दसैंं र तिहारको विनिर्माण

शुक्रबार, १७ असोज २०७६, ०९ : ५० नागरिक

डा. कृष्ण भट्टचन
संसारमा सबै मानव समुदायको आ–आफ्नो चाड हुन्छ र मनाउँछन् । नेपालमा जातीय, भाषिक, धार्मिक, सांस्कृतिक, लैंगिक र क्षेत्रगत विधिवता भएकोले चाडपर्वमा पनि विविधता छ । नेपालमा ठूलो संख्याको जनसमुदायले मनाउने दसैंं तिहार, विश्वकर्मा पूजा, छठ, मोहनी, ल्होछार, चासोक तङनाम, साकेला, माघी, भूमि पूजा, करमलगायत छन् भने सानो जनसंख्याले मनाउन यार्तुङ, तोरंग्ल्ह, बरमथान पूजा, करम पूजालगायतका चाड पर्वहरु छन् ।

नेवारको जति धेरै चाडपर्व अरुको छैन । कतिपय जातजातिको चाडपर्व फरक समयमा हुन्छ भने कतिपयको एउटै तिथिमितिमा पनि छ । हिन्दू र गैर हिन्दूको चाड पर्व एउटै तिथिमितिमा हुनुको अर्थ हिन्दूको चाड पर्व मानेको भन्नु उपनिवेशकारी मानसिकता हो । सबै जातजाति आफँैमा सार्वभौम भएकोले प्रत्येक जात जातिको महान् चाड समान हैसियत र महत्वको हुन्छ ।

सबै चाड पर्वको धार्मिक, आध्यात्मिक, सांस्कृतिक, सामाजिक, अर्थिक, मनोवैज्ञानिक, भावनात्मक पक्षहरु छन् । कुनै चाडपर्व सामाजिक सांस्कृतिक मात्र छन् भने कुनै धार्मिक र कुनै मिश्रित । चाडपर्वले दैनिक जीवनको सामान्य दिनचर्यामा फरक ल्याउँछ र चाडपर्व मान्ने सम्बन्धित समुदायका सदस्य सबैलाई भावनात्मकरुपमा एउटै मालामा उन्ने काम गर्छ । नेपालमा दसैंं र तिहार र भारतमा दशेहरा र दिवाली भनिने चाड हिन्दूका चाड हुन्, गैर हिन्दूका होइनन् ।

यो चाडले हिन्दूजति सबैलाई भावनात्मक रुपमा एउटै मालामा उन्ने कार्य गर्दछ । हिन्दू हुने तर नेपालमा दसैंं र तिहार र भारतमा दशेहरा र दिवाली नमनाउने हुन सक्दैन । त्यस्तै गरी याकथुङ हुने तर चासोक तङनाम नमनाउने हुन सक्दैन । तर कुनै चाड पर्व, जस्तै नेपालमा दसैंं तिहार (विश्वका विभिन्न ठाउँहरुमा क्रिसमस) साम्राज्यवादी, उपनिवेशवादी, सामन्तवादी, पुँजीवादी, बाहुनवादी, एकाधिकारवादी आदिको हतियारका रुपमा राज्य वा शासक संरक्षित, सम्बद्र्धित र प्रबद्र्धित छन् भने धेरै जसो चाड पर्वहरु गुमनाम छन् । यस्को अर्थ दसैंं र तिहार चाडपर्वको राजनीतिक समाजशास्त्रलाई केलाउन आवश्यक छ ।

