coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

एपिएफ र रुपन्देहीलाई अवसर

झापा- सशस्त्र प्रहरीको एपिएफ क्लब र रुपन्देही–११ यी दुवै टोलीलाई नेपाली फुटबलको ठूला प्रतियोगितामा हम्मेसी उपाधि दाबेदार मानिँदैन। तर, यसपटक झापामा जारी सहारा सुरुङ्गा गोल्डकपमा दुवै टोलीले नेपाली फुटबलका सदाबहार बलिया टोलीहरूलाई हराउँदै आफूलाई उपाधि दाबेदार बनाएका छन्।

त्यसैले शनिबार सुरुङ्गा माविको मैदानमा फाइनल भिड्न उत्रँदा दुवै टोलीसामू उपाधि जित्ने स्वर्णिम अवसर मात्रै हुने छैन। साथमा परम्परागत शक्तिशाली टिमलाई पछि पारेको गौरव पनि उनीहरूसँग हुनेछ। यो सुखद क्षण  कुन टोलीले आत्मसात गर्ला? यसका लागि फाइनल कुर्नैपर्छ। तर, उपाधि दौडका दुवै टोली आफूलाई हकदार दाबी गरिरहेका छन्। दुवैको दाबी बलशाली किन पनि छ भने उनीहरूले यसै मैदानमा नियमित उपाधि विजेता टोलीहरूलाई माथ दिइसकेका छन्। आफू उपाधि जित्न हकदार भएको दाबी पेश गरिरहँदा दुवै टिम र त्यसको व्यवस्थापनले विपक्षी टोली बलियो रहेको पनि स्विकारेका छन्। यसले दुवै टोली एकअर्कासँग चनाखो बनेको देखाउँछ।

दुवैले फाइनलसम्म यात्रा गर्दाको  प्रदर्शन केलाउँदा रुपन्देहीले एक खेलमा आत्मविश्वासी जित दर्ता गरेको थियो भने अर्कोमा भाग्यको साथ पाएको थियो । तर, एपिएफ भने दुवै खेलमा भाग्यमानी साबित हुँदै फाइनल पुगेको हो। एपिएफले निर्धारित समयमा विपक्षी पोस्टमा गोल गर्न सकेको छैन। सुखद संयोग टोलीले गोल खाएको पनि छैन। पेनाल्टी सुटआउटमा पनि आफ्नो प्रयासले भन्दा पनि टोलीले विपक्षी खेलाडीको गल्तीको फाइदा बढी पाएको छ। तर, फाइनल आफ्नै प्रदर्शनको बलमा जित्ने आशामा एपिएफ मैदानमा ओर्लने टिम व्यवस्थापनको भनाइ छ। दुई टोलीको भेट गत वर्ष विराटचोकमा भएको थियो, जहाँ फाइनलमा एपिएफले रुपन्देहीलाई हराएको थियो।

सुरुङ्गा गोल्डकपको चौथो संस्करणमा नेपालका तीनवटै विभागीय टोली सहभागी थिए। शक्तिशाली मानिने नेपाल पुलिस र त्रिभुवन आर्मीले यात्रा जारी राख्न सकेनन्। विभागीय टोलीमध्ये कान्छो एपिएफले आफूलाई उपाधि नजिक पुर्‍याइसकेको छ। त्यसक्रममा एपिएफले सेमिफाइनलमा नेपाल पुलिसलाई नै हराएको हो। 'प्रतियोगितामा हाम्रो यात्रा सफल भइरहेको छ,' एपिएफका प्रशिक्षक रत्नकाजी महर्जनले शुक्रबार नागरिकसँग भने, 'अब यस्तै सफलता फाइनलमा पनि दोहोर्‍याउने दाउमा छौं। हामी सक्दो प्रयास गरेर उपाधि जित्ने कोसिसमा हुन्छौं।'

प्रशिक्षक महर्जनले यस्तो दाबी गरे पनि उनका लागि सबैभन्दा ठूलो टाउको दुखाइको विषय एउटै छ। प्रतियोगिताभर कोही पनि स्ट्राइकर चल्न सकेका छैनन्। राष्ट्रिय फुटबल टोलीका चार स्टार खेलाडी अञ्जन विष्ट, रञ्जन विष्ट, राजेन्द्र रावल र आदित्य चौधरीसहितको टोलीले सुरुङ्गामा  खेलेको दुईवटै खेलमा निर्धारित समयमा एउटै पनि गोल गर्न सकेको छैन।

