महिषासुरका अनेक रूप

शुक्रबार, १७ असोज २०७६, ०८ : ३२ युवराज गौतम

गीताको एउटा श्लोक धेरैलाई कण्ठस्थ छ। भगवान् कृष्ण अर्जुनलाई भन्छन्– ‘यदा यदा ही धर्मस्य ग्लानिर्भवति भारत। अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम्।।’ (४–७) अर्थात जबजब धर्मको हानि र अधर्मको वृद्धि हुन्छ, तबतब म आफ्नो रचना गरेर साकाररूपमा अवतरित हुन्छु।

निर्गुण–निराकार भगवान सगुण–साकार रूप धारण गरेर अवतरण हुनुपर्ने र धर्मस्थापनाका लागि लीलामय रूप धारण गर्नुपर्ने अवस्था, धर्मस्थापनापछि अरूप हुनुपर्ने स्थिति सामान्य मानिसले सजिलै बुझ्न गाह्रो हुन्छ। त्यसैले, महाभारत युद्धकालमा भगवान कृष्णले अर्जुनलाई विराट स्वरूप प्रदर्शन गरेर आफ्नो अद्भूत शक्ति देखाए।

देवी भागवतमा ‘स्त्री–शक्ति’ का रूपमा दुर्गा भवानीले महिषासुरको वध गरेको प्रसंग आउँछ। ‘या देवी सर्वभुतेषु शक्तिरुपेण संस्थिता...’ लगायतका हजारौँ श्लोक पाइन्छन् भवानीको उपासनामा। सत्य कमजोर हुन नदिन असत्यको वध गरिएको घटनाका रूपमा लिइन्छ, महिषासुर वधलाई। त्यसैले महिषासुर नाम आतंकवादको बिम्ब पनि हो।

वर्षमा पर्ने चारवटा नवरात्रमध्ये आश्विनशुक्ल, चैत्रशुक्ल, आषाढशुक्ल र माघशुक्ल प्रतिपदादेखि दैवीशक्ति उपासनाको आरम्भ हुने कुरा सनातन धर्मका पण्डितहरू बताउँछन्। नवरात्रमा शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री जस्ता नौ रूपमा दुर्गा भवानीको आराधना गरिन्छ।

आध्यात्मिक र धार्मिक परिवारका मानिस शान्तिप्रिय हुन्छन्। तर धनबाहेक अरू सबै अर्थहीन देख्ने परिवारमा महिषासुरहरू जन्मने खतरा हुन्छ।

नवदुर्गालाई नौजना कन्याको प्रतीक मानिन्छ। दुर्गा भवानीले चण्डमुण्ड–प्रचण्ड, शुम्भ–निशुम्भ, रक्तवीजलगायतका दुष्टदानवको वध गरेर पृथ्वीको रक्षा गरेको प्रसंग देवी भागवतमा आउँछ भने माता दुर्गालाई सत्यको र महिषासुरलाई असत्य एवं अधर्मको प्रतीक मान्ने गरिएको छ।

नवदुर्गा भवानीको पूजा आराधना गर्ने क्रममा सप्तमीको दिन भित्र्याइने फूलपातीले पनि हाम्रो प्राचीन सभ्यताका बारेमा धेरै कुरा बुझ्न सकिन्छ। शरद ऋतु आउने बेलामा घरघरमा नयाँ पालुवा भित्र्याउनुलाई शुभ मानिन्छ। नवदुर्गा भगवतीका १८ वटै हातमा हतियार हुन्छन् भन्ने सनातन धर्मावलम्वीहरूको विश्वास रहेको पाइन्छ।

शत्रुले हमला गर्दा राष्ट्र र समाज बचाउन हतियारको पनि प्रयोग गर्नुपर्छ भन्ने मान्यता रहँदै आएको छ। सोही कारणले दुर्गा भवानीको पूजा आराधना गर्ने क्रममा हतियारको पूजा गर्ने र सेनालगायतका सुरक्षा अंगले समेत आफ्ना सम्पूर्ण हातहतियारलाई सरसफाइ गरेर पूजाआजा गर्दै चुस्तदुरुस्त राख्ने परम्परा छ। राष्ट्रघातीले कुनै पनि बेला दुःख दिन सक्ने भएकाले हजारौँ वर्षअघिदेखि त्यस्तो परम्परा कायम रहँदै आएको बताइन्छ।

विजया दशमीका दिन अभिभावकले आफ्ना सन्तान र नातेदारहरूलाई टीका–जमरा लगाइदिएर आशीर्वाद दिने क्रममा ‘आयु द्रोणसुते, श्रेयं दशरथे...’ अर्थात द्रोणपुत्र अश्वत्थामा जस्तै दीर्घायु हुनू, रामजस्तै शत्रुलाई विजय गर्ने हुनू, हनुमान जस्तै गतिशील बन्नू, नहुष राजा जस्तो ऐश्वर्यशाली बन्नू, दुर्योधनलाई जस्तै मान प्राप्त होस्, सूर्यपुत्र कर्णजस्तै दानवीर बन्नू, बलराम जस्तै बलियो हुनू, कुन्तीपुत्र युधिष्ठिर जस्तै सत्यवादी हुनू, विदुर जस्तै ज्ञानी र विष्णु (नारायण) जस्तै कीर्तिमय हुनु भन्दै आशीर्वचन दिन गर्छन्। यसबाट समाजमा सदाचार, सभ्यता र आफूभन्दा ठूलालाई आदर र सानालाई स्नेह दिने परम्परा विकसित र निरन्तर हुन्छ भन्ने  मान्यता रहेको छ।

