coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

धरानमा मिरा राई जिताऔं अभियान

शनिबार धरान रनको २ सय ९१ औं सातामा मिरा राई जिताऔं अभियान शुरुवात गरिँदै ।

धरान–नेशनल जिओग्राफिक एडभेञ्चर अफ दि इयरको उत्कृष्ट १० मा पर्न सफल नेपालकी अल्ट्रा धाविका मिरा राईलाई जिताउन धरानमा अभियान शुरु भएको छ।
किरात राई खेलकुद संघ सुनसरी र धरान रनले सहकार्य गर्दै शनिबारदेखि संयुक्तरुपमा ‘मिरा राई जिताऔं’ अभियानको शुरुवात गरेको हो। प्रत्येक शनिबार बिहान यलम्बर पार्कमा हुने धरान रन कार्यक्रमको २ सय ९१ औं साता दौडमा सहभागीहरुले अभियानको शुरु गरेको घोषणा गरेका थिए।

मिरालाई बेष्ट भ्युअर च्वाईस विधामा जिताउन अनलाईन भोटिङ गर्नुपर्ने भएकोले अभियान शुरु गरिएको संघका जिल्ला अध्यक्ष विकास चाम्लिङले जानकारी दिए । ‘मिरा राईले साहसिक खेलबाट नेपाललाई विश्वसामु चिनाउन सफल छिन् । अहिले उनलाई जिताउने अभिभारा हामीमा छ । त्यसैले यो अभियान शुरु गरेका हौं’,अध्यक्ष चाम्लिङले भने। उनका अनुसार भ्युअर च्वाइस विधामा अनलाइनबाट भोट हाल्न मिल्ने प्रावधान भएकोले यो अभियान प्रभावकारी हुनेछ ।

धरान रनको मिरा राई जिताऔं अभियानसहितको दौडमा उच्च डल्फिन पुर्वाञ्चल एकेडेमी, एम्स एकेडेमी, डिपोट उच्चमावि, झुनाज फिटनेस, पुर्व डिपो विद्यार्थी संगठन, डिपोटियन स्पोर्टस् क्लबका शिक्षक, विद्यार्थी तथा खेलाडीहरु सहभागी भए । धरान रनका अभियानसहितको दौडमा अनुसार दौडमा ४ सय २ जनाले दौडिएका थिए । अभियानअन्र्तगत मिरा राईको तस्विर अंकित भोट हाल्ने तरिकासहितको ब्यानर धरानको विद्यालय, कलेज, क्लव, क्याफे र चोक चोकमा राखिने धरान रनका अध्यक्ष रमु राईले बताए। भोट हाल्न सहज बनाउनको लागि भोट मिरा राई नामको फेसवुक पेज पनि बनाएर अभियान थालिसकेको उनले बताए। ‘आइतबारदेखि विभिन्न कलेज, विद्यालयमा गएर भोट हाल्ने तरिका सिकाउछौ र भोटिङ क्याम्पेन गछौं’, उनले भने ।

अल्ट्रा धाविका द्वन्द्वकालताकामा सशस्त्र माओवादी लडाकु थिइन् । शान्ति प्रक्रिया शुरु भएपछि अयोग्य लडाकु घोषित भएपछि उनको पाइला खेलकुदरित मोडियो । साहसिक खेल विधामा पर्ने अल्ट्रा रनमा उनले नेपालको प्रतिनिधित्व गर्दै थुप्रै देशमा आयोजित प्रतियोगितामा भाग लिदै पुरस्कार जितेकी छिन् ।

 

प्रकाशित: ११ मंसिर २०७३ ०८:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App