coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

न्युटनको बगैँचाको स्याउ टोक्दा

कृष्ण बजगाईं

पारिलो घामसँग प्रत्यक्ष भेट हुन पाउँदा मनभित्र उज्यालो पस्यो। एक साताअघिदेखिको रुन्चे आकाश मुस्कुराइरहेको थियो। अक्टोबर महिनाको अन्त्यतिरको शारदीय घामले मौसममा अलिकति उष्णता थपिसकेको थियो।

कार स्टार्ट गर्नुअघि नाभिगेटर 'अन' गरेर सर आइज्याक न्युटनको घरको ठेगाना हालेँ। एकसय ६० किलोमिटर टाढा, अनुमानित समय डेढ घन्टा लाग्ने बतायो। दूरी छाडेर समयको मात्र हिसाब गर्ने हो भने कैयौँ पटक दुई घन्टाभन्दा बढी ट्राफिक जाममा परेर उकुसमुकुस भएको छु। आशा छ, सपनाको तीव्र उडानजस्तै मोटरवेमा यात्रा हुनेछ।

कोटको खल्तीमा अघिदेखि राखेको अमूल्य स्याउ सुरक्षित थियो। गुरुत्वाकर्षणले खल्तीको स्याउलाई पृथ्वीतिर तानिरहेको थियो। मेरो मनले चाहिँ स्याउलाई तानिरहेको थियो। टोकेर राखेको स्याउ खान आतुर मनलाई कम्पाउन्डबाहिर ननिस्कुन्जेलसम्म थुम्थुमाएको थिएँ।

एम–४ मोटरवेमा कार हुइँकन थाल्यो। सडकका दायाँबायाँ हरियाली कायम गर्न रोपिएका थरिथरि रुखका बूढा पातहरू भिन्नभिन्न रंगमा छन्। ती बूढा पात झर्नुअघि यसरी नै रंगिएर प्रकृतिमा सुन्दरता थप्न अन्तिम प्रयास गर्छन्। विचरा रुखहरू अर्को महिनापछि नांगिएर हिउँको चुटाइ खाने छन्! बेलायतको हिमपात र मुटु कमाउने जाडो सम्झँदा ती रुख र त्यसमा गुँड बनाएर बस्ने पन्छीप्रति माया लागेर आयो।

करिब एक घन्टाको दौडाइपछि क्याम्ब्रिजमा पुगेको कुरा सडकछेउमा राखिएको सूचनापाटीबाट थाहा भयो। गाडीको गति अलिक कम गरेपछि पहिलो लेनमा गएँ। संसारको प्राचीन विश्वविद्यालयमध्येको एक क्याम्ब्रिज विश्वविद्यालय यहीँ त छ नि। कत्रो ख्याति छ यसको संसारभर! त्यहाँबाट संसारमा ख्याति कमाएका कैयौँ वैज्ञानिक, महान् विचारक, राष्ट्रप्रमुख र राजनेता उत्पादन भएका छन्। क्याम्ब्रिज विश्वविद्यालयसँग सम्बन्धित वा विद्यार्थी ९६ जनाले नोबेल पुरस्कार पाइसकेका छन्। त्यो ज्ञानको भण्डार, विद्वान्हरूको केन्द्र, सरस्वतीको मन्दिरमा एकछिन रोकिएर त्यस पवित्र भूमिको स्पर्श गरेर जान मन थियो तर, समयका कारण मन मारेँ। छिट्टै आउने बाचा गरी गाडीको गति बढाएँ।

झण्डै दुई घन्टाको यात्रापछि पूर्वी इंग्ल्यान्डको लिंकनसायरमा पर्ने वुल्सथोर्प गाउँमा प्रवेश गरेँ। नाभिगेटरले गन्तव्यमा पुगेको जानकारी दियो। वरिपरि टायलका छाना भएका झुरुप्प घरछेउको कारपार्कमा गाडी राखेर बाहिर निस्कँदा मायालु घामको स्पर्शले मोहनी लगायो।

न्युटनको जन्मघर हेर्न जाने यात्रामा न त ट्राफिक जाममा परियो न त मौसमले नै धोका दियो। गतिको तीनवटा नियम पत्ता लगाउने महापुरुषको घरसम्म पुग्दा कारको गतिमा कुनै बाधा भएन! गतिको तीनमध्ये कुन नियम लाग्यो होला यात्रामा? मनमा प्रश्न उठे, तर उत्तर सजिलो छैन। यसका लागि न्युटनको गतिको नियमलाई अलग्गै अध्ययन गर्नुपर्छ।

