७ वैशाख २०८१ शुक्रबार
खेल

प्रस्तावित रंगशालाको २२ विगाह जमिन गौचरणमा परिणत

प्रस्तावित रंगशाला क्षेत्र। तस्विर:योगेश रावल

टीकापुर - टीकापुर नगर खेलकुद विकास समितिका नाममा रहेको २२ विगाह जमिन सदुपयोग हुन नसक्दा गौचरण बनेको छ। टीकापुर नगरपालिका–५ मा रहेको सो जमिन स्थानीयका गाईवस्तु चर्ने थलो बनेको छ। उक्त जमिन तत्कालिन टीकापुर विकास समितिले २०६६ सालमा निशुल्क उपलब्ध गराएको थियो।

आफ्नो नाममा जमिन आएपछि समितिको पहलमा राष्ट्रिय खेलकुद परिषदले २०६८ सालमा रंगशाला निर्माणका लागि गुरुयोजना बनाएको थियो। गुरुयोजना अन्र्तगत क्रिकेट, फुटवल, ब्याडमिन्टन, पोलो लगायतका खेल मैदान र एकाडेमी भवन समेत रहेका छन्।

सरकारले डिपिआरका लागि आवश्यक बजेट विनियोजन गर्न नमान्दा रंगशाला निर्माणको काम अघि बढ्न नसकेको त्यसमा संलग्न व्यक्तिहरु बताउँछन्। उनीहरुका अनुसार गुरुयोजनाको काम कागजमा थन्किएको छ। नगर खेलकुद विकास समितिका अध्यक्ष लक्ष्मण थापाले डिपिआरका लागि करिव अढाई करोड रुपैयाँ आवश्यक पर्ने बताए। उनले चालु आर्थिक वर्ष २५ लाख रुपैयाँ बजेट विनियोजन भएपनि त्यो रकम प्रयाप्त नभएको बताए।

सो रंगशाला निर्माणमा हालसम्म करिव ६० लाख रुपैयाँ खर्च भैसकेको छ। जसमध्ये २०६४ सालमा झण्डै ४० लाख रुपैयाँ विनियोजन भएको थियो। सो रकम हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। तत्कालिन माओवादी नेता कार्यकर्ताहरुले सो रकम हिनामिना गरेको स्थानीयको आरोप छ। सो रकमबाट खेल मैदानको पश्चिमतर्फ दुई वटा सामान्य गेट र केही ठाउँमा तारजाली निर्माण भएको देखिन्छ।

सो रकम हिनामिना भएपछि सरकारले रंगशालाका लागि बजेट विनियोजन गर्न छोडेको स्रोतको भनाई छ। त्यसपछिका वर्षहरुमा पटक पटक गरी २०÷२२ लाख रुपैयाँ मात्रै बजेट विनियोजन भएको अध्यक्ष थापाले जानकारी दिए। उनले सो रकमबाट सुटिङस्थल निर्माणका साथै फुटवल र भलिवल ग्राउण्ड सम्याउने कार्य सम्पन्न भएको बताए।

‘थोरै बजेट हुन्छ। त्यसले देखिने गरी कुनै काम गर्न सकिएको छैन’ उनले भने–‘प्रयाप्त बजेट अभावले रंगशाला निर्माणको काम अनिश्चित बन्दै गैरहेको छ।’ रंगशालाका लागि छुट्याएको जमिन सदुपयोग नभएको देखेपछि अखिल नेपाल फुटवल संघ (एन्फा) ले चाँसो देखाएको थियो। २०७५ माघ २४ गते एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले स्थलगत निरिक्षण गरेर टीकापुरमा फुटवल टे«निङ सेन्टर स्थापनाका लागि सो जमिन उपलब्ध गराउन आग्रह गरेका थिए।

एन्फा अध्यक्ष शेर्पाले टे«निङ सेन्टर स्थापनाका लागि राखेको प्रस्ताव सकारात्मक भएको बताउँदै समितिका अध्यक्ष थापाले पहल अघि बढाएका थिए। तर सरकारी निकायले आफ्नै पहलमा रंगशाला निर्माण गर्ने भनेपछि एन्फाको आग्रह अस्विकार गरियो।

एन्फाले सो जमिनमा सुदूरपश्चिम प्रदेश स्तरीय टे«निङ सेन्टर स्थापना गर्ने लक्ष्य राखेको थियो। जुन जमिन उसले ४० वर्षका लागि माग गरेको थियो। एन्फाले ४० वर्षपछि निर्माण भएका सबै संरचना समितिलाई हस्तान्तरण गर्ने समेत बताएको थियो। ‘यो साह्रै राम्रो अवसर थियो’ अध्यक्ष थापाले भने–‘जसलाई सदुपयोग गर्न सकिएन।’

समितिले रंगशाला निर्माणका लागि आवश्यक पहल गरिदिन भन्दै सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय सरकारलाई बारम्बार ताकेता गरिरहेको छ। समितिले सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिँह बोहरालाई मागपत्र पेश गरेको छ। रंगशाला निर्माणका लागि दुवै तहबाट चित्त बुझ्दो प्रयास नभएको अध्यक्ष थापाले गुनासो गरे।

उनले तारबार मात्रै गर्न सकेको भए जमिन संरक्षण हुने बताए। स्थानीयले सो ठाउँमा रहेका रुख काटेर मास्न थालेका छन। त्यहाँ साल र सिसमका रुख रहेका छन। त्यस्तै स्थानीयले माटो समेत चोरेर लैजाने गरेका छन। स्थानीयले माटो खन्न थालेपछि खेल मैदानमा ठूल्ठूला खाल्डा समेत परेका छन।

अध्यक्ष थापाले खेलकुदका लागि यति धेरै जमिन देशभरका अन्य कुनै ठाउँमा नभएको दावी गरे। प्रयाप्त जमिन भएर पनि रंगशाला निर्माणमा भैरहेको वेवास्ताले अध्यक्ष थापालाई चित्त दुखाएको छ। उनले टीकापुरलाई राज्यका हरेक निकायले हेपेको महशुस भैरहेको बताए। ‘हामीसँग २५ जना राष्ट्रिय र ७ जना अन्तर्राष्ट्रिय खेलाडी छन’ उनले भने–‘तैपनि हाम्रो कुरा सुनिदैन।’ रंगशाला निर्माण गर्न सके अझै धेरै खेलाडी उत्पादन हुने स्थानीयको अपेक्षा छ।

प्रकाशित: १६ आश्विन २०७६ ०४:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App