८ वैशाख २०८१ शनिबार
अन्य

मधेसमा मौलिक पर्व उल्लास

मिथिलाञ्चलमा वर्षमा वटा वनरात्रा मनाइन्छ । आषाढ शुक्ल, आश्विन शुक्ल, माघशुक्ल र चैत्र शुक्ल गरी चारवटा नवरात्र मनाइन्छ । यीमध्ये अश्विन शुक्ल नवरात्रा विश्वभरका हिन्दु धर्मावलम्बिहरु निष्ठा एवं उल्लासका साथ मनाउने गर्छन् । चैत्र शुक्ल र आश्विन शुक्लपक्षको नवरात्रा मिथिलाञ्चलमा धुमधामका साथ मनाइन्छ । जसमा श्रद्धालुहरु शक्तिको आराधना गर्ने गर्दछन् । आषाढ शुक्ल र माघ शुक्लपक्षका तिथिहरुलाई ‘गुप्त नवरात्र’ भनिन्छ । यी नवरात्र साधकहरूका लागि उपयोगी मानिन्छन् ।

दसैंको पहिलो दिन घटस्थापनाका दिन शुद्ध माटो तथा गोबरले घर शुद्ध बनाएर शास्त्रीय विधिअनुसार शुभ मुहूर्तमा घडा स्थापना गरी घडाको नजिक सप्तधान्य (जमरा) बीजारोपण गरिन्छ । जहाँ  नौ दिनसम्म विभिन्न नामले शक्तिको पूजा आराधना गरिन्छ ।

नौ दिनसम्म मनाउने नवरात्रमा कुन दिन, कुन रूपको पूजा गर्ने र कस्तो प्रसाद चढाउने अनि कुन कामनाको पूर्तिका लागि पूजा गर्ने भन्नेबारे मार्कण्डेय पुराणमा उल्लेख गरिएको शूर्यनारायण सत्यनारायण मरबैता बहुमुखी क्याम्पस सिरहाका मैथिली भाषाका सह प्राध्यापक उमेश झा (ललन) ले बताए । सावधानीपूर्वक विधि अनुरूप विभिन्न रूपको पूजा गरेमा विभिन्न मनोभिलाषा पूरा हुने विश्वास छ ।

दसैं आश्विन शुक्ल प्रतिपदादेखि दशमीका दिनसम्म मनाइन्छ । शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, शिद्धिदात्री गरेर नवदुर्गाको क्रमशः पूजा गर्ने गरिन्छ । विशेष गरेर महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना यस पर्वमा गरिन्छ, झाले भने ।

वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले पूजाकोठा वा दशैं घर लिपपोत गरिन्छ । विधिपूर्वक दीप, कलश स्थापना गरी पूजा गरिन्छ । सोही कलशमा महाकाली, महालक्ष्मी, महासरस्वती दुर्गा भगवतीको आह्वान गरेर पूजन हुने गर्दछ । यसरी पूजनपश्चात् सप्तधान्य छर्नु पर्दछ । भगवती दूर्गा देवीका विभिन्न उपासना मन्त्रले आह्वान पूजन गरी दुर्गा सप्तशतीको पाठ पारायण नित्य गरेर नवरात्रा सम्पन्न हुन्छ, उनले भने ।

दियाबाती
मधेसका देहातमा ‘दियाबातीले चिनिन्छ उज्यालो पर्व तिहार । तिहारमा मधेसको मालो उल्लासमय हुन्छ । मधेसमा तिहार पहिलो दिन दियाबाती (दीपावली), दोस्रो दिन हुराहुरी र तेस्रो दिन भरदुतिया (भ्रातृद्वितीया) गरी तीन दिनसम्म मनाइन्छ ।

असत्यविरुद्ध सत्यको, अन्धकारविरुद्ध प्रकाशको, निराशाविरुद्ध आशाको पर्वले मधेसी समाजलाई छपक्कै छोप्छ । रावणको बध गरी भगवान् राम अयोध्या फर्केर राज्याभिषेक गरेपछि मनाइएको उत्सवका दिनलाई दीपावलीका रूपमा मनाउन थालिएको किंवदन्ती मधेसी समुदायमा छ ।

