४ वैशाख २०८१ मंगलबार
अर्थ

६ वर्षमा पनि बनेन पुल

ओखलढुंगा – ओखलढुंगा सदरमुकामदेखि पश्चिमी भू–भाग हुँदै रामेछापको साँघुटार जोड्ने मुख्य सडक अन्तर्गत पर्ने मान्द्रे दोभानस्थित मोलुङ खोलाको निर्माणधीन पुल अलपत्र अवस्थामा छ। यो पुलको ठेक्का लागेको ६ वर्ष भइसकेको छ। राजेन्द्र निर्माण कम्पनीले दुई वर्षभित्र काम सक्ने गरी २०७० मापुलको ठेक्का पाएको थियो।

तोकिएको समयमा पुल निर्माणको काम नसकेपछि दुईपटक म्याद थप भएको छ। दुई पटकसम्म थपिएको समयभित्र पनि ठेकेदार कम्पनीले पुलको जगसमेत हालेको छैन। दोस्रोपटक थपिएको म्याद २०७६ जेठमा सकिएको थियो।

यो पुलको ठेक्का डडेल्धुराको परशुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउदको निर्माण कम्पनीले पाएको हो। ठेक्का लागेको ६ वर्षमा पुलको जगसमेत निर्माण कम्पनीले नहालेपछि प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले निर्माण कम्पनीका प्रतिनिधि र संघीय सांसद यज्ञराज सुनुवारलगायत सरोकारवालासँग छलफलका लागि बैठक राखेका थिए।

सरोकारवालाको बैठकमा कम्पनीका प्रतिनिधि इन्जिनियर विदुर कँडेलले चालु आर्थिक वर्षभित्र पुलको सबै निर्माण कार्य सक्ने बताएका छन्। तेस्रोपटक म्याद थपका लागि कम्पनीका तर्फबाट इन्जिनियर कँडेलले पत्र बुझाएका छन्। कम्पनीको कार्ययोजना र प्रगति मूल्यांकन गरेर मात्र म्याद थप गरिने वा कारवाहीका लागि सिफारिस गरिने बैठकको निर्णय भएकाले एक साताभित्र कार्ययोजना बुझाउन कम्पनीलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए।

यसअघि पनि उक्त कम्पनीसँग पटकपटक यस्तै सम्झौता भएको सांसद सुनुवारको भनाइ छ। तर कार्यान्वयन नभएको उनले बताए। सम्झौताअनुसार उक्त पुल २०७२ सालमै निर्माण सम्पन्न हुनुपर्ने थियो। तर पुलको डिजाइन फेल भएको भन्दै काम भएन। पाइलिङ प्रविधिबाट निर्माण गरिने उक्त पुल चट्टान नभेटिएपछि ओपन फाउन्डेसनमा निर्माण गर्ने डिजाइन गर्न झण्डै दुई वर्ष लागेको थियो।

ओखलढुंगा सदरमुकामदेखि जिल्लाका पश्चिमी क्षेत्रमा आवतजावत गर्न सर्वसाधारणलाई सास्ती भएको छ। मोलुङ खोलामा वर्षाको बेला यातायातका साधन तर्न नसक्ने भएकाले समस्या भएको हो। जिल्लाका धेरैजसो भूभाग पश्चिमतर्फ पर्दछन्। पुल नबन्दा कटुन्जे कोषहाट, फेदिगुठ, घोराखोरी, रानीवन, सिंहदेवी, लिखु गाउँपालिका र रामेछापको साँघुटार आउन–जान समस्या भएको छ।

पुल माग्दै २५ दिनदेखि अनशन
यसैबीच, बैतडीको झुलाघाट नाकामा पक्की पुल निर्माणमा दबाब दिन रिले अनशन सुरु भएको २५ दिन भएको राससले जनाएको छ। पुल बनाउने विषयमा सरकारी पक्षबाट कुनै पहल नभएकाले अनशन जारी राखेको झुलाघाट पक्की पुल निर्माण संघर्ष समितिका संयोजक नरबहादुर चन्दले बताए।

प्रकाशित: १६ आश्विन २०७६ ०३:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App