coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सार्वजनिक शौचालय नहुँदा बाहिरै शौच

काठमाडौं - काठमाडौं उपत्यकामा पर्याप्त मात्रामा सार्वजनिक शौचालय नभएकाले कतिपय स्थानमा सहरबासीले खुलारूपमै शौच गर्न बाध्य भएका छन्। भएका सार्वजनिक शौचालय पनि व्यववस्थित हुन नसक्दा सहरबासी बाहिरै शौच गर्न बाध्य छन्। उपत्यकामा शौचालयको व्यवस्थापन हुन नसके पनि सरकारले गत सोमबार दक्षिण एसियामा नेपाल पहिलोे खुला दिसामुक्त राष्ट्र घोषणा गरेको दाबी गरेको छ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभागृहमा नेपाल खुला दिशामुक्त राष्ट्र घोषणा गरेका हुन्। कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरु नेपालको ७ सय ५३ स्थानीय तह एवं ७७ वटै जिल्लाहरुले खुला दिशामुक्त घोषणा भइसकेकाले आजबाट नेपाललाई पूर्ण खुला दिशामुक्त राष्ट्र घोषणा गर्दछु।’ ओलीले नेपाल खुला दिशामुक्त घोषणा गरिरहँदा उपत्यकाका सहरबासीले भने झाडीहरुमा शौच गर्न बाध्य छन्।

उपत्यकाका सुन्धारा, रत्नपार्क, कोटेश्वर चोक, गौशला, लगनखेलको बसपार्कलगायत सार्वजनिक ठाउँमा सहरबासीले शौच गर्दै आएका छन्। अहिले पनि रत्नपार्कको सडकका पेटीमा दिसा देखिन्छन्। त्यस्तैगरी सुन्धाराको आकाशेपुलमा शौच गरेको पाइन्छ। टुँडिखेलको खुलामञ्चमा झनै शौच गर्नेको ताँती लाग्ने गर्छ। काठमाडौंमा सार्वजनिक शौचालयको व्यवस्थापन गरिएकै छैन। सुन्धाराको आकाशे पुलमुनि रहेको शौचालय नजिक पुग्ने जोसुकै नाक छोप्न बाध्य हुन्छन्।

उपत्यकामै पर्याप्त मात्रामा सार्वजनिक शौचालय नभए पनि सरकारले दक्षिण एसियामा नेपाल पहिलोे खुला दिसामुक्त राष्ट्र घोषणा गरेको दाबी गरेको छ।

सुन्धाराको शौचालयनजिकै भेटिएका चावहिलका मोनिका श्रेष्ठले उपत्यकामा पर्याप्त मात्रामा शौचालय व्यवस्थापन हुन नसक्दा शौचको लागि झाडीमा छिर्नुपर्ने अवस्था आएको बताइन्। उनले भनिन, ‘उपत्यकामा भएका सार्वजनिक शौचालय नै व्यवस्थित छैन।’ महिलाहरुका लागि यसमा झनै सकस हुने गरेको उनले बताइन्। ‘उपत्यकामै शौचालयको उचित व्यवस्थापन छैन,’ उनले भनिन्, ‘सरकारले दक्षिण एसियामा नेपाल पहिलोे खुला दिसामुक्त राष्ट्र घोषणा गरेको सुन्दा अचम्म लाग्छ।’

सरकारले दक्षिण एसियामा नेपाल पहिलोे खुला दिसामुक्त राष्ट्र घोषणा गरेपश्चात् सामाजिक सञ्जालहरुमा सार्वजनिक ठाउँमा शौच गरेको फोटो हालेर चर्को आलोचना भइरहेको छ। काठमाडौं महानगरपालिकाले २०७३ सालमै १ सय ३० सार्वजनिक शौचालय बनाउने योजना थियो। सो काममा लागि दुई करोड बजेट समेत छुट्याइएको थियो। तर शौचालय निर्माण हुन भने सकेन। गत आर्थिक वर्षमा वडा नागरिक मञ्चले उपत्यकाभित्र चार सयभन्दा बढी शौचालय आवश्यक रहेको प्रतिवेदन महानगरलाई दिएको थियो।

तर, खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिका अनुसार हाल महानगरका ३८ वटा सार्वजनिक शौचालय छन्। तर, ती सबै अहिले सञ्चालनमा छैनन्। ललितपुर महानगरपालिकामा ११ वटा सार्वजनिक शौचालय छन्। कीर्तिपुर नगरपालिकामा १० वटा सार्वजनिक शौचालय छन्। त्यस्तैगरी मध्यपुर ठिमी नगरपालिकामा भने ६ वटा मात्रै सार्वजनिक शौचालय छन्।

काठमाडौं महानगरले ‘स्मार्ट शौचालय’को योजना ल्याएको छ। प्रविधिको विकाससँगै सहरबासीको आवश्यकतालाई हेरेर स्मार्ट शौचालय बनाउन लागिएको महानगरका प्रवक्ता ईश्वरमान डंगोल बताउँछन्। ‘पहिला पनि शौचालय बनाउने योजना ल्याएका थियौं,’ उनले भने, ‘तर बन्न सकेन। अहिलेको आवश्यकतालाई हेरेर आधुनिक ट्वाइलेट बनाउँछौं।’ खानेपानी मन्त्रालयमा रहेको हालको तथ्यांकअनुसार देशभर ५६ लाख ६० हजार दुई सय १४ घरदूरीमा शौचालय छ।

प्रकाशित: १७ आश्विन २०७६ ०३:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App