coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

मोहनी महिमा

नेवारले दशैँ होइन, मोहनी नखः मनाउँछन्।
तिथिमिति मिल्ने भएकाले धेरैले दशैँ र मोहनी नखःलाई एउटै चाड भन्ठान्छन्, तर होइन। दशैँ मनाउने गैरनेवारले नेवारले दशैँ मनाउँछन् भन्ने बुझिरहेका हुन सक्छन्,  खासमा यस्तो पनि होइन। नेवारले मोहनी नखः नै मनाउने हुन्। दशैँ र मोहनी फरक चाड हुन्, यी दुवै मनाउने विधि र प्रक्रिया फरक छन्।

दशैँका सम्बन्धमा राम र रावण, देवी र महिषासुर राक्षसलाई जोडेर बनाइएका अनेक मिथक छन्। मोहनी नखःमा त्यस्तो खासै केही धार्मिक मिथक छैन। संस्कृतिविद् लीलाभक्त मुनंकर्मीले आफ्नो पुस्तक ‘नेपालको ऐतिहासिक तथा सांस्कृतिक दिग्दर्शन’मा दशैँका बारेमा विभिन्न किंवदन्ती उल्लेख गरेका छन्, तर मोहनीका बारेमा कुनै मिथक उल्लेख छैन। मुनंकर्मीका अनुसार, नेवारको यस चाडलाई कसैले मोहनी, कसैले दशैँ, कसैले दुर्गापूजा, कसैले विजयादशमी, कसैले नवरात्रि आदि विभिन्न नामले सम्बोधन गर्छन्।

मोहनी नखःका बारेमा कुनै लिखित मिथक वा किंवदन्ती नभएकाले धेरैलाई यो दशैँ नै हो भन्ने भ्रम परेको हुन सक्छ। मुनंकर्मीले लेखेका छन्, ‘यो चाडमा आ–आफ्ना घरको पूजाकोठामा जमरा हाली ‘मोहनी’ थापेर दुर्गा भवानीको आह्वान गर्ने भएकाले ‘मोहनी’ पनि भनिएको हो।’

अर्का संस्कृतिविद् पुण्यरत्न बज्राचार्यले आफ्नो पुस्तक ‘हाम्रो चाड–पर्व’ मा लेखेका छन्, ‘यो चाडलाई दशैँको अतिरिक्त दुर्गापूजा, विजया, टीका, नवरात्रि, नौरथा पनि भनिन्छ।’ तर उनले मोहनीको कतै उल्लेख गरेका छैनन्। यसरी हेर्दा लिखित मिथक र किंवदन्तीको अभावमा संस्कृतिविद्हरू समेत दशैँ र मोहनीबीचको भिन्नताका बारेमा अनभिज्ञ रहेको देखिन्छ।

प्रकृति पुज्ने पर्व
हिन्दूले असुर मारिएको खुसियाली मनाउन दशैँ मनाएझैँ कुनै देव वा देवीलाई पूजा गर्न मात्रै मोहनी नखः मनाइँदैन। आफूलाई प्रकृतिपूजक मान्ने कर्मशील किसानले कर्मलाई पूजा मान्छन्। तिनै कर्मशीलहरूको चाड हो, मोहनी नखः। बर्खा सिद्धिएको र हिउँद सुरु हुने हुने बेला मनाइने यो चाड प्रकृतिको पूजासँग सम्बन्धित छ। खेती सकेर नयाँ अन्न (धान) भित्र्याउने बेला मनाइने मोहनी नखःमा स्याक्वत्याक्व अर्थात् नवमीको दिन खेती गर्दा प्रयोग गरिने कुटो–कोदालो, हँसिया लगायत औजार धोइपखाली पूजा गर्ने परम्परा छ। यसबाट प्रकृतिपूजक किसानले प्राकृतिक समय अनुकूल आमोदप्रमोद र कुलका सदस्यको मिलनका लागि मोहनी नखः मनाउने परम्परा बसालेको मान्नु व्याहारिक देखिन्छ।