मधेसमा दुई साताअगाडिदेखि नै दियाबाती पर्वको तयारी गरिन्छ । घरआँगन सरसफाइ र लिपपोत गरी परम्परागत रङले भित्तामा मिथिला चित्र बनाइन्छ । मधेसका दूरदेहातका आँगनमा माटो घोलेर थरीथरीका रंगोली बनाइन्छ । दियाबातीको मुख्य दिन शाकाहारी परिकार तयार गरिन्छ । ‘धनतेरस दिनदेखि शाकाहारी विधिले पूजापाठ गर्छौं,’ लहानकी गृहिणी ५० वर्षीया अम्बिका यादवले भनिन्, ‘यस अवधिमा दैनिक पूजाआजा चलिराख्छ ।’ मुलुकको अन्य भागमा जस्तै यहाँ पनि गाईलाई लक्ष्मी मानेर अगाध आस्थाका साथ पुजिन्छ । लक्ष्मीपूजाको दिन गाईको गोबरले लिपेर आँगन पवित्र बनाइन्छ ।

दियाबाती (दीपावली) का दिन बिहानै गाईको गोबरमा माटो मिसाएर घरआँगन लिपेर चोख्याउने गरिन्छ । साँझ पर्न लाग्दा माटोको दियो र अन्य बिजुली बत्ती बालेर घरहरु झकिझकाउ गरिन्छ । दियाबातीकै रात परिवारका सदस्य कपडाको पोकोमा तारले बेरेर बनाइएको उक बालेर ‘उकालोली’ खेलिन्छ । घरको मूल पुरुषले सनको सन्ठी र खर मिसाएर बनाइएको उक बालेर लक्ष्मी भित्र्याउँछन् जसलाई उक फेर्नु भनिन्छ । रातको अन्तिम प्रहरमा घरको मूल महिलाले नाङ्लो बजाएर धनकी देवी लक्ष्मी आह्वान गर्ने चलन पनि छ ।

दोस्रो दिन अर्थात् गोबद्र्धन पूजाका दिन गाईवस्तुलाई सिँगारेर मीठो खानेकुरा खुवाइन्छ । यस दिन गाई वस्तुको सिङ रंग्याउने, घाँटीमा गरदामी लगाइदिने र गाईवस्तुको राइस (दाम्लो) फेर्ने चलन छ । दिउँसोतिर गाउँभरिबाट बलियो भैंसी छानेर हुराहुरीमा जुधाउने चलन छ । संँगुरको कलिलो बच्चालाई बाँधेर ढोल बजाउँदै भैंसीबाट मार्न लगाउने खेललाई हुराहुरी भनिन्छ ।

तेस्रो दिन भरदुतिया (भ्रातृद्वितीया) उल्लासपूर्वक मनाइन्छ । यस पर्वलाई भाइ दुज, भरदुतिया, भ्रातृद्वितीया, भाइटीकाका नामले मनाइन्छ ।

दिदीबहिनीले दाजुभाइको गलामा मखमली माला र निधारमा सप्तरंगी टीका लगाइदिएपछि दाजुभाइले दिदीबहिनीलाई नगद, कपडालगायतका उपहार दिन्छन् । यस दिन दाजुभाइ दिदीबहिनीको घरमा भार (मिठो पकवानसहितका सनेस) लिएर पुग्ने चलन अझै मधेसको ग्रामीण भेगमा कायमै छ । भरदुतीयामा दिदीबहिनीले घरआँगन लिपेर चोख्याउँछन् । आँगनमा पिर्का राखेर त्यसमाथि अरिपन (माटो घोलेर बनाइने मिथिला चित्र) बनाएर सिन्दूरको थोपा लगाइन्छ ।