पहिलो खेलमा रमपम झापा–११ लाई टाइब्रेकरमा ५–४ ले हराएर सेमिफाइनल यात्रा तय गरेको एपिएफले पुलिसलाई पनि टाइब्रेकरमै ५–४ ले हराएको थियो। मिडफिल्डमा बल आफूसँगै राखिरहन सके पनि टोलीका स्ट्राइकरले विपक्षी पोस्टमा गोल दाग्न सकेका छैनन्। 'हो, हामीले निर्धारित समयमै गोल गर्न सकेका छैनौं,' प्रशिक्षक महर्जनको आशा छ, 'तर, फाइनलमा त्यस्तो हुने छैन। किनभने अब हाम्रो टिम कम्बिनेसन मिलिसकेको छ।'

राष्ट्रिय टोलीका खेलाडीहरू लामो समय टिममा उपलब्ध नहुँदा सेट नमिलेको तर अब त्यो समस्या नरहेको उनको भनाइ छ। एपिएफका लागि बलियो रक्षापंक्ति र भरपर्दो फरवार्डलाइन उपलब्ध छ। त्यसैले टोली उत्साही छ।

कप्तान मिलन राई आफूले गोल गर्न नसकेको पनि गोल नखाएकाले खुसी छन्। 'यो हाम्रो टिमको स्ट्रेन्थ हो,' उनले भने, 'तर, फाइनलमा हामी निर्धारित समयमै गोल गर्नेछौं। रञ्जन र अञ्जनबाट ठूलो अपेक्षा छ।' उनले आफूहरू सुरुदेखि नै आक्रामक भएर खेल्ने खुलाए।

उपाधि होडमा रहेका दुई टोलीमध्ये उच्च मनोबल कोहीसँग छ भने त्यो रुपन्देही–११ सँग नै हो। आन्तरिक प्रतियोगिताहरू नभएको मौकामा फुर्सदिला बनेका राजधानीका टिमले खेलाडी खुला छाडेका छन्। त्यसैले  रुपन्देहीले बलियो टोली बनाउन सकेको छ। अझ सेमिफाइनलदेखि टिमसँग जोडिन आइपुगेका राष्ट्रिय टोलीका दुई स्टार खेलाडी विमल घर्तीमगर र विक्रम लामाको उपस्थितिले टोलीको मनोबल झनै बलियो पारेको छ। राष्ट्रिय टोलीकै सदस्य रजिन धिमाल पनि रुपन्देहीकै लागि खेलिरहेका छन्। 'हाम्रो मनोबल उच्च छ, त्यसैले मैदानमा ओर्लंदा हामी उपाधि जित्ने आत्मविश्वासमा हुनेछौं,' कप्तान दिलीप क्षेत्रीले नागरिकसँग भने 'हामीले खेलमा होस् या टाइब्रेकरमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छौं। यसलाई फाइनलमा निरन्तरता दिनेछौं।'

त्रिभुवन आर्मीविरुद्ध पहिलो खेल खेल्न मैदानमा ओर्लंदा रुपन्देहीलाई कमजोर आँक्ने नै बढी थिए। किनभने रुपन्देहीसँग भन्दा आर्मीसँग अनुभव र शक्ति दुवैको बलियो बिरासत थियो। भरत खवास, नवयुग श्रेष्ठ जस्ता स्टार खेलाडीको साथ रहेको आर्मीलाई जब रुपन्देहीले २–१ ले पाखा लगायो, उसलाई उपाधि दाबेदार मान्नेहरू ह्वात्तै बढे। कुनै बेला मनाङ तथा अन्य ठूला क्लबबाट खेलिसकेका दीपक राई एक्लैले दुई गोल गरेर रुपन्देहीलाई सेमिफाइनलमा पुर्‍याए। सेमिफाइनलमा प्रतियोगिताकै बलियो मानिएको लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दीलाई गोलरहित बराबरीमा रोक्दै टाइब्रेकरमा ४–३ ले स्तब्ध पार्‍यो र रुपन्देही फाइनल पुग्यो। राजधानीका कहलिएका टोलीको दबदबा रहेको प्रतियोगितामा रुपन्देही मोफसलको सफल टोलीमा पनि दरियो। 

सहभागी ८ मध्ये मोफसलबाट झापाका दुई र रुपन्देही गरी तीन टोली थिए। मोफसलको टोली भएकै कारण दर्शकको बढ्दो सहानुभूति रुपन्देहीलाई नै रहनेछ। 'विमल घर्तीमगर र दीपक राईको समन्वय मिलाउँदा हामीलाई रोक्न विपक्षीलाई गाह्रो छ,' टिम म्यानेजर जग्गुनाथ खड्काले भने, 'खेलको ९० मिनेटभित्र जस्तो नतिजा निकाल्न पनि हाम्रो टोली सक्षम छ। तर, हामी फाइनललाई सहज रूपमा लिँदैनौं।'

उनले बलियो रक्षापंक्ति आफ्नो प्रमुख हतियार भएको बताउँदै सेमिफाइनलदेखि फरवार्डलाइन पनि उत्तिकै सशक्त बनेको बताए।

प्रकाशित: ११ मंसिर २०७३ ०३:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App