सम्पत्तिलाई अंशबन्डाका रूपमा लिने तर संस्कार र संस्कृति उपेक्षा गर्ने प्रवृत्ति बढेको छ। ५–७ करोड रुपियाँका महलभित्र ५–७ वटा राम्रा पुस्तक पनि राख्न नसक्ने दरिद्र धेरै छन्।

महाभारतमा कौरख–पाण्डवको युद्ध काल्पनिक वा मिथक होइन। दिल्ली नजिक कुरुक्षेत्रमा द्वापरयुगमा महायुद्ध भएको र त्यसबारे भारतीय तथा पश्चिमका वैज्ञानिकहरूले धेरै अध्ययन गरेर महाभारत युद्धका बारेमा तथ्यहरू प्रकाशमा ल्याएका छन्। बाह्र हजार वर्षपहिले समुद्रमा विलीन हुन पुगेको द्वारका शहरका बारेमा धेरै कुरा खोजी गरियो। काशी नरेशको दरवार अवलोकन गर्न जाँदा केही वर्षपहिले एकजना प्राध्यापकले पंक्तिकारलाई भनेका थिए– ‘आठ दश पुस्ताअघिदेखि मेरा पुर्वजले यही दरवारको सेवा गरे। किंवदन्तीका रूपमा मेरा बाबु–बाजेहरूले धेरै कुरा मलाई पनि बताए। यहाँ राखिएका पुराना रथहरूमध्ये कतिपय महाभारतकालकै हुन् भन्थे मेरा बाजे।’ महाभारतमा काशी नरेश तथा अम्बा–अम्बालिकाको प्रसंग आउँछ। त्यहाँको संग्रहालय र दरवार राजा महेन्द्र र तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले अवलोकन गरेका तस्बिरहरू छन् त्यहाँ।

जोसँग आत्मविश्वास हुन्छ, उसले मात्र अरूको विश्वास प्राप्त गर्न सक्छ भन्ने सत्य हजारौँ सालअघिदेखि प्रमाणित हुँदै आएको छ। तसर्थ मानवता, इमान, स्वतन्त्रता र कर्तव्यको रक्षा गर्ने अमोघ अस्त्र धर्म नै हो निधोमा पुगे हाम्रा पुर्खा। पश्चिमी राष्ट्रमा पन्थ, विश्वास र सम्प्रदायमात्र बुझिन्छ धर्मलाई। उनीहरू धर्मलाई ‘रिलिजन’ भन्छन् तर त्यो धर्म होइन। धर्मको सोझो अर्थ कर्तव्य हो। ‘स्वधर्मे निधनं श्रेय, परधर्म भयावह’ (आफ्नो धर्म रक्षाका लागि मर्नु पनि श्रेयस्कर छ तर अरूको धर्म (कर्तव्य वा बाटो) अंगाल्नु भयाबह हुन्छ) भनिएको छ।

सनातन धर्म–संस्कृति व्याप्त थियो हजारौँ वर्षसम्म। आज त्यो क्षय हुँदैछ। सम्पत्तिलाई अंशबन्डाका रूपमा लिने तर संस्कार र संस्कृतिलाई उपेक्षा गर्ने प्रवृत्ति बढेको छ। पाँच–सात करोड रुपियाँका महलभित्र पाँच–सात वटा राम्रा पुस्तक पनि राख्न नसक्ने दरिद्र धेरै छन्। संस्कारविहीन समाजमा कृष्ण वा बुद्ध होइन, महिषासुर, सुण्ड–मसुण्ड, प्रचण्ड, मधुकैटव र त्यस्तै प्रवृत्तिका दैत्यमात्र जन्मन्छन्। त्यही कारण, आर्थिक–भौतिकरूपमा सम्पन्न राष्ट्रले नयाँ पुस्तालाई सभ्यता, संस्कार, सदाचार, सरल व्यवहार र शान्तिको शिक्षा दिन थालेका छन्।

आध्यात्मिक र धार्मिक परिवारका मानिस शान्तिप्रिय हुन्छन्। तर धनबाहेक अरू सबै अर्थहीन देख्ने परिवारमा महिषासुरहरू जन्मिने खतरा हुन्छ। महिषासुरको आतंक नेपाली समाजमा पनि देखिँदैछ। सत्ता (सुख, शक्ति र सम्पत्ति) प्राप्तिका लागि हजारौँको हत्या गर्ने राक्षसी प्रवृत्तिले नेपाली समाज आतंकित भयो दश वर्षसम्म। अहिले पनि महिषासुर भन्छन्– सत्ता पाइँदैन भने हतियार उठाउँछौं।’ राष्ट्र महिषासुरहरूकै छायाँमा छ।

