१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

धानको बाला नलागेपछि किसान चिन्तित

घोराही– दाङको देउखुरी उपत्यकामा पर्ने मजगाउँ र टिकुलीगढ क्षेत्रका कृषकले रोपेको धान एक सय दिन बितिसकेपनि पसाउने छाँट नदेखाएपछि किसान आत्तिएका छन्। बाला लाग्ने समयमा धानको बोट फष्टाएको छ तर पसाउने सुरसार नै छैन।

धान खेतमा पटकपटक झार र घाँस केलाएर निकाले पनि धान पनि उही घाँसजस्तै देखिएको छ। लमही नगरपालिका–३ टिकुलीगढ र मजगाउँका कृषक खेतमा रोपेको  ‘गरिमा’ नामको धानमा समस्या देखिएको हो।

छविलाल चौधरीको १५ कट्ठामा खेतमा गरिमा जातको धान रोपेका छन्। तर उनको खेतमा रोपिएको धान पसाएको छैन। अर्का किसान मनिराम आचार्यले पनि आफूले रोपेको धान नपसाएको भन्दै चिन्ता व्यक्त गरे।

‘यो राम्रो धान हो, फल राम्रो लाग्छ, चाँडो पनि पाक्छ भन्थे त्यही भनेर बीउ किनेर ल्याएर रोपेको त यस्तो परेछ’ उनले भने ‘बीउ किन्दा पनि अति राम्रो धान हो भन्दै रोप्न सुझाएकाले रोपेको हुँ। यस पटक धान भित्र्याउने नभई पराल भित्र्याउने अवस्था देखिएको छ।’

मजगाउँका अर्का किसान पुरन चौधरीको व्यथा पनि उस्तै छ। उनले रोपेको धानले एक सय दिन काटिसकेको छ तर पसाउने लक्षण देखिएको छैन। नौ कट्ठामा रोपेको धान खेतमा धान र घाँस बराबर छ। उनले भने,‘धान रोपियो तर, अहिले बाला नै लागेन, यस्तो अचम्म अहिलेसम्म भएको थिएन।’ देउखुरीमा यस्ता थुप्रै किसान छन्, जसले गरिमा धान रोपेका छन्।

 यसपालि धानको बीउले धोका दिएकाले चामल किनेर खाने अवस्था आउने चिन्तामा किसान छन्। पसाउन नसकेको सबै धान गरिमा जातको धान हो। अरु जातको धान सबै ठाउँमा पहेँलपुर भई सक्यो कतै बाला झुलेका छन्। खासमा गरिमा जातको धान २०७२ सालमा नेपाल सरकारले सूचीकृत गरेको बीउ हो।

उक्त जातको धान सालाखाला ९० देखि ९५ दिनभित्र ५० प्रतिशत पसाइ सक्नुपर्ने कृषिज्ञान केन्द्र प्रमुख कृष्णबहादुर बस्नेतले बताए। ‘कृषकको खेतमा धान नपसाएको भन्ने खबर थाहा पाएर खेतमै पुगेर अवस्था बुझेको छु’ उनले भने,‘अब मौसम चिसो हुँदै गएकाले धान पसाउन सम्भावना कम हुँदै गएको छ।’

उक्त जातको धानको बीउ नेपालमा सनराइज एग्रीकल्चर एण्ड रिसर्च सेन्टर टिकुलीगढ दाङले वितरण गरेको होे। धानको बीउ वितरणको विषयमा सनराइज एग्रीकल्चर रिसर्च सेन्टरका प्रमुख सुनिता चौधरीले भारतबाट नै प्याकिङ भई लेभल लगाएर ल्याइएको बताए। रिसर्च सेन्टरले उपलब्ध गराएको तथ्याङ्कअनुसार गरिमा धानको बीउ २१ टन बढी बिक्री भएको देखिन्छ। रासस

प्रकाशित: १६ आश्विन २०७६ ०७:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App