coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

अब नेपालमा ‘युरो–६’ पेट्रोल

काठमाडौं – नेपाल आयल निगमले विश्व बजारमा चलेको सबैभन्दा नयाँ र गुणस्तरयुक्त मानिने पेट्रोल ‘युरो–६’ आयात गर्न सुरु गरेको छ।

इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट युरो–४ मापदण्डको इन्धन ल्याएर बिक्री गर्दै आएको निगमले योभन्दा दुई तहमाथिको पेट्रोल आयात गर्न थालेको हो।

ग्राहकको मागअनुसार पहिलोपटक २० किलोलिटर युरो–६ मापदण्डको पेट्रोल बुधबार भैरहवा आइपुगेको निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए। ‘बुधबार युरो–६ मापदण्डको इन्धन नेपाल भित्रिएको छ,’ पौडेलले भने, ‘अब नयाँ गाडीले युरो–६ इन्धन प्रयोग गर्न सक्छन्।’

आइओसीको मथुरा डिपोबाट निगमले युरो–६ मापदण्डको पेट्रोल ल्याएको हो। इन्धनमा भएको गुणस्तरको आधारमा मापदण्ड तोकिन्छ।

विश्वव्यापी रुपमावातावरण प्रदूषणको चिन्ता बढिरहेको बेलाप्रयोगकर्ताको आवश्यकताकाआधारमाकम प्रदूषण हुने युरो–६ ल्याएर बेच्न थालेको पौडेलले बताए। ‘पेट्रोलियम पदार्थबाट हुने प्रदूषण घटाउन प्रयत्नशील छौं,’ पौडेलले भने, ‘युरो–६ ले यसमा सघाउ पुग्छ।’ उपभोक्ताको मागअनुसार आयात बढाउँदै लैजाने निगमले जनाएको छ।

– निगमले पहिलोपटक २० किलोलिटर तेल ल्यायो
– यस्तो तेल मागगर्नेले किन्नपाउने
– वातावरण प्रदूषण घटाउन सहयोग पुग्ने

युरो–६ मा सल्फरको मात्रा १० पिपिएम हुने भएकाले प्रदूषण निकै कम हुने निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए। ‘युरो–४ भन्दा युरो–६ मापदण्डको तेल निकै गुणस्तरीय छ,’ उनले भने, ‘वातावरण प्रदूषण न्यूनीकरणमा टेवा पुग्छ।’
युरो–४मा ५० पिपिएम सल्फर रहेको गोइतले बताए। गोइतका अनुसार युरो–६ ले माइलेज पनि धेरै दिने भएकाले स्वाभाविक रुपमा प्रयोगकर्ता आकर्षित हुन्छन्। ‘गुणस्तरीय इन्धन प्रयोग गर्दा सवारीको इफिसेन्सी बढ्छ,’ उनले भने।
युरो–६ इन्धन गुणस्तरीय भएकाले सवारी साधनको इन्जिन टिकाउ हुन्छ, कम बिग्रन्छ।

कार्बन उत्सर्जनको मात्रा घटाई वायु प्रदूषण कम गर्न युरो–६ मापदण्डको तेलले सघाउ पुग्छ। सल्फरले कार्बन मोनोअक्साइड उत्पादन गर्ने भएकाले सल्फरको मात्रा कम हुँदा स्वाभाविक रुपमा प्रदूषण कम हुन्छ। ‘विश्वव्यापी रुपमा वातावरण प्रदूषणको मुद्दा उठिरहेको छ,’ गोइतले भने, ‘त्यही भएर आइओसीले पनि आफ्ना रिफाइनरीमा युरो–६ मापदण्डको तेल उत्पादन गरेको हो।’

नेपालमा धेरै सवारी साधन पुराना भएकाले तुलनात्मक रुपमा कम प्रदूषण हुने भए पनि नयाँ भर्सनका गाडीमा जस्तो भने नहुने उनले बताए। गाडी उत्पादक कम्पनीले युरो–६ मापदण्डकै इन्धन प्रयोग गर्ने गरी गाडी उत्पादन गर्न थालेका छन्।

आइओसीले आफ्ना रिफाइनरीको स्तरोन्नति गरेर युरो–६ इन्धन तयार गरिरहेको छ। युरो–६ अहिलेको पेट्रोलको तुलनामा केही महँगो पर्नेछ।

आगामी अप्रिलदेखि भारतले युरो–६ पूर्ण रुपमा प्रयोगमा ल्याउने भएकाले त्यसपछि निगमले पनि सबै युरो–६ मापदण्डको इन्धन प्रयोगमा ल्याउने छ। नेपालमा सन् २०१७ अप्रिलदेखि युरो–४ मापदण्डको इन्धन प्रयोग गर्न थालिएको थियो। त्यसअघि निगमले युरो–३ मापदण्डको इन्धन बिक्री गथ्र्यो। उक्त तेलमा सल्फरको मात्रा ३५० पिपिएम हुन्छ।

प्रकाशित: १६ आश्विन २०७६ ०३:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App