८ वैशाख २०८१ शनिबार
राजनीति

गढिमाईको मेला नेपालको कुम्भः नेतृ देउवा

बारा– नेपाली कांग्रेसकी नेतृ डाक्टर आरजु राणा देउवाले गढिमाईको मेला नेपालकोे कुम्भ भएको बताएकी छिन्।  

महागढिमाई नगरपालिका १ बरियारपुरमा शुक्रवार गढिमाई पञ्चवर्षीय मेला व्यवस्थापन मुल समितिको कार्यालय समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ डाक्टर देउवाले धार्मिक कार्यक्रममा लाखौ श्रद्धालुहरु एकैचोटी भेला हुने अवस्थालाई कुम्भ भन्ने गरिएको र गढीमाई मेलामा पनि लाखौ श्रद्धालुहरु आउने गरेकोले नेपालको कुम्भ भएको बताइन्। 

गढीमाईको मेला नेपालको कुम्भ भएकोले यसलाई व्यवस्थित पार्न सरकारले सबै श्रोत साधन परिचालन गर्नु पर्ने माग देउवाले गरिन्। 

पञ्चवर्षीय मेला भव्य र ठूलो भएकोले व्यवस्थित नभए देशकै नाम बदनाम हुने भएकोले गर्दा मेलामा आउने देशी तथा विदेशी श्रद्धालुहरुलाई आवश्यक पर्ने सबै सेवा सुविधा पूर्ति गर्नको लागि सरकार गम्भीर भएर लाग्नु पर्ने उनले बताइन्।  

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य राधेचन्द्र यादवले मेलालाई पार्टीगत र व्यक्तिगत टकरावमा लागेर मेलालाई विवादित कसैैले बनाउन नहुने सुझाव दिए। 

कार्यक्रममा महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवले गढीमाई मेला मुल व्यवस्थापन समिति नगरपालिकाले संविधानले दिएको अधिकार अन्तर्गत रहेर नै गठन गरिएको बताए। 

उनले गढीमाई संचालन तथा व्यवस्थापन समितिलाई मेला लगाउने संविधानले दिन्छ भने हामीले बाधा गर्दैनौ तर नगरपालिकाको अधिकार क्षेत्र भित्र पर्ने कार्यलाई रोक्न प्रदेश र संघीय सरकारले खोज्यो भने त्यो अमान्य हुने नगर प्रमुख यादवले बताए। 

कार्यक्रममा नेपाली काग्रेसका सभापति जयचन्द्र चौैरसिया, नेविसंघका पूर्व केन्द्रिय सदस्य विरेन्द्र यादव, कानून व्यवसायी अरुण ज्ञवाली लगायतका सहभागिता रहेको थियो। मंसिर १ गते देखि लाग्ने गढीमाईको पंचवर्षीय मेलामा ६० लाख भन्दा बढी श्रद्धालुहरु आउने विश्वास गरिएको छ। मेलामा आउने श्रद्धालुहरुलाई आवश्यक सेवा सुविधा दिनको लागि मेला कमिटी विस्तार गरिएको महागढीमाई नगरपालिकाले जनाएको छ। 

प्रकाशित: १७ आश्विन २०७६ १३:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App