नेपालमा दक्षिण एसियाकै सबैभन्दा आधुनिक औद्योगिक पार्क बन्ने

शुक्रबार, १७ असोज २०७६, ०९ : ३१ नागरिक

काठमाडौं – नेपालमा दक्षिण एसियाकै सबैभन्दा आधुनिक औद्योगिक पार्क निर्माण हुने भएको छ। सो पार्क चिनियाँ सहयोगमा झापा जिल्लामा निर्माण हुन लागेको हो।

एक हजार ६ सय हेक्टरमा बन्ने सो औद्यगिक पार्कको निर्माण चार चरणमा सम्पन्न हुनेछ। पहिलो चरणमा ५८ करोड ६० लाख अमेरिकी डलर (बिहीबारको विनियम दर अनुसार ६३ अर्ब २१ करोड रुपैयाँ) लगानी गरेर निर्माण कार्य हुनेछ। सो औद्योगिक पार्क काम, आराम, मनोरञ्जन र संस्कृतिका दृष्टिले समेत दक्षिण एसियामै उत्कृष्ट हुने चिनियाँ प्रतिनिधिमण्डलका नेता जोउ चेङ जीले पार्क शुभारम्भ समारोहमा बताए।
राजधानीमा बिहीबार एक कार्यक्रम आयोजना गरी पार्क निर्माण सुरु भएको घोषणा गरिएको हो।

औद्योगिक पार्क निर्माणका लागि नेपाल लगानी बोर्ड र दमक क्लिन इन्डस्ट्रियल पार्कबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। ‘चीन–नेपाल मैत्री औद्योगिक पार्क’ नाम राखिएको सो पार्कका अध्यक्ष गोविन्द थापा र लगानी बोर्डका अध्यक्ष महाप्रसाद अधिकारीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

यो औद्योगिक पार्क झापाको दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिको क्षेत्र ओगट्छ। ती ठाउँमा जग्गा प्राप्तिका सबै प्रक्रिया पूरा भएको र अब निर्माण थालिने समारोहमा जानकारी दिइएको छ। चीनले अघि सारेको बेल्ट एन्ड रोड परियोजना अन्तर्गत नेपालमा बन्न लागेको यो पहिलो परियोजना हो।

शुभारम्भ समारोहमा औद्योगिक पार्कका अध्यक्ष थापाले यो निर्माण कार्य नेपालको सबैभन्दा प्रभावकारी, आकर्षक र पारदर्शी हुने जानकारी दिए। उनले औद्योगिक पार्क निर्माणपछि नेपालमा विकासको नयाँ मोडल स्थापित हुने बताए। उनले भने, ‘नेपालीले विकासको ठोस परियोजनाको उदाहरण दिनुपर्दा विदेशतिरको दिनुपथ्र्यो। अब दमकमै नेपाल र नेपालीका लागि उदाहरणीय र गर्व गर्नलायक विकासको मोडल तयार हुनेछ।’

चिनियाँ प्रतिनिधिमण्डलका नेता जोउ चेङ जीले शुभारम्भ समारोहलाई सम्बोधन गर्दै सो औद्योगिक पार्क उद्योग र सहरको एकीकृत विकासको मोडलमा तयार पारिने बताए। उनले सो औद्योगिक पार्क दक्षिण एसियाको एकमात्र आधुनिक औद्योगिक क्षेत्रको रुपमा विकास हुने र औद्योगिक पार्क बनेपछि दसौं हजारले रोजगारी पाउने बताए। औद्योगिक पार्क बनेपछि नेपालमा ठूलो परिमाणमा राजस्व वृद्धि हुने र समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य प्राप्त हुने बताए।

लगानी बोर्डका अध्यक्ष महाप्रसाद अधिकारीले यो औद्योगिक पार्क निर्माणले नेपालको विकासमा ठूलो योगदान पुग्ने बताए।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले दमकमा निर्माण हुने औद्योगिक पार्क नेपालकै मोडेल परियोजना हुने बताए। नेपालमा पिपिपी मोडलमा जलविद्युत् आयोजनाबाहेक अन्य खाले निर्माण कार्य नभएको बताउँदै बस्नेतले यो औद्योगिक पार्क पिपिपी मोडलको पहिलो गैरजलविद्युत् आयोजना भएको जानकारी दिए।