दसैंं चाड मनाउनुको कारणा सत्य असत्य वा आर्यले अनार्य माथि विजयप्राप्तिको खुसीयालीमा अर्थात् रामले रावणमाथि विजय प्राप्त गरेको, र शक्तिकी देवी दुर्गा भगवतीले महिषासुर राक्षसको बध गरेको उपलक्ष्यमा हो भन्ने गरिन्छ । त्यस्तै गरी तिहार धार्मिक, आर्थिक, सामाजिक, सांस्कृतिक चाड हो र यो चाड आर्थिक समृद्धिका लाथि लक्ष्मी र गाईका साथै यमराज बहिनी यमुनाले पूजा गरी खुसी बनाए जस्तै दाजुभाइको दीर्घायुका लागि दिदी बहिनीले गर्ने भाइटीका र यमराजका दूतहरु काग र कुकुरलगायतको पूजा गरिने भए पनि राज्य र शासकले दसैंं र तिहारलाई सँगै जोडेको र विगतदेखि वर्तमानसम्म अविछिन्न रुपमा राजनीतिक अस्त्रको रुपमा गैर हिन्दूहरु खास गरी आदिवासीविरुद्ध प्रयोग गरेको हुनाले दसैंं तिहार दुवै राजनीतिक चाड हो । यी दुवै हिन्दूका महान् चाड हुन् भने आदिवासी, मुश्लिम र गैर हिन्दूका चाड नै होइन भने आदिवासी, मुश्लिम हिन्दू वर्ण व्यवस्थाभित्र पर्दैनन् र उनीहरुका आ–आफ्ना महान् चाडहरु छन् ।

काल्पनिक मिथक रामायण र राम, शक्तिका देवी दुर्गा भगवती, धन सम्पत्तिकी देवी लक्ष्मी, मृत्युको अधिकारी यमराजलगायतका सबै मिथकीय पात्र र देवीहरु हिन्दूका हुन्, आदिवासीलगायतका गैर हिन्दूका होइनन् । नेपाललाई असली हिन्दूस्तान र विश्वको एक मात्र हिन्दू राज्य बन्ने बनाउने क्रममा हिन्दू शासकले गैर हिन्दू जनतामाथि थोपरिएको चाड भएकोले यो राजनीतिक रुपमा प्रयोग भएको चाड हो ।

दसैंं र तिहार गैर हिन्दूले मानेको जस्तो किन देखिन्छ?

दसैंं तिहार सबैले मनाउँछन् भनेर भ्रमको खेती गरिन्छ । यो तितो यथार्थता हो कि केही गैर हिन्दूले हिन्दूको चाड पर्व मान्दछन् तर यस्का कारण छन् ।
*   विगतमा राज्यले सुब्बा प्रणाली लागू गरी दसैंं अनिवार्यरुपमा मान्नका लागि कोतमा हतियार राख्ने र बलि दिन अनिवार्य गरेर याकथुङ (लिम्बू), तमु (गुरुङ), थकाली लगायतका आदिवासीलाई    हिन्दूकरण गरेको ।
*    विगतमा गाउँघरमा दसैंंमा घरको ढोका वा भित्तामा बलिको रगतको पञ्जाछाप लगाउन अनिवार्य गरेको र नलगाउनेलाई राज्यले कारबाही गरेको ।
*    ब्रिटिस गोर्खा सेनामा बाहुन पुजारी राखेर दसैंंमा बलिदिने लगायतका हिन्दू चाडपर्व मान्न बाध्य गरेको र नेपाली सेनामा पनि दसैंं लगायतको हिन्दू चाड गैरहिन्दूले मनाउन बाध्य भएको ।
*   केही पहिले दसैंं र तिहारमा हप्तौंसम्म सरकारी बिदा हुने गरेको र अहिले पनि सबैभन्दा धेरै बिदा हुने गरेको तर धेरै जसो आदिवासीको चाड पर्वमा बिदा नभएको ।
*    पहिले दसैं र तिहारमा महिना दिन विद्यालय र कलेजहरु बन्द हुने गरेको र अहिले पनि सबैभन्दा धेरै बिदा हुने गरेको तर धेरै जसो आदिवासीको चाड पर्वमा बिदा नभएको ।

