले अंश लाउँदा माइलो बुवा रोजेका थिए रे। बबु भनेको उनी भबु भन्थे। १५ वर्षअघि उनको मृत्युको खबरले मलाई धेरै दिनसम्म डिस्टर्ब गरेको थियो।

‘घरको खसी काट्दा रोएँ’
म सात वर्ष जतिकी थिएँ होला, सानैदेखि आफूले पालेको पाठो हुर्किंदै खसी बनेको थियो। त्यसले हामीसँगै चिया, खाना र मासु पनि खान्थ्यो। यता आइज, उता जा भनेको कुरा सबै बुझ्थ्यो। अति मायाले पालेको त्यस्तो खसी नवमीको दिन मार हान्न लाग्दा म घर पछाडि आएर डाँको छाडेर रोएँ। सबैले मलाई सम्झाए, तर एकैछिनमा त्यही खसीको मासु दंग पर्दै खाइयो। पोलेर, पकाएर, पक्कु, उसिनेर, बाल्यकालमा खाएका मासुका धेरै परिकार सम्झिन्छु। पिङ दशैँमा अर्को सम्झिने कुरा हो। सानो छँदा दशैँका बेला मनोरञ्जनको संसार नै पिङ वरिपरि भएझैँ लाग्थ्यो।

हाम्रो गाउँमा पूरै राई बस्ती थियो, छ। गाउँका दाइहरू कोही हङकङ, युकेका लाहुरे थिए, कोही इन्डियन आर्मी। छुट्टी आउँदा प्रायः दशैँ पारेर आउँथे। गाउँमा सबैसँग यति मेलमिलाप थियो कि उहाँहरू आउँदा हामीलाई आफ्नै दाइहरू आएजस्तो लाग्थ्यो। उहाँहरूले गाउँमा सबैलाई ‘दशैँको हार्दिक शुभकामना छ है’ भन्दा दशैँमा शुभकामना दिनुपर्ने रैछ भन्ने थाहा भयो। एक दिनको कुरा हो, गाउँकी एउटी दिदीले आफ्ना सन्तानलाई बेस्सरी कुटेको देखेपछि मेरो आमाले बच्चाहरूलाई किन त्यसरी कुटेको भनेर गाली गर्नु भो। उनले आमासँग भनिन्, ‘के गर्नु त काकी, यिनीहरूले त मलाई हारदिक्कै शुभकामना लाइसके।’

ती दिदीले दशैँमा ‘हार्दिक शुभकामना छ है’लाई ‘हारदिक्कै’ अर्थमा बुझेकी रहिछन्। यो कुरा सम्झिएर अहिले पनि हामी बेलाबेला हाँस्ने गर्छौं।

बाल्यकाल र अहिलेको दशैँमा मुख्य भिन्नता उत्तरदायित्वकै हो जस्तो लाग्छ। बाल्यकालमा टार्नु, पु-याउनुपर्दैनथ्यो, दशैँ आएको मात्रै थाहा हुन्थ्यो। अहिले दशैँसँगै घर–परिवार, कार्यालयसँग सम्बन्धित धेरै कुरा जाडिएर आउँछन्।

पशुबलि
पशुबलिको इतिहास धेरै लामो छ। मूलतः कुलपूजा, दशैँ र मन्दिरहरूमा पशुबलि दिने गरिएको छ। बलि प्रथा धर्म होइन, विश्वास मात्रै हो। मलाई चाहिँ अरुको ज्यान मारेर धर्म हुन्छ भन्ने कुरामा विश्वास छैन। धर्मले अरुको ज्यान लिँदैन, बचाउँछ। कसैमाथि पनि अन्याय नगर्नु धर्म हो। बलिप्रथाले ज्यान लिन्छ, जिउँदो प्राणीमाथि अन्याय गर्छ। सानो छँदा यसबारे थाहा थिएन र अपनाइयो। अहिले थाहा भएपछि बलि दिने गरिएको छैन। यो सांस्कृतिक र पारम्परिक कुरा पनि भएकाले कसैको संस्कृतिविरुद्ध बोल्ने अधिकार म राख्दिनँ, तर बलिप्रथालाई समर्थन गर्न पनि सक्दिनँ।

