८ वैशाख २०८१ शनिबार
समाज

ठगिएको करोडौं रुपैयाँ खोइ?

धनगढी - राज्यलाई नै चुनौती दिने गरी नेपाल राष्ट्र बैंकका गर्भनर, विभिन्न मन्त्रालय, सरकारी कार्यालय, अड्डा–अदालतका छाप, नापी तथा मालपोतका मिसिललगायत कागजात किर्ते बनाएर ठगी गर्ने सञ्जय राणा गिरोहको दस करोडभन्दा बढी रकम कहाँ छ भनेर अझै पत्ता लाग्न सकेको छैन।

धनगढी–६ मटियारीका ३८ वर्षीय सञ्जय राणालाई उनका सहयोगी दुईजनासहित प्रहरीले भदौ १८ गते पक्राउ गरेको थियो। उनीहरूबाट बरामद भएको सामान देखेर सबै चकित भएका थियो। योजनाबद्ध ढंगले सात वर्षदेखि ठगी गर्दै आएको सञ्जयको गिरोहले लुटेको रकम कहाँ छ भनेर अनुसन्धान गरिरहे पनि प्रहरीले अझै पत्ता लगाउन सकेको छैन। ‘ठगेको रकम कहाँ लगानी गरेको छ, कहाँ छ भनेर हामी खोजिरहेका छौं,’ कैलालीका प्रहरी उपरीक्षक सुदीप गिरीले भने, ‘अहिलेसम्म पत्ता लाग्न सकेको छैन।’

एक अर्ब ६ करोडको भौचर देखाएर त्यो पैसा निकालेर बराबरी पाटरनसिपमा फलाम कम्पनी खोल्ने प्रलोभनमा पारेर रकम ठगी

गिरोहका नाइके भनिएका राणाको नाममा कतै पनि कुनै सम्पत्ति फेला पर्न नसकेको उनले बताए। उनका सहयोगी रुद्र अधिकारीका नाममा भने केही जमिन पाइएको छ। सञ्जयले नगद कारोबार गर्ने गरेका थिए। तमसुक, जमिनको काम रुद्र अधिकारीको नामबाट गराउँथे। यो गिरोहले कति रकम लुटेको छ भन्ने यकिन हुन सकेको छैन। थाहा भएका पीडितबाट मात्रै सञ्जयले करिब ३६ करोड रकम ठगेर लगेको बुझिएको प्रहरी भनाइ छ। ‘हामीकहाँ पनि तीनजनाबाट लगेको रकमको जानकारी आएको छ,’ एसपी गिरीले भने, ‘पीडितसँग सम्पर्क गर्ने प्रयास गरेर अनुसन्धान गरिरहेका छौं।’

यो गिरोहबाट ठगिएका धनगढी–८ का युवक खेम रानाको मृत्यु भएको छ। श्रीमान्को मृत्यु यही गिरोहको ठगीका कारण भएको उनकी पत्नी सरिता रानाले बताइन्। २०७० सालमा खेम रानाको सञ्जयसँग चिनजान भयो। उनले खेमलाई राष्ट्र बैंकको एक अर्ब ६ करोडको भौचर देखाएर प्रभावमा पारी पटक–पटक पैसा मागेको उनले बताइन्। केही पैसा दिएपछि एक अर्ब ६ करोड आउने र त्यो पैसा लगानी लगाएर बराबर पाटनरसिपमा फलाम फ्याक्ट्री सञ्चालन गर्ने भनेर उनले धनगढीका व्यापारी मनिष शर्मा र खेम रानालाई आफ्नो ठगीको चक्रब्युहमा फसाउन सफल भएको खेमका भाइ कमल रानाले बताए। सुरुमा एक–दुई करोड दिएपछि त्यो पैसा निकाल्न पनि उसको विश्वासमा परेर आफूसँग नभए पनि अरूबाट चर्को ब्याजमा पैसा उठाएर सञ्जयलाई खेम र मनिषले दिएको उनले बताए।