*  राजतन्त्र रहँदासम्म राजाले, बहुदलीय लोकतन्त्र र गणतन्त्र आइसकेको अवस्थामा समेत राष्ट्रपतिले गैर हिन्दूमन्त्री, सांसद, निजामती कर्मचारीलगायतलाई दसैंंमा अनिवार्य टीका लगाउने चलन ।
*    दसैं तिहारलगायतका हिन्दू चाड पर्वलाई मिडियाले सर्वाधिक महत्व र स्थान दिने तर अन्यको चाडलाई महत्व नै नदिने वा अस्तित्व नै नभएको जस्तो व्यवहार गर्ने गरेको  ।
*    आफ्नो आमा बा हिन्दूकरणमा परेर दसैंं तिहार मान्ने तर आफ्नो जातीय चाड पर्व नमान्ने गरेको ।
*    हिन्दू बहुल समुदाय भएको ठाउँमा गैर हिन्दू अल्पसंख्यक भएकोले दसैंं तिहार मान्ने गरेको ।
*    गैर हिन्दूले दसैंं तिहारजस्ता हिन्दूको चाड पर्व सद्भावका लागि मानिदिनेको गरेको ।
*    औपनिवेशिक मानसिकता भएका गैरहिन्दूलाई हिन्दूको दसैंं तिहार चाडहरु अति महान् लाग्ने गरेको ।
*    दसैंका बेला अड्डा अफिस बन्द हुने सार्वजनिक यातायात आदि नचल्ने भएको घरमा बस्ने, खाने पिउने र समय कटाउन तास खेल्ने जस्ता कार्य गर्न विवश भएको ।
*  अन्तरजातीय विवाहका कारणले परिवारको सदस्य(हरु)ले दसैंं तिहार मान्ने गरेको ।
*    केही गैरहिन्दूले शक्तिशाली नेता वा हाकिमको घरमा दसैंंमा टीका लगाई चाकडी गरी शक्ति र स्रोत प्राप्त गर्ने आकांक्षा भएको ।

*    दसैं तिहार मान्ने साथी संगीहरुको संगत र बहकाउमा लागेको ।
*    दसैं र तिहार चाड पर्वको बेला आफ्नै जातीय चाड पर्वलाई मनाउने गरेको तर हिन्दू वा मिडियाले दसैंं मान्ने गरेको भनेकोले र उनीहरु मध्ये कतिपयले नजानेर त्यस्तो भन्ने गरेको ।
*  अर्काको दसैंं तिहार चाड हामीले मानिदिएर के फरक पर्छ र भनेर ।
*    विद्यालयमा दसैंं र तिहारको महत्वको बारे विद्यालयमा हुने पठनपाठनबाट गैरहिन्दू विद्यार्थीले सिकेकोले ।
*    दसैं र तिहारका बेला पिङ, लगुर बुर्जा, जुवा तास, र देउसी भैलो खेल्न रमाइलो भएकोले ।
*    दसैंमा परिवार, आफन्त र ईष्ट मित्रहरुसँग भेटघाट र रमाइलो गर्ने भएकोले ।
*    हिन्दूधर्म र यसअन्तर्गतका दसैंं र तिहारजस्ता चाड पर्वहरु राज्य संरक्षित र सम्बद्र्धित भएकोले ।
*    आफ्नो जातीय पहिचान र चाडपर्वका सम्बन्धमा हिनताबोध भएकोले ।
*    आफ्नो पहिचान, चाड पर्व आदिका बारेमा अज्ञानता भएकोले ।
*    केहीले जानेर वा नजानेर स्वेच्छाले मानेकोले ।
*   हिन्दूकरण र संस्कृतीकरणको मारमा परेकोले ।

दसैं र तिहार गैर हिन्दुले मान्दा के भइरहेको छ ?
*    आदिवासीको पृथक सामूहिक पहिचान र सामूहिक जीवन पद्धति गुम्दै गइरहेको छ  ।
*    नयाँ पुस्ताले जातीय चाड पर्वमा सामाजीकरण नभएर दसैं तिहारमा हुँदा जातीय चाड हराउँदै कतिपय निमिट्यान्न भइसक्यो भने कतिपय सकिने क्रममा छन् ।
*  गैर हिन्दूमध्ये दसैंं तिहारलगायतका हिन्दूको चाड पर्व मानिदिने र कसैले नमान्ने गर्दा एकाघर परिवारका सदस्य, नातेदार र इष्टमित्रहरु विभाजित छन् ।
*  अर्काको चाड मान्नमा धुमधाम खर्च गर्दा कतिपयले ऋणको भारी बिसाउँछन् भने आफ्नो महान् चाड मनाउन खर्च गर्न नसक्ने अवस्थामा पुग्छन् ।
*  बाहुनवादीहरु झनै बलियो भएका छन् ।
*  विभेदकारी शक्ति संरचना झनै विभेदकारी भएको छ ।
*  रामायणको रामले रावण माथि र दुर्गा भगवतीले महिषासुर राक्षसविरुद्ध जितको गाथा र तिहारको मिथक भगवान् कृष्णले गोबर्धन पर्वत कान्छी औंलाले उठाएर गाईहरुको रक्षा गरेको, बहिनीले दाजुलाई टीका लगाएर यमराजले ज्यान लिनबाट जोगाएको जस्ता मिथकलाई आत्मसात गर्दा याकथुङको थकाथुङ मुन्धुम र युमा, खम्बुको मुन्धुम र तायमा खियामा र सुम्निमा पारुहाङ, तमुको पे आदि सबै बिलाउन थाल्छन् ।