तिथिमिति मिल्ने भएकाले धेरैले दशैँ र मोहनी नखःलाई एउटै चाड भन्ठान्छन्, तर होइन। दशैँ मनाउने गैरनेवारले नेवारले दशैँ मनाउँछन् भन्ने बुझिरहेका हुन सक्छन्,  खासमा यस्तो पनि होइन। नेवारले मोहनी नखः नै मनाउने हुन्। दशैँ र मोहनी फरक चाड हुन्, यी दुवै मनाउने विधि र प्रक्रिया फरक छन्।

कुनै काल्पनिक देवीले असुरलाई मारेको खुसियालीमा दशैँ मनाउने कुरामा विश्वास गर्दैनन्, कर्मशील नेवारहरू। त्यसैले हिन्दूले झैं कुनै स्त्रीशक्तिलाई होइन, आफ्नै कर्मशक्तिलाई पूजा गर्छन्, आराधना गर्छन् नेवारहरू। पहिलेदेखि हिन्दू राज्य–व्यवस्थाका कारण केही नेवारले दशैँलाई नै आफ्नो प्रमुख चाड मान्न थालेका छन्, आफ्नो मुख्य चाड मोहनी नखःलाई बिर्सिसकेका छन्।

नेवार समुदायमा महिनैपिच्छे कुनै न कुनै चाडपर्व पर्छन्। ती सबै चाडपर्व आ–आफ्नै किसिमले महत्वपूर्ण छन् र स्थानविशेषका नेवारले ती चाडपर्वलाई आ–आफ्नै ढंगले मनाउने गर्छन्। मोहनी नखः मनाउने विधि र प्रक्रिया स्थानअनुसार फरक भेटिन्छन्। काठमाडौं उपत्यकाभित्रै भिन्नता भेटिन्छ।

नेवार समुदायमा गथाँमुगःबाट चाडपर्व सुरु भई सिथि नखःपछि सकिने मान्यता छ। यो समुदायमा हिन्दू (शिव–शाक्त) र बौद्ध (बुद्ध) धर्मको प्रभाव छ। यी दुवै धर्मावलम्बी नेवारले तन्त्रलाई आधार मानेर तान्त्रिक विधिअनुसार मोहनी नखः मनाउँछन्। विशेषगरी हिन्दू धर्ममा आस्था राख्ने नेवारले मोहनीका बेला शक्तिस्वरूपा दुर्गा भवानीको तान्त्रिक विधिअनुसार पूजा–आराधना गर्छन् भने बौद्ध धर्मका अनुयायीले बज्रयानी परम्पराअनुसार मोहनी नखः मनाउने गर्छन्। पछिल्लो समय भने हिन्दू र बौद्ध दुवैको मिश्रित परम्पराअनुसार मोहनी नखः मनाउनेको संख्या बढिरहेको पाइन्छ। समयक्रमसँगै तान्त्रिक विधिलाई भन्दा चाडलाई मात्रै निरन्तरता दिने प्रवृत्तिका कारण अहिलेको मोहनी नखः सामान्य खानपिन र पूजाआजामा सीमित हुँदै गएको छ। तान्त्रिक विधिलाई अपनाउनेको संख्या घट्दै गएको छ र यसको ज्ञान पनि थोरै व्यक्तिमा सीमित बन्दै गएको छ। अझ पछिल्लो समय चाडपर्वको नाउँमा भोज खाएर मोज गर्ने प्रवृत्ति बढ्दै गएको छ।

नेवार समुदायमा मासु–चिउरा खाएर मनाइने चाड (विशेषगरी दशैँ) मात्रै होइन, मकै–भटमास भुटेर खाने चाड पनि छ, जस्तो चथाः अर्थात् गणेशचौथी। नेवारले वर्षैभरि समय, ऋतु र धर्मअनुसार अनेक चाड मनाउँछन्। चाडपर्व मनाएर रमाउनु र रमाइलो गर्नु नेवार समुदायको विशेषता हो। संस्कृतिमा धनी नेवार समुदायका लागि मोहनी नखः एक महत्वपूर्ण अमूर्त संस्कृति हो।

हिन्दू धर्मावलम्बी अरू जातिले दशैँ धुमधामले मनाइरहँदा नेवारहरू भने सामान्य रूपमा मोहनी नखः मनाउँछन्, न धुमधाम न गुपचुप। वर्षैभरि अनेकथरी चाडपर्व र जात्रा मनाउने नेवारका लागि मोहनी नखः मात्रै धेरै ठूलो चाडजस्तो लाग्दैन।

