नेपालगन्ज - गाउँमा बसेर परिवारको खर्च टार्न मुस्किल भएपछि सुर्खेत, चनौटेका बखतबहादुर विक कामका लागि पत्नीसहित भारतको हिमाञ्चल प्रदेशतिर लागे। करिब तीन महिनाको अन्तरालमा उनी अहिले दसैं मान्न घर फर्किएका छन्। दसैं मान्न घर फर्किन पाउँदा बखतबहादुर निकै हर्षित छन्। ‘घरमा त्यसै बस्नुभन्दा दुई÷चार पैसा भए पनि कमाइ गरिएला भनेर हामी दुवैजना भारत गएका थियौं। दसैं पनि नजिक आइसक्यो, चाडपर्व मनाउन घर जाँदैछौं,’ नेपालगन्ज नाकामा शनिबार बिहान भेटिएका बखतबहादुरले भने।
दाङ, तुलसीपुर उपमहानगरपालिका– १४ का कमल योगी पनि पत्नीसहित शनिबार दसैं मान्न भारतबाट घर फर्किए। गाउँमा रोजगारी नपाएपछि उनी १६ महिनाअघि काम गर्न पत्नीसहित भारतको हरियाना पुगेका थिए। ‘चाडपर्व मनाउन नेपाल फर्किन पाउँदा धेरै खुुसी लागेको छ,’ योगीले भने, ‘बाटोमा खासै समस्या भएन, रामै्रसँग फर्केर आयौं।’ तर आफ्नो देशमा प्रवेश गर्नै लाग्दा सीमाक्षेत्रमै पुगेर रिक्सा, टांगा र होटल व्यवसायीले तानातान गरेको ब्यवहार उनलाई मन परेन।
दसैं नजिकएसँगै काम गर्न भारत गएका नेपाली घर फर्किने क्रम बढेको छ। इलाका प्रहरी कार्यालय जमुनाहाका अनुसार केही दिनयता दैनिक १ हजारको हाराहारीमा नेपालगन्ज नाका भएर नेपाली घर फर्किरहेका छन्। सो प्रहरी कार्यालयका इन्चार्ज एवं प्रहरी नायब निरीक्षक (सई) माधवप्रसाद रिजालले एक सातायता दैनिक १ हजारको हाराहारीमा यो नाका भएर नेपाली फर्किरहेको बताए। ‘एक साताजति भयो, भारतबाट फर्किने नेपालीको संख्या ह्वात्तै बढेको छ,’ रिजालले भने, ‘उनीहरुलाई सुरक्षित हिसाबले गन्तव्यमा पु¥याउन विशेष सतर्कता अपनाउने गरेका छौं।’
इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज रिजालले नेपाली मजदुरलाई ठग्ने प्रयास गरेका कतिपय रिक्सा र टांगावालालाई नियन्त्रणमा लिएर पैसा फिर्ता गर्न लगाएको बताए। ‘रुपैडिहा बजारबाट नेपालगन्जको पुष्पलाल चोकसम्मको भाडा १७ सय रुपैयाँ लिएको फेला पा¥यौं, त्यसपछि रिक्सावालालाई तुरुन्त नियन्त्रणमा लिएर १४ सय रुपैयाँ फिर्ता गर्न लगायौं,’ उनले भने। यस्तै रुपैडिहाबाट जमुनाहासम्मको भाडा २० रुपैयाँ लिनुपर्नेमा ५० रुपैयाँ लिएको, रुपैडिहाबाट भन्सार कार्यालयसम्म ५० रुपैयाँ लिनुपर्नेमा १ सय रुपैयाँ लिएको पाइएपछि रिक्सालाई नियन्त्रणमा लिएर बढी लिएको रकम फिर्ता गर्न लगाएको रिजालले बताए। आफ्नो होटलमा लैजान यात्रुका झोला खोस्न खोज्ने कतिपय होटल व्यवसायीलाई पनि सचेत गराएको उनले बताए। ‘हामीलाई जिल्लाबाट एसपी स’पको कडा निर्देशन छ, त्यसकारण नेपालीलाई ठगिनबाट जोगाउन हामी दिनरात खटिरहेका छौं,’ रिजालले थपे।
विगतका वर्षभन्दा यसपटक भारतबाट फर्कंदै गरेका नेपालीको पैसा लुटिने र अर्धचेत अवस्थामा फेला पर्ने खालका घटना अहिलेसम्म नभएको जमुनाहा प्रहरीले जनाएको छ। विगतका वर्षमा काम गरेर घर फर्कंदै गरेका नेपाली भारतीय बाटोमा लुटिन्थ्ये। यसपटक नेपाली यात्रुलाई लक्षित गरेर सीमास्थित जमुनाहामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त यात्रु सहायता कक्ष स्थापना गरिएको छ। नेपालीलाई सुरक्षित रुपले आफ्नो गन्तव्यमा पुग्ने वातावरण मिलाउन दुई देशका सुरक्षा अधिकारी सहमत भए पनि रुपैडिहा बसपार्कदेखि नेपालगन्जसम्म उनीहरूmले विभिन्न खाले दुव्र्यवहार खेपिरहेकै छन्।
भारतका विभिन्न ठाउँबाट आउने नेपालीलाई आफ्नो रिक्सा र होटलमा राख्न उनीहरूको झोला खोसाखोस गर्न रिक्सा, टांगा तथा नेपालगन्जका होटल व्यवसायीको रुपैडिहा बसपार्क र जमुनाहा क्षेत्रमा भिड नै लाग्छ। प्रत्यक्षदर्शीका अनुसार रिक्सा, टांगा र होटल व्यवसायी यात्रु तान्न त्यहाँ पुगेका हुन्। हिमाञ्चल प्रदेशबाट फर्कंदै गरेका एक यात्रुले रुपैडिहा बसपार्कदेखि नेपालगन्जसम्म रिक्सा, टांगा र होटलवालाको मनपरी चलेको दुखेसो पोखे। ‘बाटोमा त्यति समस्या भएन, रुपैडिहा आइपुगेपछि होटल, रिक्सा र टांगावालाले तानातान गर्दा नरमाइलो लाग्यो,’ ती यात्रीले भने।
प्रकाशित: १७ आश्विन २०७६ ०१:२४ शुक्रबार