सञ्जयको विश्वासमा परेर खेमले आफूसँग भएको १२ कट्टा जमिन बेचेर पैसा दिए। पछि १५ जना अन्य चिनेजानेकाहरूबाट ब्याजमा लिएर पनि सञ्जयलाई रकम बुझाएको पत्नी सरिताले बताइन्। ‘मेरो श्रीमान्को नौ करोड सञ्जयले लग्यो,’ उनले भनिन्, ‘आफ्नो सम्पत्ति त गयो, १५ जनाले पनि पैसा माग्न थालेपछि थेग्न नसक्ने तनावले श्रीमान्को ज्यान गयो।’ उनको मृत्युपछि सञ्जयले आफूले खेमबाट पैसा नलिएको जिकिर गर्ने गरेको भाइ कमलले बताए। ‘आफ्नो डुबेको पैसा, अन्य गाउँलेको दिनुपर्ने पैसाको दबाब त थियो, सञ्जयले सुन केसमा फसाइदिन्छु भनेर मानसिक यातनासमेत दिने गरेकाले खेम दाजुको ज्यान गएको हो,’ उनले भने। खेमले सञ्जयलाई दिन पैसा लिएका १५ जनाको पनि बेहाल भएको उनले बताए। ‘ठगिएर पैसा डुबेका कतिको उठिबास र बिजोग भएको छ,’ उनले भने।

यसैगरी धनगढीका व्यापारी मनिष शर्मालाई सुरुमा दुई करोड रकम राख्न दिएर प्रभावमा पारेका सञ्जयले ठगेको खुलेको छ। उनलाई पनि राष्ट्र बैंकको एक अर्ब ६ करोडको भौचर देखाएर त्यो पैसा निकालेर बराबरी पाटरनसिपमा फलाम कम्पनी खोल्ने प्रलोभनमा पारे। आफूसँग भए जति पैसा मनिषले सञ्जयलाई दिए। अन्य २४÷२५ जना अरूबाट समेत ब्याजमा पैसा उठाएर मनिषले सञ्जयलाई दिएको बताएका छन्। २४÷२५ जनाबाट लिएको पैसा तिर्ने दबाब परेपछि मनिष धनगढीबाट फरार भए। उनी भारतको राजस्थानमा छन्। ‘मेरो आफ्नै ११ करोड ५५ लाख र अरूबाट उठाएको ६ करोड ५० गरेर १८ करोड पाँच लाख सञ्जयले लगेको छ,’ राजस्थानमा रहेका मनिषले टेलिफोनमा नागरिकलाई भने।

यसैगरी, काडमाडौं असनका बिन्देश्वर श्रेष्ठबाट साढे नौ करोड उनले लगेको प्रहरीले बताएको छ। श्रेष्ठले प्रहरीमा उजुरी दिएपछि ठगी गर्ने गिरोहका सञ्जय राणासहित तीनजनालाई प्रहरी पक्राउ गर्न सफल भएको हो।

ठगी गरेको करोडौं रकम कहाँ छ भनेर पत्ता नलाग्नुले सञ्जय राणाको ठगी गिरोहमा अरू पनि धेरै संलग्न हुनसक्ने आशंका उब्जेको स्थानीय बताउँछन्। जंगबहादुर राणा खलकको हुँ भनेर सञ्जयले विभिन्न किर्ते चेक, भौचर, मिसिल देखाएर ठगी गर्ने गरेको खुलेको छ। राणाले दुईवटा नागरिकता बनाएका छन्। सञ्जय राणा र सञ्जयशमसेर राणाको नामबाट उनले नागरिकता बनाएका हुन्।

केन्द्रीय अनुसन्धान ब्युरो तथा जिल्ला प्रहरीको टोलीले पक्राउ गरेका सञ्जय राणासहित धनगढी–३ मिलनचोकका २७ वर्षीय रुद्रप्रसाद अधिकारी र धनगढी–६ मटियारीका ३३ वर्षीय कमलबहादुर विकविरुद्ध हातहतियार खरखजाना, ठगी र सरकारी छाप किर्ते गरी तीनवटा मुद्दा जिल्ला अदालत कैलालीमा दर्ता गरिएको प्रहरी उपरीक्षक गिरीले बताएका छन्। तीनैजना प्रहरी हिरासतमा रहेका छन्।