मूल्य–मान्यता र विधि
मोहनी नखःको प्रमुख पक्ष आगँ पुजा (आगम देउताको पूजा) हो। आगम देउता भन्नाले पारिवारिक पितृहरूको फेहरिस्त मानिन्छ, नेवार समुदायमा। आगमको गोपनीयता कायम राख्नुलाई नेवार संस्कृतिमा सर्वाधिक महत्वको विषय मानिन्छ। त्यस्तो गोपनीयता भंग हुनुलाई लज्जाको विषय मानिन्छ। कहिलेकाहीं कसैसँग झै–झगडा हुँदा ‘छंगु आँग प्वला बी’ अर्थात् तेरो पारिवारिक गोपनीयता भंग गरिदिन्छु भनेर धम्की दिने गरिन्छ। यस्तो धम्कीले डराउने पनि गर्छन्, पारिवारिक गोपनीयता भंग होला भनेर।

मोहनी नखः खासगरी तीन दिनको हुन्छ, फरकफरक किसिमको। जसलाई क्रमशः कुछिभ्वय्, स्याक्वत्याक्व र चालँ भनिन्छ। दशैँको सुरु आश्विन प्रतिपदा (घटस्थापना) बाट भएजस्तै मोहनी नखःको सुरु पनि यसै दिनबाट हुन्छ। हिन्दूहरूले घरघरमा जमरा राखेर घटस्थापना गरेजस्तै हिन्दू र गैरहिन्दू अर्थात् बौद्धमार्गी नेवारले पनि आश्विन प्रतिपदा अर्थात कौलाथ्व (पारु)कै दिन आगम घरमा ‘नलाः स्वनेगु’ अर्थात् जमरा राख्ने गर्छन्। आगमबाट निस्केका वा कुलघरबाट छुट्टिएकाले आ–आफ्नो घरमा जमरा राख्छन्।

दशैँमा जस्तो मोहनी नखःमा फूलपाती भिœयाउने खास विधि र चलन छैन। यद्यपि अचेल हिन्दूहरूसँगको सम्बन्ध र सम्पर्कले देखासिकीमै भए पनि फूलपाती भिœयाउने चलन सुरु भएको छ। मेरो घरमा पनि फूलपाती भित्र्याइन्छ। यसको अर्थ मैले दशैँ मनाएको भन्ने होइन, मैले मनाउने त मोहनी नखः नै हो।

कूलछि भ्वय्
अष्टमीको दिनमा बिहान सबेरै टोलवासी मिलेर राँगो काटिन्छ। बिहान टन्न मासुभात खाइन्छ। दिउँसो नुवाइधुवाइ गरेर बेलुका हामी कुलका सबै सदस्य एकै ठाउँ भेला भएर ‘कूलछि भ्वय्’ खान्छौँ। यो अपभ्रंश भएर अचेल ‘कुछि भ्वय्’ भएको छ। खासमा कुलछि अथवा कुछिको अर्थ ‘कुलभित्रको मात्रै’ भन्ने हो। समयको परिवर्तनसँगै चाड मान्ने विधि र प्रक्रियामा आएको परिवर्तन अनुसार अचेल कुलिँचा अर्थात् एक कुरुवा (दुई माना) चिउरा हालेर भोज खाने अर्थमा पनि अथ्र्याउने गरिएको छ, कुछि भ्वय्लाई। एक जनाले एक कुरुवा चिउरा खान नसक्ने भएकाले चलनअनुसार भागमा राखे पनि पछि आफूलाई चाहिनेजति राखेर अरू झिक्ने अथवा कुरुवामा कपडा कोचेर चिउरा भर्ने चलन पनि चलेको छ, पछिल्लो समय।

कुछिभ्वय्कै दिन जमरा राखिएको कोठामा ‘थापिँचा स्वनेगु’ पनि गरिन्छ। माटोको सानो घैँटोमा जाँड अथवा रक्सी र त्यसमाथि सलिँचामा एक टुक्रा राँगाको मासु राख्नुलाई ‘थापिँचा स्वनेगु’ भनिन्छ। दशमीको दिनमा ‘स्वाँ क्वकायेगु’ अथवा ‘चालँ क्वकायेगु’ गरेर त्यही थापिँचाको जाँड र मासु पोलेर प्रसादको रूपमा खान दिइन्छ। त्यो खाएमा पेटको विकार निको हुन्छ भन्ने विश्वास छ।