शुक्राचार्य नीतिमा उल्लेख छ– ‘धर्मशील रहेमात्र राजाको अस्तित्व रहन्छ। अन्यथा उनले जनता (प्रजा) मात्र गुमाउँदैनन्, आफैं पनि मासिन्छन्।’ (यावन्तु धर्मशीलः स्यात् स नृपस्तावदेव हि। अन्यथा नश्यते लोको द्रङ्नृपोऽपि विनश्यति।।११४।।)

कठोर अनुशासन र स्वावलम्बन पूर्वीय जगत्को सुखको आधार थियो। राजा–प्रजा दुवैका काम, कर्तव्य र अधिकार धार्मिक मान्यताद्वारा अनुप्राणित थिए। सदाचार त्याग्नेहरूलाई जनताले घृणा गर्थे। त्यसैले राज्यसत्ता, युद्धनीति, कूटनीतिलगायत हरेक क्षेत्रका महारथिहरू सदाचारी, कर्तव्यपरायण र अठोटबद्ध थिए। लक्ष्य स्पष्ट थियो। जनता शालीन र संस्कारी छन् भने उनीहरूले आफू जस्तै शिष्ट तथा इमानदार प्रतिनिधि छान्छन्। उदाहरणका लागि, ब्रिटेनको प्रजातन्त्र त्यहाँका जनता उस्तै छ। लिखित संविधानबेगर पनि त्यो देश राम्रोसँग चलेको छ। नेपालको प्रजातन्त्र नेपाली जनता जस्तै छ। ‘मास स्टुपिडिटी’ द्वारा थिचिएको छ राजनीति।

सज्जनहरू किनाराका साक्षी बन्दै गएका छन्। महिषासुरहरू जताततै देखिन्छन्। त्यस्तो भीडलाई जनताले जबसम्म मान्यता दिइरहन्छन्, महिषासुरतन्त्र चलिरहन्छ। हाम्रा धर्मग्रन्थहरूले पराधीनतन्त्र, तस्करतन्त्र, ठगतन्त्र, भ्रष्टतन्त्र, दस्युतन्त्र, लोभतन्त्र वा शठतन्त्र कल्पनै गरेका छैनन्। शासक (राजा) भनेको धार्मिक, निर्भीक, दाता, नीतिवान, विद्वान्, शालीन र सत्यवादी हुनुपर्छ भन्ने शास्त्रको मत छ। त्यसैले, शासक पापनिरपेक्ष हुनुपर्छ तर कसैले आफूलाई ‘धर्म निरपेक्ष’ हुँ भन्छ भने उसले धर्मको सही अर्थ बुझेकै छैन।

अत्याचारी राक्षस महिषासुर पुराणको पात्रमात्रै होइन, हरेक युगमा पैदा हुने विकारको उपमा पनि हो। अत्याचारको बिम्ब हो। त्यसैले, दसैँ मनाउँदा हामी प्रण गरौँ–‘महिषासुरहरूको छत्रछहारीमा बस्दैनौँ हामी।’ तबमात्र सुरक्षित हुन्छ राष्ट्र र समाज।

महिषासुरका अनेक रूपमध्ये नर्वेका प्रधानमन्त्री क्विजलिङ पनि एक थिए। जर्मनीको सेना बोलाएर उनले स्वदेशमा हमला गराए। एमालेबाट प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बन्ने मौका पाएका एक नेताले २०४६ सालको आन्दोलन सफल पार्न भारतीय सेना बोलाउनुपर्ने र राजा वीरेन्द्रलाई पाता कसेर लडाउनुपर्ने प्रस्ताव ल्याउँदा मदन भण्डारीको गाली खाएका थिए। ती नेता हाल सत्तारुढ दलका वरिष्ठ नेता छन्।

सिक्किमका नेता लेण्डुप दोर्जेले आफ्नो स्वतन्त्र देश भारतलाई बुझाए। शुम्भ–निशुम्भ र महिषासुर प्रवृत्तिले हरेक राष्ट्रको अस्तित्व खतरामा पर्न सक्छ। बंगालका राजा (नवाव) सिराज उद्दौलालाई धोका दिँदै प्रधानसेनापति मीर जाफरले गरेको राष्ट्रघात होस् वा सुगौली सन्धिमा चन्द्रशेखर उपाध्याय (दाहाल) र गजराज मिश्रले गरेका राष्ट्रघाती कृत्यहरू। ती सबै घृणायोग्य छन्।

तसर्थ, दुर्गा भवानीलाई राष्ट्रको प्रतीक र महिषासुरलाई राष्ट्रघातीको रूप मान्दै दुर्गा पूजालाई असत्यमाथि सत्यको विजयउत्सवका रूपमा मनाउन सकिन्छ। यसले गर्दा राष्ट्र, राष्ट्रधर्म, संस्कृति र परम्पराको संरक्षण गर्न नयाँ पुस्तालाई पनि प्रेरणा प्राप्त हुनेछ।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

आइएमईमा डबलको डबलको डबल अफर

आइएमईमा डबलको डबलको डबल अफर

सेवाग्राहीद्वय सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।

Ncell Footer Ad