*  हिन्दूको चाड पर्वसँग आउने हिन्दूको चोखो र जुठोको अवधारणा, श्रेणीगत जात व्यवस्था, चर्को विभेद, भाग्यवाद आदि सबै एकमुष्ट मान्ने अवस्थामा पुगिन्छ ।
* दसैंं र तिहारको रोटी एकोहोरो पाकेकोले डढ्ने नियति ढिलो चाँडो पक्का छ ।
*  हिन्दूको तथ्यांक यथार्थताभन्दा अत्यधिक धेरै देखाउन सजिलो भएको छ ।
*  शक्तिको पूजा गर्नाले व्यवहारमा पनि शक्तिशालीलाई मान्ने अरुलाई बेवास्ता गर्ने व्यवहार बढेर जाने ।
*  टाढा गएका जागिरे वा कामदार गैरहिन्दूले दसैंं तिहारको चाड पर्वमा बिदा लिँदा आफ्नै चाडको बेला बिदा नपाउने अवस्था छ ।
* लैंगिक भेदभाव नभएको समतामूलक आदिवासी समाज भएका आदिवासीले हिन्दूले जस्तै लैंगिक भेदभाव गर्न थालेको ।
* गाईको मासु खाने प्रथा परम्परा भएका केही आदिवासीले तिहार मान्नु भनेको हिन्दूले गर्ने गाईको पूजालाई मानेर आफ्नो संस्कृतिमा प्रहार भएको छ ।

के दसैं र तिहारका बेला पर्ने आदिवासीको चाड पनि दसैंं र तिहार हो ?
नेपालमा दसैंं र तिहार वा दिवाली र भारतमा दशेहरा र त्यौहार वा दिवाली हिन्दूको मात्र चाड हो । भारतका हिन्दूको दशेहरा मात्र छ तर नेपालका हिन्दूहरुको चैते दसैंं पनि छ ।
* नेवारको मोहनी खेतीपाती गर्दाका औजारहरुको पूजा हो दसैंं मानेको होइन । म्ह पूजा नेवारको मौलिक प्रथाजन्य पूजा हो र न्हू द (नयाँ वर्ष) मानेको चाड हो, तिहार मानेको होइन ।

* तमु (गुरुङ) को खेमा पितृ पूजा हो, दसैंं मानेको होइन ।
* दार्चुलाका सौका (व्यासी) आदिवासीले गर्ने कुल पूजा हो, दसैंं मानेको होइन ।
* थारुले गर्ने पितृ र कुल देवताको पूजा हो, दसैंं मानेको होइन ।
*  चेपाङले वन केराको पात घरमा भित्र्याएर खाना खानु प्रकृति पूजा हो, दसैंं मानेको होइन ।
कतिपय जातजाति र समुदायको चाड पर्व दसैं र तिहारजस्तै एउटै तिथिमितिमा पर्न सक्छ तर यसको अर्थ उनीहरुले पनि दसैंं तिहार मनाएको भन्नु गलत हो । अरुको विशिष्ट चाड पर्वको अपमान हो । सामाजिक दुर्भाव हो । यस्तो कसैले पनि गर्न हुँदैन । फरक चाड पर्वलाई फरक रुपमा सम्मान गर्नु पर्दछ ।

के दसैं र तिहार मात्र सामाजिक सद्भावको प्रतीक हो ? अरु जातजातिको चाड सामाजिक सद्भावको प्रतीक होइन ?
*  के दसैंंतिहारजस्ता हिन्दूको चाड पर्व मात्र सामाजिक सद्भावको प्रतीक हो भने ल्होछार लगायतका गैर हिन्दूका चाडपर्व सामाजिक सद्भावको प्रतीक होइन ?
*  गैरहिन्दूले हिन्दूको दसैं तिहारलगायतका चाड पर्व सामाजिक सद्भावका लागि मानिदिन पर्ने तर हिन्दूले गैर हिन्दूको चाड पर्व त्यसैगरी सामाजिक सद्भावका लागि मान्न नपर्ने ? अर्थात् कति गैर आदिवासीले आदिवासीको चाडपर्व धूमधामसँग मनाउने गरेका छन् ?