न्युटनको जन्मघरको प्रांगणमा पहिलो पाइला पर्ने बित्तिकै रोमाञ्चित हुन पुगेँ। सगरमाथाको टुप्पोमा पाइला राख्ने आरोहीको भन्दा कम भएन मेरो खुसीको सीमा। त्यस पवित्र धर्तिलाई हातले स्पर्श गरेर शीरसम्म पुर्‍याएँ। ती महापुरुषलाई के भनेर सम्बोधन गरौँ? भौतिकशास्त्री, गणितशास्त्री, खगोलशास्त्री, धर्मशास्त्री, दार्शनिक, टक्सार प्रमुख, सांसद वा सर आइज्याक न्युटन? के भनेर लेखौँ, अलमल छु। उनले सम्पन्न गरेका काम उत्कृष्ट छन्। ती सबै विधामा विशिष्ट छन्।

               उनको जन्म सन् १६४२, डिसेम्बर २५ को चिसोमा भएको थियो। चार सय वर्षअघि बनेको दुईतलाको उनको घर जस्ताको तस्तै सामुन्ने देख्दा पत्याउनै सकिनँ। नियमित मर्मतसम्भार गरेर होला, त्यो अवस्थामा रहेको। त्यहाँ देखिएका मानिसका भीड हेर्दा त्यस घरले निकै पैसा कमाउला जस्तो लाग्यो। अनुमान गर्छु, घर मर्मत र कर्मचारीको खर्च त प्रवेशशुल्कले नै धान्छ होला। उसै पनि कर्मचारीभन्दा स्वयंसेवक नै बढी देखिन्थे।

 उनको जन्मघरभित्र प्रवेश गर्नुअघि छेउमै रहेको विज्ञान प्रयोगशाला गएँ। प्रकाशको परावर्तन र गुरुत्वाकर्षको सिद्धान्तको बारेमा सामान्य मानिसलाई पनि बुझाउन सकिने प्रयोगात्मक सामग्रीहरू थिए। त्यसलाई जोसुकैले प्रयोग गर्न सक्दा रहेछन्। न्युटनले पत्ता लगाएको आविष्कार र सिद्धान्तको प्रयोग गरिरहेका अवलोकनकर्ताहरू देखेर म पनि हौसिएँ। गुरुत्वाकर्षण र वस्तुको गति सम्बन्धी प्रयोगात्मक जानकारी आफैले प्रयोग गरेर हेरेँ। सबैभन्दा चाखलाग्दो प्रयोग प्रकाशको बारेमा थियो। हाम्रो आँखाले सूर्यबाट आएको प्रकाशको किरण सेतोमात्र देख्दो रहेछ। तर, सूर्यको प्रकाशमा सात वटा रंग अर्थात् इन्द्रेनी रंग मिसिएको हुँदो रहेछ। त्यसलाई 'प्रिज्म'बाट पास गराउँदा ती सबै रंग छुट्टिँदा रहेछन्। त्यसको प्रत्यक्ष प्रयोग गरेपछि भ्रमको पर्दा खुल्यो।

आँखाले देखेको सबै कुरा कहाँ सत्य हुँदो रहेछ र? त्यसलाई खुट्याउने अर्को साधन चाहिँदो रहेछ। त्यो प्रयोग गरेपछि मलाई लाग्यो, आँखाले देखेको सत्य लाग्ने तर असंख्य भ्रम पालेर बाँचेका हामी अल्पज्ञानी पो रहेछौँ। प्रयोगशालामा केही प्रयोग गरेँ, पढेँ, टिपँे अनि केही ज्ञान लिएर बाहिर निस्केँ। त्यसपछि मेरा पाइला उनको जन्मघरतिर बढे। 

        उनको घरमा प्रवेश गर्ने बित्तिकै मूलढोकाको छेउमा हजुरआमा उमेरकी स्वयंसेविकाले स्वागत गरिन्। घरको बारेमा सामान्य जानकारी दिँदै मेरो हातमा उक्त घरको नक्सा थमाइन्। र, भनिन्– 'हरेक कोठामा स्वयंसेवक छन्, सम्बन्धित विषयमा जानकारी दिने सामग्री पनि छन्। न्युटनका बारेमा तपार्इंले सन्तुष्ट हुने गरी जानकारी पाउनु हुनेछ।'

त्यही नक्सालाई पछ्याउँदै उनको बैठक कोठा, डाइनिङ रुम, भान्सा, प्रयोगशाला, अध्ययन कक्ष सबै चहारँे। अन्त्यमा साह्रै होचो ढोकाबाट टाउको ठोकिनबाट जोगाउँदै उनको जन्म भएको कोठामा पुगेँ। संसारका महान् आविष्कारक जन्मेको कोठामा पुग्ने सौभाग्य पाउनु मेरो लागि कम खुसीको कुरा थिएन। चौँडा कोठाको एकछेउमा एउटा बेड थियो। त्यही बेडमा उनको जन्म भएको रहेछ। त्यसलाई निकैबेर हेरेँ, स्पर्श गरेँ। लाग्यो, न्युटनलाई स्पर्श गरिरहेको छु।

उनको जन्मकोठामा राखिएको एउटा सामग्रीमा आँखा पर्‍यो। वास्तवमा महापुरुष र विद्वान् दूरदृष्टि राख्छन्। आजभन्दा तीन सय पचास वर्षअघि न्युटनले भनेका कुरा अहिले हाम्रो देशको अवस्थासँग ठ्याक्कै मेल खाने रहेछ – 'हामीले धेरै पर्खाल बनायौँ, तर पर्याप्त पुल बनाएनौँ।'

पुलको अभावमा तुइन चढेर विद्यालय जाने विद्यार्थीको समाचार पढेर म निकै दुःखी भएको छु। पुलको अभावमा आवश्यक खाद्यान्न र औषधि गाउँमा पुग्न सकेको छैन। त्यहाँ उत्पादित फलफूल बारीमै सडेर गएका छन्। सम्झँदा नमीठो लागेर आउँछ। अरु देशमा त समुद्रमाथि २५ किलोमिटरभन्दा लामो पुल बनाइसके। साना खोला र नदीमा २५ मिटर लामो पुल बनाउने सरकार कहिले आउला नेपालमा? उनको अध्ययन कक्षमा पुगेपछि एक स्वयंसेवकलाई न्युटन र उनको आविष्कारको बारेमा जिज्ञासा राखेँ। मेरा हरेक जिज्ञासाको तथ्यगत जवाफ पाएँ।

तिलचामले केश, त्यसमा पनि आधा तालु खुइलेको, मोटो पावरवाला चस्मा लगाएको खिरिलो त्यो ज्यानलाई अन्त्यमा सोधेँ– 'के तपाई भौतिकशास्त्री हो?' 'होइन, होइन म एक अवलोकनकर्ता हुँ र कहिलेकाहीँ लेख्ने सामान्य लेखक। विज्ञानमा रूचि राख्नेहरू आइनै रहन्छन्। उनीहरू यसरी नै निकै चासो राख्छन्। गत सातामात्र अमेरिकाबाट भौतिकशास्त्रमा नोबेल पुरस्कार प्राप्त विद्वान् आएका थिए।'

        उनको जवाफ सुनेर म हैरान भएँ। अहो! अमेरिकादेखि आइज्याक न्युटनको घर हेर्न आउँदा रहेछन्। युरोप छिरेको १७ वर्षपछि बल्ल म त्यस तीर्थस्थल पुगेको थिएँ। नजिकको तीर्थ हेलाँ भनेको सायद यही होला! उनी जन्मिनुअघि नै उनको पिताको निधन भएको रहेछ। जन्म समयपूर्व नै उनको जन्म भएकोले एकदम कमजोर थिए रे। उनलाई मुस्किलले बचाइएको रहेछ। यस धरामा महान् कार्य सम्पन्न गर्नका लागि मृत्युलाई जितेर आएका रहेछन् र त ८५ वर्षसम्म बाँचे। रमाइलोचाहिँ के रहेछ भने, खेतीपाती गर्ने उनको पिताको नाम आइज्याक न्युटन रहेछ। आफ्नो पतिको सम्झनामा आमाले छोरालाई बाबुकै नाम दिइछन्। धनी किसान आइज्याक न्युटनको नामलाई गर्भे टुहुरो भौतिकशास्त्री आइज्याक न्युटनले अमर बनाइदिए।

सत्रौँ शताब्दीको उत्तरार्द्धमा न्युटनले गुरुत्वाकर्षणको सिद्धान्त प्रतिपादन गरेका थिए। एक दिन आफ्नै बगैँचामा आराम गरिरहेको बेला एउटा स्याउको दाना रुखबाट भुइँमा खसेको देखेपछि उनको जिज्ञासु मस्तिष्कमा असंख्य तर्क पैदा भए। किन स्याउ माथि नगएर भुइँमा खस्यो? सोही जिज्ञासालाई अनुसन्धानको विषय बनाए। स्याउको गति र खस्ने प्रक्रियाबारे गहन अनुसन्धान गरेपछि  ब्रह्मण्डभित्रका गति र गुरुत्वाकर्षणका बारेमा वैज्ञानिक तथ्य पत्ता लगाए। पृथ्वीमा गुरुत्वाकर्षण बल अर्थात् 'ग्राभिटी' नामको एक शक्ति हुन्छ। त्यसले हरेक वस्तुलाई आफूतिर तान्छ। उतिबेला कसैले नपत्याउने कुरा 'चन्द्रमाले पृथ्वीलाई चक्कर लगाउँछ' भन्ने प्रामाणिक तर्क दिए।

उनले प्रतिपादन गरेको गुरुत्वाकार्षण र गतिको सिद्धान्तलाई अनुशरण गर्दै वैज्ञानिकहरूले अहिले धेरै नयाँ प्रविधिको विकास गरेका छन्। त्यसकै आधारमा रकेट निर्माणदेखि अन्तरीक्षको यात्रासम्म भएको छ। वास्तवमा उनको वैज्ञानिक सिद्धान्तबिना आधुनिक विज्ञानको कल्पना गर्न सकिँदैन। उनले आफ्नै गाउँको ग्रामर स्कुलमा मुख्य विषय ल्याटिन र गणित लिएर पढेका रहेछन्। ल्याटिनको ज्ञान उनको वैज्ञानिक जीवनमा निकै उपयोगी भयो। त्यतिबेला युरोपका स्कुलमा ल्याटिन भाषा पनि पढाइन्थ्यो। अधिकांश वैज्ञानिक पुस्तकहरू ल्याटिन भाषामा मात्र उपलब्ध थिए। अहिले मृतभाषा भनिए पनि गणितका चिह्नहरू अल्फा, बेटा, गामा अनि बोटविरुवा, जनावर आदिको ल्याटिन नाम अझसम्म पनि हामी घोकिरहेका छौँ।

    स्कुलको पढाइपछि क्याम्ब्रिज विश्वविद्यालयमा भर्ना भए। पछि त्यहीँ प्राध्यापक भए। गणनाको गणित विधि 'क्याल्कुलस' बनाए। 'पाइ'को मान निकाल्ने नयाँ फर्मुला दिए। उनैले  ज्वारभाटाको नियम पनि पत्ता लगाए। क्याम्ब्रिज विश्वविद्यालयको प्रोफेसरबाट अवकाश पाएपछि शाही टक्सारमा 'टक्सार वार्डेन'मा जागिर खाए। पछि त्यसैको प्रमुख पनि बने। इंग्ल्यान्ड र स्कटल्यान्डको सिक्का आफ्नो रेखदेखमा ढलाइ गरे। उतिबेला सटही दरमा निकै कमजोर रहेको पाउन्डलाई उनैले मजबुत बनाए। रानी आनले उनको कामबाट खुसी भई 'सर' उपाधि दिइन्। र, उनी सर आइज्याक न्युटनको नामले प्रख्यात भए।

                      विज्ञानको इतिहासमा ग्यालिलियोपछिको महŒवपूर्ण वैज्ञानिक न्युटन मानिन्छन्। जीवनकालमा वैज्ञानिक संस्था रोयल सोसाइटी अफ लन्डनका सभापति भए। युनिभर्सिटी क्षेत्रबाट पार्लियामेन्ट मेम्बर पनि बने। उनी अखण्ड बालब्रह्मचारी रहेछन्। आफ्नो सारा कमाइ परोपकारी कार्यमा लगाउने महापुरुषकोे सुत्ने कोठा, बैठक, भान्सा, डाइनिङ, अध्ययन कक्ष, जन्म कोठाका कुनाकाप्चा सबै चहारेँ मैले। हेर्न–बु‰न केही बाँकी राख्न मन लागेन। त्यसपछि उनको स्याउ बगैँचामा पुगेँ। जुन स्याउको बोटबाट स्याउ झरेको देखेर गुरुत्वाकर्षणको नियम पत्ता लगाए, त्यही बोट अगाडि पुगेर फोटो खिचेँ। लटरम्म स्याउ फलेको उक्त बोटलाई मज्जाले स्पर्श गरेँ। स्याउका दानालाई सुमसुम्याएँ। के भो, के भो मन थाम्न सकिनँ। दायाँबायाँ हेरेर मान्छेको नजर नपरेको मौका पारेर कस्तो न होला भनेर एउटा स्याउ टिपेर कर्याम्म पारी हालेँ। अरु स्याउजस्तै स्वाद भए पनि बेग्लै अनुभुति भयो।

         तुरुन्तै मैले ठूलो गल्ती गरेको महसुस भयो, डर पनि लाग्यो। भुइँमा त्यत्तिकै केही स्याउ लडिरहेका थिए। टोकेको त्यो स्याउ त्यतै फालिदिउँ कि जस्तो लाग्यो। न्युटनको प्रसाद ठानेर त्यसलाई फाल्न पनि सकिनँ। हत्त न पत्त कोटको खल्तीमा लुकाइहालेँ। कसैले देखेर उजुरी गरेको भए अवश्य पनि जरिवाना हुने थियो। प्रहरीको झण्झटमा पर्ने थिएँ होला। धन्न त्यो दुर्घटनाबाट बचेँ। उनको बगैँचावरिपरि घुमीघुमी हेरेँ। फर्केर आएर फेरि गुरुत्वाकर्षणको नियम पत्ता लगाउने त्यो ऐतिहासिक स्याउको बोट हेरेँ। करिब चार सय वर्ष पुरानो हो भनेर पत्याउन सकिने कुनै आधार देखिनँ। न त त्यति पुरानो होइन भन्ने कुनै प्रमाण मसँग थियो। अलमल्ल परेँ।

मनले मानेन। फर्केर गएर न्युटनको घरको मूलढोकामा बसेकी स्वयंसेविकालाई सोधेँ। 'के साँच्चै त्यही रुखबाट स्याउ झरेको देखेर न्युटनले गुरुत्वाकर्षण पत्ता लगाएका हुन् त? स्याउको बोटको आयु पनि त्यति लामो हुन्छ?' 'आजभन्दा करिब दुई सय वर्षअघि आएको आँधीहुरीले उक्त स्याउको बोट ढाल्यो। त्यसको मूलजरा जब्बर रहेछ। त्यही बोटको मूलजराबाट पलाएको स्याउको बोट अहिलेसम्म आँधीहुरी, हिउँ, पानीसँग जुधिरहेको छ। हुरीले भाँचेको स्याउको बोटको काठ रोयल सोसाइटी लन्डनको संग्रहालयमा सुरक्षित राखिएको छ,' जवाफ पाएँ।

       स्वयंसेविकाको यस्तो जवाफ सुनेपछि मसँग थप प्रश्न गर्ने कुनै आधार रहेन। त्यो ऐतिहासिक स्याउको बोट स्पर्श गर्न पाएकोमा आफूलाई भाग्यमानी ठानेँ। तर, मेरो मनमा ज्वारभाटा उठ्यो। गौतम बुद्धको जन्मस्थान मायादेवी मन्दिरछेउमा ऐतिहासिक बोधीबृक्ष थियो। केही वर्षअघि त्यसलाई काटेर कहाँ लगियो पत्तो छैन। त्यसलाई म्युजियममा राख्न सकेको भए प्रशस्त मात्रामा स्वदेशी र विदेशी दर्शन गर्न आउँथे। त्यसले नेपाली रुपैयाँ भन्दा पनि डलर, युरो र पाउन्ड निकै फलाउँथ्यो।

आइज्याक न्युटनको घर हेरेर फर्कने बेला भइसकेको थियो। अचानक नेपालको पहिलो वैज्ञानिक गेहेन्द्र शमशेर राणाको सम्झना आयो। उनको घरलाई पनि यसरी नै संरक्षण गरेर राख्न सके विज्ञान, प्रविधि र अनुसन्धानमा लाग्न नयाँ पुस्तालाई प्रेरणा मिल्ने थियो। किन नेपाल सरकारले यस्ता कुरामा कहिल्यै सोच्दैन? यस्ता कुरा सम्झेर ल्याउँदा सरकारप्रति गुनासो गर्न मन लाग्छ। गुनासोसँगै रिसको पारो एकाएक उकालो लाग्न थाल्छ।

कोटको खल्तीमा अघिदेखि राखेको अमूल्य स्याउ सुरक्षित थियो। गुरुत्वाकर्षणले खल्तीको स्याउलाई पृथ्वीतिर तानिरहेको थियो। मेरो मनले चाहिँ स्याउलाई तानिरहेको थियो। टोकेर राखेको स्याउ खान आतुर मनलाई कम्पाउन्डबाहिर ननिस्कुन्जेलसम्म थुम्थुमाएको थिएँ। कम्पाउन्डबाहिर किन डराउनु? त्यस स्याउमा न्युटनको ट्रेड मार्क थिएन। कोटको खल्तीबाट स्याउ बाहिर निकालेँ। र, ओल्टाइपल्टाइ हेरेँ। न्युटनको प्रसाद सम्झी स्याउ टोक्दै कारपार्कतिर लम्केँ।

प्रकाशित: ११ मंसिर २०७३ ०५:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App