coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

दसैंका उपभोक्ता सस्तो खोज्दै सीमापारि

भैरहवास्थित बेलहिया नाकामा किनमेलका लागि भारतीय बजार सुनौली जाँदै गरेका नेपाली उपभोक्ताको भीड। तस्बिर : मोहम्बद हबिब/नागरिक

बुटवल – दसैं नजिकिँदै गर्दा रुपन्देहीसँग सीमा जोडिएका भारतीय बजारमा नेपाली उपभोक्ताको भीड बढेको छ। चाडपर्वका बेला भएको मूल्य वृद्धिले आत्तिएका नेपाली उपभोक्ताको भीड अहिले सीमावर्ती भारतीय बजार सुनौली र फरेनामा देख्न सकिन्छ।

दसैंलाई लक्षित गरेर बुटवलमै दसैं सस्तो बजार सञ्चालन गरिए पनि किनमेलका लागि भारतीय बजार पुग्नेको संख्या घटेको छैन। तुलनात्मक रुपमा बुटवल बजारमा दसैं किनमेलको चाँप केही बढे पनि भैरहवाको बजार भने अहिले पनि सुनसान छ। तर, भैरहवासँग सीमा जोडिएको भारतीय बजार सुनौली नेपाली उपभोक्ताकै कारण गुल्जार बनेको छ।

नेपालमा खाद्यान्न तथा लत्ताकपडामा अचाक्ली मूल्य बढेपछि दुई–चार रुपैयाँ सस्तो पाइन्छ कि भन्ने आशमा किनमेलका लागि सुनौली आउनु परेको उपभोक्ता बताउँछन्। किनमेलकै लागि दैनिक सात–आठ सय नेपाली भारतीय बजार पुग्ने गरेको इलाका प्रहरी कार्यालय बेलहियाले जनाएको छ। सुनौलीकै एक किराना व्यापारी टोनी जैसवालले अन्य समयको भन्दा दसैंमा कारोबार दुई गुणाले बढ्ने बताए।

दैनिक पाँच–सात सय नेपाली किनमेलका लागि आफ्नो पसलमा आउने गरेको सुरेश जनरल स्टोर्सका जैसववालले बताए। सुनौलीमा रहेका त्यस्ता दर्जनौं किराना पसलमा बिहान बजार खुलेदेखि साँझ अबेरसम्म नेपालीको भीड लाग्छ। दुई–चार रुपैयाँ सस्तोमा सामान पाइने आसमा नेपाली ग्राहक भारतीय बजार पुग्छन्। विशेषगरी चिनी, मरमसला, साबुन, सर्फ, कस्मेटिक सामान र लत्ताकपडाका लागि नेपाली उपभोक्ता भारतीय बजार सुनौली पुग्छन्।

महंगीले चाडपर्व मनाउन सकस भएपछि दुई–चार रुपैयाँ सस्तोमा सामान पाइएला कि भनेर सुनौली आएको पाल्पा झुम्साकी मनमाया थापाले बताइन्। चाडपर्वका बेला स्थानीय बजारमा व्यापारीले सामानको मूल्य मनपर्दी बढाउने तर गुणस्तरमा भने ध्यान नदिएको गुनासो थापाको थियो।

सस्तो र शुलभ मूल्यमा गुणस्तरीय सामान पाइने आसमा सुनौली पुग्ने एकजना ग्राहकले एक पटकमा न्यूनतम पाँच हजारदेखि २५÷३० हजार खर्च गर्ने त्यहींका व्यापारी बताँउछन्। व्यापारीका अनुसार अन्य समयमा दैनिक दुई/अढाई करोडभन्दा बढीको कारोबार हुने सुनौलीमा दसैंका बेला व्यापार तेब्बरले बढ्छ। बाह्रैमास नेपाली ग्राहकको भीड लाग्ने सुनौली बजार तीज, दसैं र तिहारजस्ता ठूला चाडपर्वमा झन गुल्जार हुन्छ। पर्वका बेला रुपन्देहीका अलावा पाल्पा, गुल्मी, अर्घाखाँचीबाट समेत नेपाली लत्तकपडा, कस्मेटिक सामान तथा चिनी, साबुन, सर्फ, बिस्कुट, तेलजस्ता सामान किन्न सुनौली पुग्छन्। रुपन्देहीकै सीमावर्ती पुरानो भारतीय बजार फरेनामा पनि नेपाली ग्राहककै भीड लागेको देखिन्छ।

रुपन्देहीको ग्रामीण तथा दक्षिणी क्षेत्रका बासिन्दा दैनिक उपभोग्य वस्तु खरिदका लागि यो बजार पुग्ने गर्छन्। उपभोक्ता फेन्सी कपडा र जुत्ताचप्पलका लागि भने  बुटवल भैरहवाकै बजारमा भर पर्छन्। तर, कस्मेटिक, किराना सामान र कुर्ता सुरवाल, सारी, सुती कपडाका लागि थुप्रै नेपाली उपभोक्ता भारतीय बजार पुग्छन्। बुटवलमा कपडाको भेराइटी पाइए पनि व्यापारीले मनपर्दी मूल्य लगाउने गरेको गुनासो शंकरनगरकी तुलसा सापकोटाले गरिन्।

बुटवल, भैरहवा तथा अन्य स्थानीय बजारमा चाडपर्वका बेला हरेक वस्तुको मूल्य वृद्धि हुन्छ। चाडपर्वका बेला गरिने बजार अनुगमन पनि प्रभावकारी देखिएको छैन। अनुगमन गर्ने निकायले दुई/चार दिन अनुगमनको झारा टारे पनि कालोबजारी, मिसावट तथा मनपर्दी मूल्य असुल्ने व्यापारीलाई कारबाही नगर्दा तीनको मनोमानी बढ्छ। जसका कारण वस्तुको गुणस्तर, पसलैपिच्छे फरक र चर्को मूल्यको मारमा आमउपभोक्ता परेका छन्। तीनै उपभोक्ता सस्तोमा सामान खोज्दै सीमावर्ती भारतीय बजार पुग्छन्। त्यसको सिधा असर बुटवल भैरहवाको समग्र व्यापारमा परिरहेको छ। चाडपर्वको मौका छोपेर गरिने मूल्य वृद्धि र वस्तुको गुणस्तरमा ध्यान नदिने प्रवृत्ति बदल्न सके किनमेल गर्न भारतीय बजार पुग्ने उपभोक्तालाई बुटवल भैरहवाकै बजारमा रोक्न सकिने बताउँछन् उपभोक्ता मञ्च नेपाल रुपन्देही शाखाका अध्यक्ष लक्ष्मण बैदवार।

सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले महंगी बढ्नुको मुख्य कारण व्यापारी नभई सरकारी नीति भएको बताए। तीनवटा सरकारले लिने कर तथा आयातित सामानको भन्सार दर उच्च हुँदा बजारमा महंगी बढ्नु स्वभाविक भएको प्रतिक्रिया न्यौपानेले दिए। ‘कहीं कतै व्यापारीले बदमासी गरेका छन् भने अनुगमन गरी कारबाही गर्ने अधिकार प्रशासनलाई छ। अनुगमन गरियोस र गलत गर्नेलाई कारबाही गरियोस त्यसमा हामीले सहयोग गर्छौं,’ न्यौपानेले भने। अनुगमनका नाममा झारा टार्ने काम मात्रै गरेर दोष जति व्यापारीको थाप्लोमा नहाल्न पनि उनले आग्रह गरे।

प्रकाशित: १६ आश्विन २०७६ ०२:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App