दसैंं तिहार राजनीतिक रुपमा ठिक हुन कसले के गर्नुपर्दछ ?
*   राज्यले वास्तविक अर्थमा धर्म निरपेक्षता कायम राख्न पर्दछ र धर्मका सम्बन्धमा राज्य संलग्न हुनु हुँदैन । संविधानमा भएको धर्म निरपेक्षतामा परिभाषालाई हिन्दू धर्मलाई प्राथमिता दिएर गरेका सीमिततालाई संविधान संशोधन गरेर हटाउनु पर्दछ । बिदाको नीति बनाएर वर्ष दिनमा एकजना कर्मचारीले कति दिन बिदा पाउने सो निश्चित गरेर आफूले चाहेको बेला उक्त बिदा लिन पाउने गरी दिने गर्न पर्दछ ।

कर्मचारीलाई वर्षमा एकपटक दसैं खर्च भनेर दिइने एक महिनाको तलब भत्ता चाडपर्व तलब भत्ता भनेर दिइनु पर्छ र आफूले चाहेको बेलामा उक्त खर्च लिन पाउने व्यवस्था गर्न पर्दछ । विद्यालयले दसैंं तिहार र ल्होछार आदि केही चाडमा बाहेक अन्य कतिपय चाडमा बिदा नदिने भएकोले विद्यार्थीलाई आफ्नो चाड मान्न बिदा दिने र छुटेका पाठहरु शनिबारका दिन विशेष कक्षाको व्यवस्था गरेर पढाउने । राष्ट्रपति, सेनालगायत राज्यका निकायले दसैंं तिहारलगायत हिन्दूको चाड पर्वलाई मात्र संस्थागतकरण गरेकोले अबदेखि त्यस्तो नगर्ने ।

*  विद्यायलयले सरकारी बिदाबाट वञ्चित गैरहिन्दू विद्यार्थीलाई आफ्नो महान् चाड मान्न बिदा दिने र छुटेको पाठका लागि रेमेडियलको व्यवस्था गर्ने ।
*  गैरहिन्दूहरु, खास गरेर आदिवासीहरुले दसैं र तिहार बहिष्कार गर्ने अथवा परित्याग गर्ने वा आफ्नो प्रथाजन्य चाड पर्व प्रथाजन्य तरिकाले मनाउने ।
* सञ्चार माध्यमले कम जनसंख्या भएका जातजातिले मान्ने चाड पर्वका सम्बन्धमा पनि महत्व दिएर समाचार प्रसारण गर्ने ।
*  दसैं र तिहारको बेला आफ्नो प्रथाजन्य चाड पर्व परेको आदिवासीले आफ्नो चाडलाई दसैंं तिहार होइन भनी प्रष्ट  गर्ने र सञ्चारकर्मी र अन्य समुदाय भ्रमबाट मुक्त भएर अरुको विशिष्ट चाडपर्वको सम्मान गर्ने ।
* हिन्दूले आफ्नो दसैंं र तिहारजस्ता महान् चाड मनाउँदा गैरहिन्दूमाथि उपनिवेशकरण गर्न भएन ।
* आदिवासीलगायतका गैर हिन्दूले आफ्नो महान् चाडलाई मास्ने, उपनिवेशकरण गर्ने दसैं र तिहारलगायतका चाडपर्व सके बहिष्कार गर्ने, नसके परित्याग गर्ने वा आफ्नो प्रथाजन्य महान् चाड प्रथाजन्य तरिकाले मनाउने र अर्को पिंढीलाई जस्ताको तस्तै हस्तान्तरण गर्ने ।

 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad