coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विद्यार्थी आन्दोलन अब दसैंपछि

चितवन - चितवन मेडिकल कलेजले आन्दोलनरत विद्यार्थीसँग गरेको सहमतिअनुरूप काम नगरेको भन्दै विद्यार्थीले आन्दोलन जारी राखेका छन्। चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले तोकेभन्दा बढी शुल्क सो कलेजले लिएको भन्दै विद्यार्थीले आन्दोलन गर्दै आएका छन्।

विद्यार्थीले पठनपाठन नै ठप्प पारी बढी शुल्क लिएको विरोध गरेपछि चितवनका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय चितवनमा सो कलेजका विद्यार्थी, अभिभावक, फ्याकल्टी र व्यवस्थापन पक्षबीच असोज ४ गते छलफल भएको थियो। छलफलमा कलेजले विद्यार्थीसँग लिएको बढी शुल्क फिर्ता गर्ने सहमति भएको थियो। सोहीअनुसार तोकेभन्दा बढी लिएको शुल्क फिर्ता एवं समायोजन गर्न टेकप्रसाद चापागाईको संयोजकत्वमा सात सदस्यीय समिति गठन भएको थियो।

कलेजले असुल गरेको बढी शुल्क फिर्ता एवं समायोजन गर्न को कसलाई कति फिर्ता गर्नेलगायत विषयमा यकिन गरेर प्रतिवेदन प्रस्तुत गर्न असोज १० गतेसम्मको समय निर्धारण गरिएपछि कलेज प्रशासनबाट सहयोग नभएकाले समितिले प्रतिवेदन तयार गर्न सकेको छैन। सहमतिअनुरूप सो कलेजले काम नगरेको र विद्यार्थी अभिभावकले फेरि आन्दोलनको चेतावनी दिँदा पनि प्रशासन सहमतिमा लचिलो नबनेकाले विद्यार्थीले आन्दोलन सुरु गरेका छन्।

सहमति पालना नभएपछि असोज १३ गते विरोध सभा गरेर आन्दोलन जारी रहेको र दसैं सकिएलगत्तै विरोध र संघर्षका कार्यक्रम गरिने विद्यार्थीले जानकारी दिएका छन्। त्यस्तै विरोध कार्यक्रममा संघर्ष समिति बनाएर अभिभावक पनि प्रत्यक्ष रूपमा जोडिएका छन्।

सहमतिअनुसार कलेजले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्कको भर्पाइ र प्रतिवेदन असोज १० गतेभित्र दिनुपर्ने थियो। मिति कटे पनि भर्पाइ नपाएकाले विद्यार्थीले स्थगित आन्दोलन सुरु गरेका हुन्। कलेजका आठैवटा संकायअन्तर्गत पहिलो वर्ष र दोस्रो वर्षमा पढ्ने विद्यार्थीको रकमबारे जानकारी दिएर पछिल्लो वर्ष शुल्क समायोजना गर्ने भए पनि तेस्रो र चौथो वर्षमा पढ्ने विद्यार्थीबाट लिएको बढी शुल्कबारे भने जानकारी नदिएको चिकित्सा शिक्षा संघर्ष समितिअन्तर्गत चितवन मेडिकल कलेज संघर्ष समितिका संयोजक प्रकाशचन्द बताउँछन्।

तेस्रो र चौथो वर्षमा पढ्ने विद्यार्थीको शुल्क फिर्ता गर्नुपर्नेमा कति विद्यार्थीबाट कति बढी शुल्क लिएको छ भन्ने जानकारी र प्रतिवेदन नै दिन नमानिराखेको उनले बताए। ‘विद्यार्थीको तर्फबाट हामीले शुल्क तयार गरिसक्यौं,’ उनी भन्छन्, ‘त्यो शुल्क तुलना गर्न त कलेज प्रशासनबाट पनि यति लिएको छ भनेर आउनुपर्छ नि।’ समितिले विद्यार्थीसँग बुझेर लिएको जानकारीअनुसार कलेजले विद्यार्थीबाट करीब ५६ करोड रुपैयाँ बढी शुल्क लिएको उनले बताए। उनका अनुसार करीब २० करोड रुपैयाँ पछिल्लो वर्ष समायोजन गर्न सकिने भए पनि ३५ करोडभन्दा बढी रकम विद्यार्थीलाई फिर्ता गर्नुपर्ने रहेको छ।

छलफलमा नेपाल सरकार एवं आइओएमले तोकेभन्दा बढी लिएको शुल्क सो कलेजले कात्तिक १८ गतेभित्र फिर्ता वा समायोजन गर्ने सहमति भएको थियो। कलेजले एमबिबिएस अध्ययनरत विद्यार्थीबाट सरकारले तोकेभन्दा पाँचदेखि २० लाख रुपैयाँसम्म बढी लिएको विद्यार्थीले बताउँदै आएका छन्। अन्य संकायमा पनि दुई लाख रुपैयाँभन्दा बढी शुल्क कलेजले असुल गरेको विद्यार्थीको आरोप छ।

सहमति पालना नभएपछि असोज १३ गते विरोध सभा गरेर आन्दोलन जारी रहेको जानकारी दिँदै अब दसैं सकिएलगत्तै विरोध र संघर्षका कार्यक्रम गरिने चन्द बताउँछन्। विद्यार्थीहरू पर्व मान्न घर जाने भएकाले दसैंलगत्तै कार्यक्रम जारी राखिने उनले बताए। विरोध कार्यक्रममा अभिभावक पनि प्रत्यक्ष जोडिएका छन्। अभिभावकको समेत संघर्ष समिति बनाइएको छ।

प्रकाशित: १७ आश्विन २०७६ ०१:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App