दिदीबहिनीले दाजुभाइको गोडा पानीले धोइदिन्छिन् र अरिपन दिइएको पिर्कामा बसाउँछन् । त्यसपछि दाजुभाइको अञ्जुलीमा पानको पात, सुपारी, ओखर, फलफूल राखिदिन्छन् । अनि पानी चुहाउँदै परिक्रमा गर्छन् जसलाई न्यौत (निमन्त्रण दिनु) भनिन्छ । त्यसपछि दिदीबहिनीले दाजुभाइको निधारमा सप्तरंगी टीका र माला लगाइदिएर दीर्घायुको कामना गर्छन् । दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार रुपैयाँ, गरगहना, लुगा सनेस (उपहार) दिने चलन छ ।

संस्कृतिविद् देवेन्द्र मिश्र भन्छन्, ‘यस क्षेत्रमा कसैले तिहार, कसैले दियाबाती कसैले दीपावली भनेर उही पर्वलाई अलगअलग नामले मनाउँछन् । धनकी देवी लक्ष्मी आगमन हुने विश्वासका साथ लक्ष्मी पूजा मनाइन्छ ।’ दीपावलीलाई विजयोत्सवका रूपमा मनाउन थालिएको किंवदन्ती रहेको मिश्रले बताए ।
घर लिपेर लक्ष्मीको स्वागत

लक्ष्मीपूजा नजिकिएसँगै मधेसमा घर सिंगार्ने क्रम सुरु हुन्छ । पक्की घर हुनेले रङरोगन गर्छन् । कच्ची घर भएकाहरू माटोले बनाइएको घरको टाटी (भित्ता) माटोले लिपपोत गर्न जुट्छन् । मधेसका ग्रामीण तथा सहरी भेगका कच्ची र पक्की घरलाई सिंगार्न भ्याईनभ्याइ हुन्छ ।

कच्ची घर हुनेहरुले माटोलाई जम्मा गरी रातभरि पानी हालेर गिलो बनाइन्छ । त्यसमा धानको भुस हालेर खुट्टाले कुल्चेर लेदो बनाइन्छ । त्यसपछि गोबर मिसाएर भत्केको टाटी मर्मत गरिन्छ । टाटी सुकेपछि चिप्लो माटो घोलेर कपडाले लिपिन्छ । सफा र पवित्र घरमा लक्ष्मीको बास हुन्छ भनिन्छ ।
सांस्कृतिक सद्भावको पर्व छठ

सिरहा नगरपालिका–२, गोढियारीकी पूजा मलिकले वर्षाैंदेखि टोलकै सार्वजनिक पोखरीमा छठको अघ्र्य चढाउँदै आएकी छिन् । यही पोखरीमा यस टोलका अन्य जातका व्रतालु पनि छठ पूजा गर्छन् । अरू बेला मलिकसँग समाजका अन्य जातिले छुवाछूतको भेद गरे पनि छठ घाटमा सबै सँगै हुन्छन् । न कसैको पूजासामग्री कसैसँग छोइन्छ न कोही कसैसँग । मलिक भन्छिन्, ‘छठका बेला हामी छुवाछूतको पीडा भुल्छौं ।’

छठ पर्वमा सबै जातजाति जातीय घेराभन्दा माथि उठेर एक जातिको परिधीभित्र खुम्चिन पुग्छन् । मलिक भन्छिन्, ‘अरू जाति पनि उही सूर्यदेवलाई पूजा गर्छन्, हामी पनि उनैलाई नै ।’ छठ घाटमा सबै जातजातिको पूजासामग्री एकअर्काको सँगै टाँसिएको हुन्छ । उनी भन्छिन्, ‘पूजासामग्री अन्य जातको सँग टाँसिदा पनि कोही केही बोल्दैनन्, छुवाछूत मान्दैनन् ।’

‘सूर्यको उपासना गरिने यस पर्वलाई पहाडी समुदायका महिलाले पनि तराई–मधेस मूलका महिलासँगै सामूहिक रूपमा मनाउँदै आएका छन् । यस पर्वले सांस्कृतिक सद्भाव कायम गर्ने पुलको काम गरेको छ ।’
छठ पर्वले सामाजिक सद्भाव र मानवीय एकतालाई अझ बलियो बनाएको सहप्राध्यापक झाको तर्क छ ।
सबै जातजातिको एकै थलो

