coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बाबुबाट कठोर यातना पाएका बालबालिकाको अभिभावकत्व स्थानीय सरकारले लिने

सोलुखुम्बु– बाबुबाट पटक पटक कठोर यातना भोगेका थुलुङ दुधकोशी गाउँपालिका ६ मुक्लिका बालबालिकालाई स्थानीय सरकारले अभिभावकत्व दिने भएको छ। बाबु तिर्थ राईले दुई छोरी र एक छोरालाई मदिराले लठ्ठ भएपछि मध्यरातीमा कठोर यातना दिने गरेको जेठी छोरी अपना राईको उजुरीपछि घटना बाहिर आएपछि गाउँपालिकाले पीडित बालबालिकाको शिक्षा र पालनपोषण खर्च व्यहोर्ने गरि अभिभावकत्व ग्रहण गर्ने जनाएको छ।

बुधबार प्रमुख प्रशासकीय अधिकृत अविलाल राईद्धारा जारी विज्ञप्तीमा बाबुबाट मानवीय यातना र कुटपिट पछि घाइते ९ बर्षिय संयोग राईको उपचारमा सहयोग गर्ने र अभिभावकत्व प्रदान गर्ने उल्लेख गरिएको छ। गाउँपालिका अध्यक्ष असिम राईले अमानवीय क्रियाकलापमा संलग्न बाबुलाई न्यायीक समितिमा छलफल गराई तत्कालको लागि छोडिएको भए पनि व्यवहार नसुधारे कानुनी प्रक्रियामा अघि बढाइने बताए। घटनाबारे जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएको र पीडित बालबालिकालाई गाउँपालिकाले अभिभावकत्व प्रदान गर्ने अध्यक्ष राईको भनाई छ। 

छोरी अपनाले वडा नं ६ कार्यालयमा उजुरी दिएपछि न्यायीक समितिमा छलफल गराईएको थियो। सो छलफलमा बाबुले यातना दिएको सहजै स्वीकार गरेका थिए। बाबुको यातनाबाट ढाडमा चोट पुगेका कान्छो छोरो संयोगको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ। मदिराले मातेर सुतिसकेका आफ्ना सन्तानलाई मध्यराती जुवामा नारेर तान्न लगाउने र कुट्ने तथा उल्टो झुण्डाएर खुर्सानीको धुनी बाल्ने, जाँतो बोकेर सयौँ पटक उठबस गर्न लगाउने, भाडा माझ्ने जालीले रडटेर छाला फाल्ने र नुन खुर्सानी दलिदिने, दुवै हात पछाडी बाँधेर कुट्ने जस्ता कठोर यातना दिँदै आएको पीडित बालबालिकाले बताएका छन्। 

निरन्तरको पीडा खप्न नसकेर अपना दिदीबहिनी फुपाजुको घरमा बस्दै आएका थिए भने कान्छो भाई बाबु र सानिमा संगै बस्दै आएका थिए। जन्मदिने आमा अर्कैसंग भागेपछि बाबुले दोस्रो विहे गरेका थिए। सानिमा ल्याएपछि कठोर यातना शुरु भएको पीडित बालबालिकाको भनाई छ।

प्रकाशित: १५ आश्विन २०७६ १४:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App