coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

उद्योगबाट करोडौेंको फलामे डन्डी चोरी

बारा - भदौ ३१ गते बिहानै इलाका प्रहरी कार्यालय जितपुरको टोलीले जितपुर बजार क्षेत्रबाट चोरीका डन्डीसहित ना४ख १५५८ नम्बरको ट्रकलाई नियन्त्रणमा लिन सफल भयो। महम्मद समिर अन्सारीसँग बिक्री गरिरहेको अवस्थामा चोरीको आशंकामा ट्रकमा लोड गरिएको ३६ टन ७ क्विन्टल फलामे डन्डी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।

नियन्त्रित ट्रकमा लोड गरिएको फलामे डन्डी सिमरामै रहेको जगदम्बा स्टिल उद्योगबाट उत्पादन गरिएको र त्यसबारे थप अनुसन्धान गर्दा उद्योगकै कर्मचारीको मिलेमतोमा उद्योगबाट ट्रकमा लोड गरी ती डन्डी बाहिरिएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले बताए।

उद्योगमा तौल गर्ने कर्मचारीको मिलेमतोमा सो डन्डी उद्योगबाट चोरी गरिएको र त्यसमा वर्षौंदेखि ठूलो गिरोह सक्रिय रहेको अनुसन्धानबाट खुलेको छ।

डन्डी चोरी गरिएको अभियोगमा सुरुमै अन्सारीसँग पक्राउ परेका ट्रकचालक सन्दीप रायभरसँग घटनाबारे बुझ्दा ट्रकमा लगभग ३३ टन लोड गर्नुको साटो ३७ टन ७ क्विन्टल लोड गरिएको प्रहरी नायब उपरीक्षक पुरीले बताए। उद्योगमा तौल गर्ने कर्मचारीको मिलेमतोमा सो डन्डी उद्योगबाट चोरी गरिएको र त्यसमा वर्षौंदेखि ठूलो गिरोह सक्रिय रहेको अनुसन्धानबाट खुलेको उनले बताए।

ट्रकचालक सन्दीप रायभर र डन्डी खरिद गर्ने महम्मद समिर अन्सारीसँग उद्योगबाट डन्डी लोड गरी निस्कने ढुवानीका साधनलाई तौलने सुभाष खत्री र संजोग प्रसादलाई पक्राउ गरिएको र घटनामा संलग्न उद्योगमै कार्यरत दुईजना भारतीय विद्यानन्द यादव र आलोक बर्मा फरार रहेको पुरीले बताए। चोरिएका डन्डी चोर समूहले उद्योगले तोकेको मूल्यभन्दा आधा सस्तोमा बिक्री गर्ने गरेको पुरीले जानकारी दिए। उनका अनुसार चोरिएका डन्डी स्थानीय ठेकेदार र निर्माण व्यवसायीलाई बढी मात्रामा बिक्री गरिँदै आएको थियो।

जगदम्बा स्टिलका निर्देशक अनुराग शर्माले वर्षौंदेखि उद्योगबाट ठूलो परिमाणमा डन्डी चोरी गरिँदै आए पनि चोरी गर्ने गिरोहलाई पक्राउ गर्न नसकिएको बताए। उद्योगबाट उत्पादित डन्डी बिक्री गर्दै जाँदा वर्षको अन्त्यतिर ठूलो परिमाणमा घट्ने गरेको र उत्पादित डन्डी कसरी घटेकोबारे उद्योगभित्रै आन्तरिक रूपमा अनुसन्धान भए पनि पत्ता लाग्न नसकेको शर्माले बताए।

जगदम्बा स्टिल उद्योगबाट मात्रै अहिलेसम्म ४२ सय टन डन्डी चोरी भएको उद्योगका सञ्चालक पवनबाबु गुप्ताले जनाए। जगदम्बा स्टिलबाट डन्डी चोरी भएको एउटा उदाहरण मात्र हो। वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा रहेका दाल, चामल, तेल, सिमेन्टलगायत उद्योगबाट कुनै न कुनै माध्यमले चोर समूहको सक्रियतामा ठूलो परिमाणमा चोरी गरिँदै आएको हुनसक्ने बारा प्रहरीले जनाएको छ।

प्रकाशित: १६ आश्विन २०७६ ०२:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App