coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पाइपबाट २४ घन्टा तेल

काठमाडौं – नेपाल आयल निगमले पाइपबाट २४सै घन्टा डिजेल ल्याउन सुरु गरेको छ। गत भदौ २४ गतेदेखि दैनिक १४ घन्टा इन्धन ल्याइरहेको निगमले मंगलबार आयात समय बढाएर २४ घन्टा पु-याएको हो।

मंगलबारदेखि पाइपबाट २४सै घन्टा डिजेल आयात भइरहेको निगमको अमलेखगन्ज डिपो प्रमुख प्रदीप यादवले बताए। ‘यसअघि दैनिक १४ घन्टा ल्याउँथ्यौं,’ उनले भने, ‘मंगलबारदेखि ननस्टप ल्याइरहेका छौं।’

गत भदौ २४ गते प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मोतिहारी–अमलेखगन्ज अन्तरदेशीय पाइपलाइन उद्घाटन गरेपछि त्यसबाट तेल ढुवानी सुरु भएको थियो।

यादवका अनुसार अहिले पाइपबाट प्रतिघन्टा एक सय ७० किलोलिटर डिजेल ढुवानी भइरहेको छ। तीन साताको अवधिमा १७ हजार किलोलिटर डिजेल ढुवानी भएको छ। अब अक्टोबर ६ सम्म २४सै घन्टा पाइपबाट ढुवानी गर्ने यादवले बताए। ‘६ दिनमा २२ हजार किलोलिटर डिजेल ढुवानी हुन्छ,’ उनले भने, ‘त्यसपछि केही घन्टा रोकेर पुनः चलाउँछौं।’

पाइपबाट आयात नयाँ अभ्यास भएकाले परीक्षण गर्दै अघि बढिरहेको निगमले जनाएको छ। निगमले आइओसीको पटनाबाट पाइपमार्फत डिजेल ल्याइरहेको छ। निगमले पाइपबाट आयात गरेको डिजेलमध्ये दैनिक काठमाडौं ६ सय, विराटनगर आठ सय, भैरहवा र पोखरा ३–३ सय तथा जनकपुर दुई सय किलोलिटरका दरले पठाइरहेको छ। बाँकी अमलेखगन्ज आसपासका जिल्लामा बिक्री भइरहेको छ। पाइपबाट आउनुअघि डेढ सय ट्यांकरले डिजेल आयात गर्थे। पाइपबाट निरन्तर ढुवानी भएपछि व्यवस्थापनमा हम्मे परेको यादवले बताए। ‘स्टोरेज क्षमता कम छ,’ उनले भने, ‘आयात भएको तेल निरन्तर डिपोमा पठाइरहेका छौं।’

प्रकाशित: १६ आश्विन २०७६ ०३:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App