८ वैशाख २०८१ शनिबार
कला

जीवनको व्याख्या गर्दै ‘सुसेलिरहेको मान्छे’

काठमाडौं – एउटा ढोका, एउटा झ्याल
एउटा सिसा, एउटा आकृति
अर्को परिधि लक्ष्य भित्र–भित्र
जिन्दगी महसुस गरिन्छ।
चित्रकार सुन्दर लामाद्धारा लिखित कविता संग्रह ‘सुसेलिरहेको मान्छे’ बाट साभार गरिएको उक्त हरफले कलाको अनुभूति अभिव्यक्त गरेको छ। राजधानीको बौद्धस्थित तारागाउँ म्युजियममा चलिरहेको उनको एकल चित्रकला प्रदर्शनीले विगतदेखि भविष्यसम्मको सकारात्मक दृष्टिकोण समावेश गरेका छन्।

उनको तेस्रो एकल कला प्रदर्शनी हो। उनले चित्रकला, कविता, पर्फमेन्सदेखि प्रतिस्थापन कलाको माध्यमबाट आफ्नो भाव अभिव्यक्ति गरेका छन्। उनले आफ्नो कला प्रदर्शनीको नामसमेत ‘सुसेलिरहेको मान्छे’ राखेका छन्। प्रदर्शनीमा उनले विभिन्न थरीका कागजमा चित्रकला कोरेका छन्। चित्रकलाको भाव उनले कवितामार्फत प्रस्तुत गरेका छन्।

उनले मुखौटा, महिला, जनावर र भगवानको आकृतिलाई चित्रमा प्राथमिकता दिएका छन्। अधिकांश चित्रले स्वतन्त्रता, जीवनको विभिन्न भाव, संघर्ष र स्नेहको व्याख्या गरिरहेका छन्। ‘जीवनमा समेटिएका विभिन्न भोगाइ र त्यसले भविष्यप्रति आशावादी बनाएको भावलाई कला र कविताको माध्यमबाट प्रस्तुत गरेको छु,’उनले भने।

‘बायोजिकल क्लक’ शीर्षकको पर्फमेन्स आर्टमा जीवन र मरणबीचको फरक प्रस्तुत गरिएको थियो। ढुंगाको प्रयोग गर्दै जीवनमा हुने विभिन्न पीडाको भावनात्मक अर्थ खोज्ने प्रयास गरिएको थियो। सो कविता संग्रहलाई सेन्टर फर नेप्लिज कल्चरले प्रकाशन गरेका छ।

उनले कला र कवितामार्फत जीवनको पीडाको प्रतिविम्बित गरेका छन्। ‘आमा’ शीर्षकको कलाले बुढेस्कालमा दुःखको अनुभव गरेकी महिलाको प्रतिनिधित्व गरेको छ। ममताको परिभाषा गरिएको आमालाई मोक्षसँग तुलना गरिएको छ। ‘कुराकानी’ शीषकको मिथिला चित्रकलाले जीवनको पीडा प्रस्तुत गरिएको छ।

‘सुसेलिरहेको मान्छे’ शीर्षकमा जीवनको निरन्तरतालाई रुपान्तरण गरेर प्रस्तुत गरेको उनले बताए। भगवानको मोखैटालाई विभिन्न रंगको प्रयोग गरी प्रदर्शनीमा राखिएको छ। यसमा रिस र आक्रोश देखाइएको छ। ‘मानिसले महसुस गर्ने रिसको गहिराईलाई चित्रकलामार्फत देखाइएको छ। मुखबाट तलतिर झर्दै गरेको घोडाको चित्रले रिसका कारण आफूमा भएको साधना समेत बाहिर जाने कुरालाई देखाएको छु,’ उनले भने,‘यो जीवनको अनुभूतिले सकारात्मक हुन प्रेरित गरिरहेको छ।’ ‘बेग्लै तरिकाले’ शीर्षकको चित्रमा उनले बुद्धको मूर्तिमार्फत सत्यतालाई देखाएका छन्। प्रदर्शनी असोज १७ सम्म चल्नेछ।

प्रकाशित: १७ आश्विन २०७६ ०१:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App