उनीहरूबाट पेस्तोल एक थान, रिभल्वर एक थान, कटुवा पेस्तोल दुई थान, सात राउन्ड गोली, ६ सय ७९ ग्राम सुनका गहना, १८ करोड तीन लाख ६४ हजार रुपैयाँ बराबरको विभिन्न व्यक्तिका नाममा लिनेदिने गरी बनाएको २३ थान तमसुक, दुई करोड ४५ लाख २० हजार रुपैयाँको विभिन्न व्यक्तिको नाममा काटिएका १९ थान चेक, एक अर्ब ९० करोड रुपैयाँको नेपाल राष्ट्र बैंकले जारी गरेको भनिएको बैंक ड्राफ्ट तीन थान बरामद भएको छ। त्यस्तै, नापी कार्यालय धनगढी, राजश्व विभाग सेवा कार्यालय सिंहदरबार काठमाडौं, मालपोत कार्यालय कैलाली, नापी कार्यालय टीकापुर, मालपोत कार्यालय कैलाली कम्प्युटर फाँट, नोटरी पब्लिक, कर अधिकृत, सूचना तथा सञ्चार मन्त्रालय, कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल, नेपाल राष्ट्र बैंक बालुवाटार काठमाडौं, बर्दगोरिया गाउँपालिका, घोडाघोडी नगरपालिका, गोदावरी नगरपालिका, धनगढी उपमहानगरपालिका, नोटरी पब्लिक भेरिफिकेसन, अर्थ मन्त्रालय सिंहदरबार, आन्तरिक राजस्व विभाग, नेपाल राष्ट्र बैंक नेपालगन्ज बाँके, गभर्नर डा. चिरञ्जिवी नेपाल, कार्यालय प्रमुख, महालेखा नियन्त्रकको कार्यालय, नेपाल राष्ट्र बैंक भैरहवा, सर्वेक्षकका छापहरू उनीहरूबाट बरामद गरिएको थियो।

उन्दा बाहिर एउटा कोठा भाडामा लिएर सम्पूर्ण आपराधिक गतिविधि सञ्चालन गर्दै आइरहेका थिए। विभिन्न मन्त्रालय, गभर्नर र कार्यालय प्रमुखको छाप प्रयोग गरेर यो गिरोहले अन्य केके जालसाजी र ठगी गरेको छ भन्ने अझै खुल्न सकेको छैन।

ट्राफिक प्रहरीको बेल्टलगायत समान फेला परेकाले ६ वर्षअघिको चर्चित नबिल बैंकको रकम लुटपात प्रकरणमा पनि यो गिरोहको संलग्नताको आशंकासहित प्रहरीले अनुसन्धान अघि बढाएको छ। सुदूरपश्चिमको ठुलो अपराधमध्येमा र ६ वर्षअघिको चर्चित नबिल बैंकको करिब अढाइ करोड रकमका लुटेरा प्रहरी अहिलेसम्म पक्राउ पर्न सकेका छैनन्। नाटकीय शैलीमा दिउँसै अत्तरिया बजार छेउमै बैंकको रकम लुटपाटलाई लिएर अनेक अड्कलबाजी र चर्चा हुने गरे पनि वास्तविकता रहस्यमै छ।

‘नविल बैंकको रकम लुटपाटसमेत यो गिरोहको संलग्नता हुन सक्ने देखेर त्यसतर्फ पनि अनुसन्धान सुरु गरेका छौं,’ कैलालीका प्रहरी उपरीक्षक गिरीले भने, ‘हामीले मसिनो तरिकाले सबै अनुसन्धान गरिरहेका छौ।’

२०७० मंसिर २६ गते कञ्चनपुरको महेन्द्रनगरस्थित नबिल बैंकको शाखाबाट नेपाल राष्ट्र बैंक धनगढीमा जम्मा गर्न ल्याउने क्रममा पूर्व–पश्चिम राजमार्गमा अत्तरिया बजारबाट एक किलोमिटर पश्चिमतर्फ दुई करोड ३० लाख ६० हजार रुपैयाँ र दुई सय अमेरिकी डलर दिउँसै लुटिएको थियो। ट्राफिक प्रहरीको भेषमा रहेका व्यक्ति सडकमा गाडी रोकेर जाँच गर्ने निहुँमा गार्ड र चालकलाई नियन्त्रणमा लिएर गाडी कब्जामा लिई जंगलतर्फ लगेर उक्त रकम लुटिएको थियो।

राणाले ठगी गर्ने बेला विभिन्न व्यक्तिलाई नेपालगन्ज, काठमाडौं, भारतका विभिन्न ठाउँमा घरेडी, घर रहेको बताए पनि प्रहरीले अहिलेसम्म उनको नामको सम्पत्ति भेटाउन सकेको छैन।

प्रकाशित: १८ आश्विन २०७६ ०१:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App