कुछिभ्वय् केराको पातमा खाने परम्परा छ। पाकेको परिकार सँगै नपकाइएका र मिलाएर काटिएका फर्सी, अम्बा, स्याउ आदि काँचो तरकारी र फलफूलसहितको ‘खयपिचयपि’ तयार गरिएको हुन्छ। जसमा बाह्रथरी ल्वसाघासा (परिकार) जुटाइएको हुन्छ। नखाए पनि भागमा राख्नैपर्ने र खानुअघि द्योःछाय्गु अर्थात् चढाउने चलन छ। यस्तो चलनको निर्वाह अहिलेसम्म गरिँदै आएको छ। ‘खयपिचयपि’सँगै अन्य परिकार हालेर कुछि भ्वय् खाइन्छ। यो वर्षभरिका अन्य भोजभन्दा विशेष भोज हो। यसमा कुलका सबै सदस्य भेला हुन्छन्, हुनुपर्छ। यो कुछि भ्वय् छुट्नु भनेको मोहनी नखः नै छुट्नु बराबर हो। कुछि भ्वय्मा नआउने व्यक्तिलाई दाजुभाइको सम्बन्धभित्र नपर्ने ठानिन्छ। त्यसैले यो दिन सबै काम र व्यवहार छोडेर भोजमा सामेल भइन्छ। दाजुभाइबीचको रिस, राग र वैमनष्यलाई बिर्सेर एकै ठाउँमा बसेर कुछि भ्वय् खाएपछि पुनः सम्बन्ध सुमधुर हुने गर्दछ।

सयकुक्व त्यात
नवमीको दिनलाई हामी ‘स्याक्वत्याक्व’ भन्छौँ। ‘सयकुक्व त्यात’ (जति सिक्यो त्यति फाइदा) बाट थोरै अपभ्रंश भई ‘स्याक्वत्याक्व’ भएको हो। अचेल स्याक्वत्याक्वलाई बलि दिने दिनको रूपमा पनि लिइन्छ। यस दिन कुलका सबै सदस्य आगम घरमा एकै ठाउँमा बसी एकापसमा छलफल गर्ने हुँदा राम्रा योजना तथा कार्यसम्पादनका बारेमा सिक्ने अवसर प्राप्त हुन्छ। यसरी जति सिक्यो, उति फाइदा भन्ने अर्थमा ‘सयकुक्व त्यात’ भनिएकामा पछि केही अपभ्रंश भई ‘स्याक्वत्याक्व’ भएको हो। यस दिन आफूले मानिआएका देवदेवीको पूजाआराधना गरिन्छ र बलि चढाइन्छ। यसै दिन कुछि भ्वय्को दिनमा आगम घरमा स्थापना गरिएको ‘थापिँचा’लाई पनि विधिपूर्वक पूजा गरिन्छ र तान्त्रिक विधिअनुसार मोहनी सिन्हः (कालो टीका) पनि तयार गरिन्छ। एउटा सलिँचामा तेल राखी कपडाको बत्ती बाल्ने र त्यसलाई अर्को सलिँचाले छोपेर मोहनी सिन्हः तयार गरिन्छ। यही मोहनी सिन्हःकै नाउँमा यो चाडको नाउँ नै मोहनी नखः भएको मानिन्छ। नखः भनेको चाड हो। नखःचखःको अर्थ चाडपर्व हो।

स्याक्वत्याक्वको दिन घरका ज्यावलको पूजा गरिन्छ र आगम घरमा पशु वा पन्छी बलि दिएर पूजा सकिएपछि ‘समयबजि’ खाइन्छ। त्यसपछि बलि चढाएको पशु वा पन्छीको टाउको, पखेटा, खुट्टा आदि पुरुष सदस्यलाई मात्रै ज्येष्ठताक्रम अनुसार दिएर ‘सीका भू (भ्वय)’ खान्छौँ। सबैभन्दा ज्येष्ठ पुरुष सदस्यले टाउको पाउँछ।

