८ वैशाख २०८१ शनिबार
अर्थ

चीनबाट ६२ हजार किलो प्याज आयात

रसुवा – भारतबाट प्याज आयात रोकिएपछि रसुवागढी नाका हुँदै चीनबाट आयात गर्न थालिएको छ। यसपटक ६२ हजार पाँच सय ८० केजी प्याज आयात भएको रसुवागढी भन्सार कार्यालयले जनाएको छ। दुई दिनमै ३१ लाख ९३ हजार ६ सय २१ रुपैयाँ मूल्य बराबरको प्याज आयात भएको कार्यालयको तथ्यांक छ।

रसुवागढी नाकाबाट यसअघि लसुन मात्रै आयात हुने गरेको थियो। यसपटक भने प्याज पनि आयात भएको छ। यसअघि पनि प्याज आयात भएको हुनसक्ने प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले बताए। ‘ठूलो परिमाणमा चाहिँ यसपटक आयात भएको हो,’ उनले भने, ‘यसअघि पनि सानो परिमाणमा आयात भएको हुनसक्छ।’

मागको तुलनामा नेपालमा प्याज उत्पादन भएको छैन। जसका कारण भारतबाट प्याज आयात हुने गरेको छ। भन्सार विभागको तथ्यांकअनुसार भारतबाट ९५ प्रतिशत र चीनबाट पाँच प्रतिशत प्याज आयात हुन्छ।

गत आर्थिक वर्ष ०७५/७६ मा भारत र चीनबाट १६ करोड ७९ लाख केजी प्याज आयात भएको थियो। नेपालीको भान्छामा पाक्ने कुल प्याजको परिमाणमध्ये झण्डै ९८ प्रतिशत आयात हुने गरेको विभागले जनाएको छ।

२०७१ देखि रसुवागढी नाकामा कारोबार सुरु भएको हो। त्यसयता चीनबाट तेल, फलफूल, रेडिमेड सामग्री, इलेक्ट्रिक सामग्री, निर्माणका सामग्री आयात हुँदै आएको छ।

यो सिजनमा भने दसैं तिहारका लागि आवश्यक पर्ने सामग्रीको आयात बढेको छ। रसुवागढी नाकालाई चीनले २०७४ भदौ १४ गते अन्तर्राष्ट्रिय नाका घोषणा गरिसकेको छ।

चीनबाट तयारी कपडा, स्याउ, लेडिज सेन्डल, रबर, प्लास्टिकका जुत्ता चप्पल, हाते झोला, छालाको जुत्ता, मोटरको ब्याट्री, युपिएस, प्लास्टिकका सामग्री आयात हुने गरेको छ।

नेपालबाट चीनतर्फ धातुको मूर्ति, काठका सामग्री, अम्रिसोको कुचो, बाँसको मुडा, मेहन्दी, दन्तमन्जन, शृंगारका सामान, चाउचाउ, पास्ता, जुस, जाम, चकलेट, उनीका गलैंचा, कार्पेट, चुइगम, हेयर आयल, हेयर क्रिमलगायत मुख्य वस्तु निकासी भइरहेको छ।

२०७१ देखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक दुई सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका छन्। चीनले अन्तर्राष्ट्रिय नाकाको रुपमा घोषणा गरेसँगै सीमामा व्यापारी, व्यावसायी र सवारीको चाप बढ्दै गएको छ।
रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ।

प्रकाशित: १६ आश्विन २०७६ ०२:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App