७ वैशाख २०८१ शुक्रबार
समाज

दशक बित्यो, पूरा भएन आश्वासन

 

धादिङ - ‘आगामी दसैं नयाँ घरमा मनाउनुपर्छ। टीका लगाउन नयाँ घरमा जाने तयारी गर्नुहोस,’ बेनिघाट रोराङ गाउँपालिका–२, बु्रसबाङका चेपाङलाई चार महिनाअघि पालिकाले बस्ती सारिदिने आश्वासन यसरी दिएको थियो। तर आश्वासन पूरा हुन अझै एक वर्ष लाग्ने देखिएको छ।

फेरि दसैं आयो तर आफूहरूलाई दिइएको वाचा पूरा नभएको गुनासो बु्रसबाङका सोमीलाल चेपाङले पोखे। ‘पुस्तौंदेखिको थातथलो छाड्न राजी भएका थियौं’, उनले भने, ‘यो वर्षको दसैं नयाँ घरमा मनाउने भनेका थिए तर भनेअनुसार भएन। हामीलाई भुक्काइयो, आशामात्रै देखाइयो।’

समुन्द्री सतहबाट एक हजार आठ सय ४५ मिटर उचाइमा बु्रसबाङ विकट बस्ती हो। यहाँ ३६ घरपरिवार चेपाङ बस्छन्। अन्नको कुरा त परै जाओस् पेटभरि पानीसमेत खान नपाउनुको पीडा उनीहरूले वर्षौंदेखि भोग्दै आएका छन्। बिरामी र सुत्केरी भएका बेला पैंचो गरेर पानी खानुपर्ने बाध्यता छ ब्रुसबाङमा। यहाँका चेपाङ खाद्यान्न, शिक्षा, स्वास्थ्यलगायत आधारभूत आवश्यकताबाट वञ्चित छन्। वर्षको चार महिना उत्पादन गरेको अन्नले थेग्छ। बाँकी आठ महिना गिठा, भ्याकुर र सिस्नुको भरमा बाँच्नुपर्छ। खेती गर्ने जमिन भए पनि पर्याप्त पानी छैन। बस्तीमा स्वास्थ्यचौकी, विद्यालय, शौचालय र बाटोघाटोको उचित प्रबन्ध छैन। वर्षौदेखि यस्तै समस्या भोग्दै आएका बु्रसबाङवासीलाई गाउँपालिकालगायत सरोकारवाला पक्षले यही दसैंअघि नै सुविधासम्पन्न ठाउँमा बस्ती नै सारिदिने आश्वासन दिएका थिए। ‘हाम्रो बस्ती २०६४ सालदेखि नै सार्ने कुरा गरेका थिए’, सोमीलालले भने, ‘एउटा आउँछ, अर्को आउँछ, सबै बोलेर जान्छन् तर हामीलाई आशैआशमा राख्छन्।’

खानेपानीको चरम संकट रहेको बु्रसबाङ पुगेर गत जेठमा प्रतिनिधिसभा सदस्य भूमि त्रिपाठी, जिल्ला समन्वय समिति प्रमुख जगन्नाथ नेपाल, बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटीसहितको टोलीले बस्ती नै सारिदिने आश्वासन दिएको थियो। टोलीले त्यहाँ विकासका पूर्वाधार बनाउन करडौं रुपैयाँ खर्च लाग्ने भएकाले अन्यत्रै आधारभूत सुविधासहितका घर बनाएर दसैंअघि बस्ती सारिदिने प्रतिबद्धता व्यक्त गरेपछि चेपाङ दसैं आउने दिन गनेर बसेका थिए। दसैं त आयो तर उनीहरूका लागि नयाँ घर बनेनन्।

घर, विद्यालय, खानेपानी, स्वास्थ्यलगायत सुविधा भएको ठाउँमा स्थानान्तरण गर्ने भनेपछि उनीहरू पुख्र्यौंली बस्ती छाड्न राजी भएका थिए। ‘सबै सुविधा भएको ठाउँमा हामीलाई सार्ने कुरा भएको थियो तर अहिले सबै चुपचाप छन्,’ फूलमाया चेपाङले भनिन्, ‘पटकपटक बस्ती सार्ने कुरा गर्छन् तर बोलेको कसैले पूरा गर्दैनन्।’ दसंै नयाँ घरमा मान्ने आसमा बसेकी उनले आफूहरूलाई दिइएको आश्वासन ‘आकाशकाृ फल आँखा तरी मर’ जस्तै भएको बताइन्।

बु्रसबाङमा आधारभूत विकासका पूर्वाधार निर्माण गर्न करोडौं रुपैयाँ खर्च हुने र समय पनि धेरै लाग्ने भएपछि बस्ती नै सार्नेबारेमा एक दशकभन्दा अघिदेखि कुरा चल्दै आइरहेको छ। प्रशासन, जिल्ला समन्वय समिति, राजनीतिक दल, गाउँपालिका, विभिन्न संघसंस्थाले बु्सबाङमा खानेपानीको जोहो गर्न प्रयास नगरेका पनि होइनन् तर सफलता नमिलेपछि बस्ती नै सुरक्षित र सुविधायुक्त क्षेत्रमा सार्ने सहमति चार महिनाअघि पनि बनेको थियो।

बु्रसबाङका चेपाङको मुख्य आवश्यकता खानेपानी हो। खानेपानीको जोहोमै दिन बित्ने गरेको बताउने प्रेमबहादुर चेपाङले नयाँ ठाउँमा खानेपानी, जीविकोपार्जनका अन्य अवसर उपलब्ध गराउने भएपछि आफूहरू पुख्र्यौंली थलो छाड्न राजी भएको सुनाए। ‘हामीलाई सबैभन्दा पहिले त खानेपानीको आवश्यकता छ, त्यसपछि खाद्यान्न, विद्यालय, स्वास्थ्य सेवा जीविकोपार्जनका अवसर चाहिन्छ’, उनले भने, ‘दसंैअघि घर बनाएर टीका लगाउन तल झर्ने आशा देखाएका थिए तर अहिलेसम्म जग्गा खोज्ने तयारी नै भएको छैन।’

गाउँपालिकाले बेनिघाट रोराङ गाउँपालिकाको ताल्ती नजिकै एकीकृत नमुनाबस्ती बनाएर बु्रसबाङका चेपाङलार्य स्थानान्तरण गर्ने योजना बनाएको छ।
गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले अर्को दसैंअघि घर, खानेपानीको सुविधा, शौचालय, सडक, बिजुली बत्तीसहितको सुविधा भएको नयाँ बु्रसबाङ निमार्ण गर्ने बताए। ‘बल्ल जग्गा खोज्ने तयारी भइरहेको छ,’ उनले भने, ‘हामीले यो होइन अर्को दसैंसम्म बस्ती सार्ने भनेका हौं। नयाँ बस्ती बनाउन १ करोड रुपैयाँ विनियोजन पनि भइसकेको छ।’ ब्रुसबाङका चेपाङ समुदायको समस्या सम्बोधन गर्न फियान नेपालले समन्वय गरिरहेको छ।

प्रकाशित: १८ आश्विन २०७६ ०२:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App