मोहनी सिन्हः
मोहनीको मुख्य दिन चाहिँ दशमी हो। यो दिनमा ‘स्वाँ क्वकायेगु’ अथवा ‘चालँ क्वकायेगु’ गरिन्छ। नवमीको दिनमा पूजा गरिएका विभिन्न किसिमका औजार तथा ज्यावललाई पुनः पूजा गरी पूजाकोठाबाट झिक्नुलाई चालँ क्वकायेगु भनिन्छ। यस क्रममा कुलमा सबैभन्दा ज्येष्ठ सदस्यले अरू सबै सदस्यलाई निधारमा भुइसिन्हः (सिन्दुरे टीका) र त्योभन्दा माथि मोहनी सिन्हः (कालो टीका) लगाइदिएर नलः स्वाँ र प्रसाद बाँड्ने चलन छ। गलामा ‘क्वखा’ अर्थात् रातो र सेतो कपडाको धरो पनि बाँध्ने चलन छ। अनि थापिँचाको जाँड र पोलेको मासुसहित्को समय्बजि खाने चलन छ।

मोहनीको मुख्य विशेषता भनेकै मोहनी सिन्हः हो। नेवार समुदायमा रातो रङमा मुझेको अक्षताको टीका लगाउने र दक्षिणा दिने चलन छैन। अचेल भने साना केटाकेटीलाई धेरथोर दक्षिणा दिने चलन सुरु भएको छ। गैरनेवार केटाकेटीको संगतमा परेका केटाकेटीको रहरका कारण अचेल रातो अक्षताको टीका लगाउने चलन सुरु भएको छ। त्यस्तै, गैरनेवारले पनि पूजाआजाका बेला क्वखा लाउने चलन सुरु भएको छ। यसलाई समाजशास्त्रीय भाषामा कल्चरल एसिमिलेसन अर्थात् सांस्कृतिक आत्मसात भनिन्छ। सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको दृष्टिकोणले यो राम्रो पक्ष हो।
मोहनीका बेला नेवारहरू निम्तो आएको ठाउँमा ‘नखत्या’ (छोरीचेलीलाई बोलाउने) जाने चलन छ।

चतुर्दशीको दिनमा पूजा कोठामा राखिएको नलाः स्वाँ, उखु र अदुवाको बोट आदिदेखि त्यहाँ राखिएका अन्य चिजबिजलाई पनि बाहिर निकालेर पिखालखु (घरको मूलदैलो) मा राखिन्छ। अनि आगमघरमा बलि दिएको पशु वा पन्छीको एक टुक्रा मासु सुकाएर तिहारसम्मका लागि राखिन्छ। त्यसलाई राखेर लक्ष्मीपूजा गरेपछि मोहनी नखः विधिवत सम्पन्न भएको मानिन्छ। तर अचेल समय अभाव र अन्य कारणले नखत्या भने मोहनी नखः सकिएको केही दिनसम्म पनि चलिरहन्छ कतैकतै। नखत्या जाँदा टाढाका नाता–कुटुम्बहरूसमेत भेट हुने हुँदा निकै रमाइलो हुन्छ। सम्बन्धको विस्तार पनि हुन्छ।

प्रकृतिपूजक नेवार किसानहरूले आफूलाई चाहिने औजारलाई नै देवदेवी सम्झेर पूजा गर्ने र तिनै औजारको सहायतामा आफ्नो कर्मलाई निरन्तरता दिने संघर्षवादी सिद्धान्तलाई मोहनीको दार्शनिक पक्षको रूपमा बुझ्ने गरिएको छ। नयाँ अन्न (धान) भित्र्याउने बेला आइरहेकाले नयाँ वर्ष (नेपाल सम्वत्) मा कुलका सबै मिलेर अघि बढ्न छलफल गर्ने एउटा महत्वपूर्ण अवसरको रुपमा मोहनी नखःलाई लिइएको छ। 

दशैंका बारेमा अनेक धार्मिक मिथक र किंवदन्ती भएझैं मोहनी नखःका पनि यस्तै मिथक र किंवदन्ती छन् कि? देशका संस्कृतिविद्हरूले थप खोजीनिती गर्नुपर्छ। नत्र मोहनी नखः नै दशैं हो भन्ने भ्रमले निरन्तरता पाइरहनेछ।

प्रकाशित: १८ आश्विन २०७६ ०३:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App