लहान–१० का भूतनाथ उपाध्याय ६५ वर्षका भए । पहाडी मूलका उपाध्यायलाई थाहा भएदेखि नै उनको परिवारमा छठ पूजा मनाइँदै आएको छ । जान्नेबुझ्ने भएदेखि नै मातापिताले गर्दै आएको छठ पूजालाई भूतनाथले निरन्तरता दिँदै छन् ।

गोलबजार–६ की डम्बरकुमारी श्रेष्ठले छठ पूजा गर्न थालेको ५५ वर्ष भयो । छोरा पाउनका लागि गरेको भाकल पूरा भएपछि उनले यो संस्कृति अँगालेकी हुन् । ७० वर्ष पार गरिसकेकी उनलाई पछिल्लो चार वर्षदेखि छठ पूजा गर्न बुहारी रञ्जुले सघाउँछिन् । सासूले सुरु गरेको संस्कारलाई स्वास्थ्यले साथ दिँदासम्म निरन्तरता दिने रञ्जुको अठोट छ ।

परिवारमा विश्वास छ– डम्बरकुमारीलाई छठीमैयाँले ठूलो उपहार दिइन् । मधेसी–पहाडी, हिन्दु–मुस्लिम, दलित–गैरदलितको घेराभन्दा माथि यो पर्वको महिमा रहेको श्रेष्ठको अनुभूति छ । सबै क्षेत्रका जातजाति, समुदाय एकै थलोमा अटाउनु यो पर्वको अनुपम सौन्दर्य रहेको उनी बताउँछिन् । ३६ घण्टा निर्जल र निराहार व्रत बस्दा पनि शरीरले साथ दिनुलाई यो पर्वको शक्ति मान्छिन् रञ्जु ।

सूर्यको उपासना गरिने यस पर्वलाई पहाडी समुदायका महिलाले पनि तराई–मधेस मूलका महिलासँगै सामूहिक रूपमा मनाउन थालेको नौलो होइन । यस वर्षलाई पहाडी समुदायले पनि उत्तिकै निष्ठाका साथ मनाउने क्रमले व्यापकता पाउँदै जानुले सामुदायिक सद्भावको मियोलाई समेत मजबुत बनाउँदै छ ।

बिहान उदाउँदो सूर्य र साँझमा अस्ताउँदो सूर्यलाई अघ्र्य चढाएर मनाइने यो पर्व पछिल्लो समय मधेसी र पहाडी समुदायका महिलाले बराबर मान्न थालेका छन् । ‘यो पर्व सामाजिक अन्तरघुलन र सद्भावको अनुपम नमुना हो, यसले सामाजिक मिलापलाई चौतर्फी फैलाउँदै छ । पहिला मिथिलावासीले मात्र मनाउने यस पर्वले अहिले पहाड–तराईको सम्बन्ध जोड्दै छ,’ आमाको बिँडो थामेर छठ व्रत बस्दै आएकी लहानकी अम्बिका यादव भन्छिन्, ‘छठ घाटमा मधेसी र पहाडी भन्ने भेद हुँदैन, सबै बराबर हुन्छन्, सबै मिलेर सूर्यको उपासना गर्छन् ।
सूर्य उपासनाको परम्परा

छठ पर्व कुनै समय प्राचीन मिथिला र भुजपुरा भूभागमा मात्र प्रचलित थियो । कालान्तरमा यो पर्व मैथिली र भोजपुरी भषाभाषीसँगै देश–देशान्तरसम्म विस्तृत हुँदै आयो । ‘छठ वास्तवमा सहरी मिथिलाको ग्रामीण पर्व हो । छठ पर्वमा धनी–गरिबबीचको फरक छुट्टिँदैन । छुवाछूत, जातीय वा लैंगिक विभेद पनि पाइँदैन । छठमा प्रसादका रूपमा चढाइने सामग्री ७० थरी पुर्‍याउनुपर्ने मान्यता छ ।

