coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

नगरपालिका संघको कार्यशालामा मधेसी दलको अवरोध

जनकपुर–नयाँ संविधान अनुरुप बनेको स्थानीय निकायसम्बन्धी प्रावधानबारे जानकारी गराउने तथा सम्भावित स्थानीय तहको संरचनावारे विमर्श गर्न आयोजित कार्यशालामा मधेश केन्द्रित दलका नेताहरुले होहल्ला गरेका छन्।

नेपाल नगरपालिका संघले शनिबार जनकपुरमा आयोजना गरेको ‘स्थानीय तह सम्बन्धी संवैधानिक निकाय र अगामी संरचनासम्बन्धी कार्यशाला’ मा सहभागी मधेसी दलका नेताहरुले चर्को विरोध गर्दैै नारावाजी गरेका हुन्। संविधानको संशोधन र आफूहरुले उठाएको मागको सम्बोधन नहुँदै संघले कार्यशालाको नाउँमा संविधान पढाउन आएको आरोप लगाउँदै उनीहरुले त्यसो नगर्न कार्यशालामै होहल्ला गरेका थिए।

नेपाली कांग्र्रेस डोटीका सांसद भरतबहादुर खड्काले आफ्नो कार्यपत्र प्रस्तुत गरिरहँदा मधेस केन्द्रित दलका सांसदहरुले उठेर होहल्ला गर्दै संविधान पढाउने काम बन्द गर्न नारावाजी गरेका थिए। उनीहरुको अवरोधपछि खड्काले बीचैमा रोकिएका थिए भने नेपाली काँग्रेसका जिल्ला सभापति रामसरोज यादव र एमाले जिल्ला अध्यक्ष राजकिशोर यादवले फरक मत राख्नेले आफ्नो भनाइ राख्नपाउने भएपनि कार्यक्रम निर्वाध रुपले सञ्चालन हुनुपर्ने बताएका थिए।

नयाँ संविधानले स्थानीय निकाय सञ्चालन गर्न दिएको अधिकारबारे जिल्ला स्तरीय स्थानीय निकायका पूर्व प्रतिनिधि तथा राजनीतिक दलका नेताहरुलाई जानकारी गराउने उद्देश्यले कार्यशाला आयोजना गरिएको संघका कार्यकारी सचिव कलानिधि देवकोटाले बताए। ‘नयाँ संरचनामा हाल जिल्लालाई रहेको अधिकार नगरपालिका र गाउँपालिकासँग हुने भएकाले त्यसको प्रभावकारी कार्यान्वयन कसरी हुनसक्छ, त्यसकोलागि आवश्यक विमर्श गर्ने उद्देश्यले यो कार्यशाला आयोजना गरिएको थियो’, देवकोटाले भने।

स्थानीय तह सञ्चालनकालागि नयाँ संविधानमा राखिएको प्रावधान र अधिकारलाई कार्यान्वयन गराउन अवसर र चुनौती सँगसँगै देखिएको बताउँदै देवकोटाले थपे, ‘हामीले भविष्यको स्थानीय तहले जनतालाई अहिलेको भन्दा प्रभावकारी सेवा कसरी दिनसक्छ भन्नेमा हामी केन्द्रित छौं। तर, जनकपुरको कार्यशालामा मधेसी दलका नेताहरुले अहिलेको बटमलाइन संविधान संशोधन भएकोले त्यसबाहेक कुनैपनि छलफल र कार्यक्रम स्वीकार्य नहुने बताए।’

 

प्रकाशित: ११ मंसिर २०७३ १०:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App