दक्षिणा
सानो छँदा दशैँमा टीका लगाएर दक्षिणा पाउँदा निकै खुसी लाग्थ्यो। दाजुभाइले दक्षिणा पाउँदैनथे, हामीले पाउँथ्यौ, त्यसैले छोरी भाग्यमानी जस्तो लाग्थ्यो। आफूले पाएको दक्षिणाले अहिलेको पाइलटपेन जस्तै राम्रो कलम किनेको सम्झना छ। आफूले राख्न पाइएन, तर छोराको चाहिँ सानो छँदाको दक्षिणा प्रत्येक वर्षको छुट्टै खाममा अहिले पनि सुरक्षित राखिदिएकी छु।

दक्षिणा किन महिलालाई मात्र दिइन्थ्यो या दिइन्छ भनेर मैले अहिलेसम्म बुझ्न सकेकी छैन। महिलाको आफ्नो कमाई, पैतृक सम्पत्ति केही हुँदैन भनेर सहानुभूतिपूर्वक दिइएको हो कि जस्तो लाग्छ। छोरालाई दक्षिणा नदिए पनि ज्वाइँलाई दिने गरिएको छ। छोरा र ज्वाइँ दुवै पुरुष भए पनि ज्वाइँलाई यो सकारात्मक विभेद छोरीसँग सम्बन्ध जोडेकाले गरिएको होला, छोरीलाई राम्रो गर है भनेर। हामीले अहिले खाली हात टीका नलगाउँ भनेर महिला–पुरुष सबैलाई टीका लगाएर पैसा दिने चलन बसाएका छौँ, छोराबुहारी, छोरीज्वाइँ सबैलाई बराबरी दिने। यो एउटा परम्परा जस्तै बनेकाले निरन्तरता दिँदा खासै फरक पर्दैन। छोराबुहारीले बुवाआमालाई टीका लगाइ सकेपछि पैसा राखेर ढोग्ने चलन पनि मलाई रमाइलो लाग्छ।

‘सबैको पर्व’
दशैँ नेपालीहरूको महान् चाड हो। यसलाई हिन्दू मात्रको नभई सबै नेपालीको चाड बनाउनुपर्छ जस्तो लाग्छ। हुन त, हाम्रो देशमा धार्मिक सहिष्णुता पहिले देखि नै छ। हामी सबै चाडबाड दिल खोलेर मनाउँछौँ। इद होस् या क्रिसमस एकअर्कालाई शुभकामना दिन्छौँ। सकेसम्म रमाइलो गर्छौं। सबैभन्दा ठूलो चाडका रूपमा दशैँ सबैको चाड बन्दा राम्रो हुन्छ। यो कुनै जाति, वर्ग, समुदाय विशेषको मात्र चाड होइन, यसका राम्रा पक्ष धेरै छन्। सबैभन्दा राम्रो त पारिवारिक जमघट, आफन्त, नातेदारबीच भेटघाट नै हो। दशैँ नै यस्तो चाड हो, जसले वर्षमा एकपल्ट गाउँ र देशलाई सम्झाउने गर्छ। सहरमा बस्नेहरू आफ्नो गाउँ जान्छन्, विदेश बस्नेहरू आफ्नो देश फर्कन्छन्। दशैँले गाउँ, सहर, देश–विदेश सबैतिर जोडेको छ।

यसलाई सौहाद्र्ध वृद्धिको पर्वका रूपमा मनाउन विभिन्न राजनीतिक दलले शुभकामना आदान–प्रदान कार्यक्रम राख्ने गरेका छन्, जुन राम्रो काम हो। यस प्रकारका शुभकामना आदान–प्रदान कार्यक्रमलाई निरन्तरता दिनुपर्छ। संस्कृतिविद्, बुद्धिजीवीले दशैँको सांस्कृतिक महत्वलाई प्रकाश पारेर भूमिका निर्वाह गर्न सक्छन्। दशैँको कुनै पनि पक्षलाई हेर्दा सौहाद्र्धबाहेक विभेदको खाडल देखिँदैन। पछिल्लो समय मुलुक धर्म निरपेक्ष भएपछि दशैँका बारेमा गर्नैनपर्ने अनावश्यक चर्चा पनि यदाकदा सुनिन्छ। विभेदको अन्त्य गर्न र एकअर्कामा सौहाद्र्धता वृद्धि गर्न दशैँको महिमालाई जनमानसमा पु=याउनु आवश्यक छ।

प्रकाशित: १८ आश्विन २०७६ ०४:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App