पार्कमा चीनको ल्हासा इकोनोमिक एन्ड टेक्निकल डिपार्टमेन्ट र जोन जिङपिङ क्रियसन कन्सट्रक्सन कम्पनीको लगानी रहनेछ। साउन तेस्रो साता लगानी बोर्डले औद्योगिक पार्कको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउन चिनियाँ लगानीकर्तालाई अनुमति दिएको थियो। बोर्डले कम्पनीको ६४ अर्ब लगानी स्वीकृत गरेको थियो।
उक्त औद्योगिक पार्कमा विदेशी लगानीका उद्योगलाई आकर्षित गर्ने योजना छ। स्थानीय तहले कम्तीमा १० वर्षसम्म कुनै उद्योगसँग कर नलिने घोषणा गरिसकेको छ।

पार्कमा इलेक्ट्रोनिक, अटो मोबाइल्स, गार्मेन्ट, खाद्यान्नलगायत उद्योगलाई आकर्षित गर्ने योजना छ।  औद्योगिक पार्क निर्माण गरेपछि चीनमा स्थापित बहुराष्ट्रिय कम्पनीहरू पार्कमा आउने अपेक्षा गरिएको छ। पार्क ४० वर्ष चिनियाँले नै सञ्चालन गरेर नेपाललाई हस्तान्तरण गर्नेछन्। पार्क निर्माणका लागि नेपाल सरकारले जमिनमात्र उपलब्ध गराएको छ।

औद्योगिक पार्कमा करिब एक लाख रोजगारी सिर्जना हुने बताइएको छ। सरकारले औद्योगिक पार्कका लागि आवश्यक पर्ने दुई हजार दुई सय बिघा जग्गामध्ये एक हजार सात सय ९० बिघा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा दिइसकेको छ। नौ सय ४२ बिघा जग्गा लिमिटेडको नाममा निःशुल्क प्राप्त भएको छ। चार सय ११ बिघाको मुआब्जा वितरण भइरहेको छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिडेको सम्पर्क कार्यालयका अनुसार एक सय १७ जग्गाधनीले दुई सय ६५ बिघा जग्गाको १२ करोड सात लाख रुपैयाँ मुआब्जा बुझेका छन्। जिल्ला प्रशासन कार्यालयअन्र्तगतको सिफारिस समितिले जग्गालाई तीन वर्गमा बाँडेर मुआब्जा निर्धारण गरेको थियो। चिनियाँ उद्योगी, व्यवसायीले आयोजनास्थलको यसअघि नै अवलोकन गरेका छन्। केही समयअघि चिनियाँ ग्लोबल एनजिओ युनियनका उपाध्यक्ष चउ हुई जोनको नेतृत्वमा आएको टोलीले योजनास्थल अवलोकन गरेको थियो।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

आइएमईमा डबलको डबलको डबल अफर

आइएमईमा डबलको डबलको डबल अफर

सेवाग्राहीद्वय सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंकले मोरङको जिल्लाको विराटनगर–०१, पुष्पलालचोकमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन विराटनगर नगरपालिकाका नगर प्रमुख भिम पराजुलीले...

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्ट्स लिमिटेडले हिन्दुहरुकोे महान पर्व तिहारको अवसर पारेर सम्पूर्ण ग्राहकहरुलाई दिपावलीको शुभकामना व्यक्त गर्दै “यो तिहार शिवमको"  साथमा, चाँदीको...

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालन सुरु गरेपछि क्रमिक रुपमा आम्दानी हुँदै गयो । खर्च कटाएर एक वर्षमा रु तीन लाख जति आम्दानी भएपछि यतिखेर...

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मकवानपुरको मनहरीमा प्रदेश नं ३ सरकारले दुई अर्ब रुपैयाँ लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । ...

सुनको मूल्य सय रुपैयाँ घट्यो

सुनको मूल्य सय रुपैयाँ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । ...

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयर प्रालिले खरिद गरेको नयाँ हेलिकप्टरले व्यावसायिक उडान सुरु गरेको छ । ...

Ncell Footer Ad