यस्ता सामग्रीमा मुला, गाजर, ज्यामिर, बेसार, अदुवा, पिँडालु, सुन्तला, केरा, उखु, नरिवल, सुपारी, पान, गेडागुडी, दही आदि हुन्छन्  कुनै कारण ७० प्रकारका सामग्री पुर्‍याउन नसकिए गम्हरी भन्ने धानको चामल चढाउँदा पुग्छ । गम्हरीलाई औषधीय गुणयुक्त मानिन्छ ।

छठ पर्वको सुरुवात व्रतालुले नजिकको पोखरी या नदीमा स्नान गरी अरुवा चामलको भात, रहरको दाल तरकारी (बर्जितबाहेक) पकाएर ग्रहण गर्छन्, यसलाई ‘नहाय खाय’ भनिन्छ । दोस्रो दिन व्रतालु दिनभरि उपवास बसी साँझ चन्द्रमाको दर्शन गरिसकेपछि माटोको नयाँ चुलोमा सख्खर, दूध र अरुवा चामलको खिर पकाई केराको पातमा राखेर छठीमातालाई चढाउँछन् ।

छठीमातालाई चढाएपछि ब्रतालुले ग्रहण गरी खराना मनाउँछन् । कार्तिक शुक्ल अर्थात् तेस्रो दिन जसलाई ‘सँझिया घाट’ तथा ‘सौंझका अघ्र्य’ भनिन्छ । यो दिन बिहानैदेखि व्रतालुसहित परिवारका सबै सदस्य मिलेर चामलको पीठोमा सख्खर मिसाएर ठेकुवा, भुसुवालगायत प्रसाद तयार पार्छन् । साँझपख व्रतालुका साथै घरका सदस्य हातमा पूजासामग्री र बलिरहेको दियो बोकेर छठी घाट पुग्छन् । नदी, ताल–तलैया, पोखरी किनारमा छठी घाट बनाइन्छ । सजाइएको छठी घाटमा व्रतालु भक्तिभावका साथ उपस्थित भई सूर्यको पूजा गर्छन् ।
अहिंसाको पर्व

शाकाहारी र शुद्धतालाई निकै महत्व दिइने छठपूजालाई अहिंसाको पर्व पनि भनिन्छ । व्रतालु यस पर्वमा प्याज, लसुन, माछा मासु खाँदैनन् । यस पर्वमा सबैको जय जयकार गरिन्छ । छठ पर्वले संसारमा सबै जीवजन्तुको रक्षा गर्नुपर्छ भन्ने सन्देश दिन्छ । छठपूजाले मनोकामना पूरा हुने विश्वासका साथ यसप्रति जुनसुकै तह, तप्का र क्षेत्रका व्यक्ति तथा समुदायमा आस्था बढेको पाइन्छ । त्यसैले छठ पर्वलाई आस्था र विश्वासको पर्वसँगै सद्भाव र अहिंसाको पर्व पनि भनिन्छ ।
किसानको श्रमको कदर

छठ पर्वले कृषि उत्पादनको महत्वलाई स्वीकार गरेको छ । जीवन र प्रकृति एकअर्काका पूरक हुन् । प्राकृतिक सम्पदाको संरक्षण गर्नु जीवनको सम्पन्नताको मियो हो भन्ने तथ्यलाई यो पर्वले प्रमाणित गर्छ । गम्हरी धान, हरियो पातसहित ऊखु, पातसहितको अदुवा, निम्बु, सानो बोडी, केरा, स्याउ, सुन्तला, सुथनी,, झुत्रोसहितको नरिवल, कागती, केराको थम्बा, गहुँ आदिको प्रयोगले यस पर्वले किसानको श्रमको कदर गरेको देखिन्छ । ‘हामीले बनाएको सामान अधिक मात्रामा बिक्री हुने बेला यही हो,’ लहान–४ का उमेश पण्डित (कुमाल) सुनाउँछन् ।
 

 

प्रकाशित: १७ आश्विन २०७६ ०३:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App