४ वैशाख २०८१ मंगलबार
खेल

फुटबलको महाशक्ति बन्ने चिनिया उद्देश्य

बर्लिन- चीनले विश्व फुटबलको महाशक्ति बन्ने उद्देश्यमा शुक्रबार जर्मनीसँग फुटबलीय आदान प्रदानको सम्झौता गरेको छ। फुटबललाई निकै माया गर्ने जर्मन चान्सलर एन्जेला मोर्केल र चीनका राष्ट्रपति सी जिनपिङबीचको कुराकानीपछि पाँचवर्षे सम्झौता भएको हो। 'दुई देशबीच निरन्तर रूपमा फुटबल विकासका विभिन्न पक्षमा आदान प्रदानका कार्यक्रम हुने समझदारी भएको छ,' जर्मन फुटबल संघ (डिएफबी) ले बर्लिनमा सम्झौता भएपछि विज्ञप्तिमार्फत जनाएको छ, 'खासमा यो सम्झौताको उद्देश्य भनेको चिनिया फुटबललाई सहयोग गर्ने हो। यसअन्तर्गत चिनिया खेलाडी, प्रशिक्षक र रेफ्रीलाई विशेष प्रशिक्षण उपलब्ध गराइने छ। सँगै घरेलु लिग संरचना स्थापना, आयोजना तथा अन्य प्रशासनिक विषयमा पनि विशेषज्ञ सहयोग उपलब्ध गराइने छ।'

चीनले जर्मनीबाट विशेषज्ञताको सहयोग लिनेछ भने बुन्डेसलिगाका क्लबहरूलाई चीनले प्रायोजन तथा अन्य बजार प्रवर्द्धनका लागि व्यवस्था गर्नेछ।

सम्झौतापत्र हस्ताक्षर समारोहमा उपस्थित चिनिया उपराष्ट्रपति लिउ यान्डोङले फुटबलीय आदानप्रदानको विषयमा निष्कर्षमा पुग्नु 'मेरो जर्मनी भ्रमणको महत्वपूर्ण पक्ष हो' भनिन्। 'विश्व फुटबलमा जर्मनी एउटा महान् देश हो। चीनले यहाँबाट धेरै कुरा सिक्न सक्छ,' उनले आर्थिक दैनिक हान्डेल्सब्लाटमा शुक्रबार प्रकाशित अन्तरवार्तामा भनेकी छन्।

आर्थिक, राजनीतिक तथा सैन्य क्षेत्रमा विश्वमा अग्रणी देशको पहिचान स्थापित गरिसकेको चीनले पछिल्लो समय फुटबलमा सफलताको तीव्र भोक प्रदर्शन गर्दै आएको छ। बेइजिङ २०५० सम्म चीनलाई विश्व फुटबलको महारथीमा रुपान्तरण गर्न चाहन्छ। त्यसका लागि २०२० सम्ममा ५ करोडलाई फुटबल खेलाउने उनीहरूको योजना रहेको चिनिया फुटबल संघले अप्रिलमा जनाएको थियो।

२०११ मा सी उपराष्ट्रपति हुँदा उनले चीनको फुटबल भविष्यका लागि तीनवटा चरण सुझाएका थिए, विश्वकपमा छनोट हुने, विश्वकप आयोजना गर्ने र विश्वकप जित्ने।

पछिल्ला केही वर्षमा चीनबाट युरोपेली फुटबलका लागि अर्बौं डलर खर्च भइरहेका छन्। क्लब, खेलाडी, प्रशिक्षक वा अन्य क्षेत्रमा ठूल्ठुला प्रायोजन गरेसँगै चिनिया लगानीकर्ताले इटालीमा एसी मिलान र इन्टर मिलान, इङ्ल्यान्डमा म्यानचेस्टर सिटी र स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडजस्ता टोलीमा समेत लगानी गरेका छन्।

चीनमा रहेको असीमित फुटबल बजारको सम्भावनाबाट जर्मनी पनि प्रभावित छ। डिएफबीका महासचिव फ्रेडेरिच कोर्टियसले नोभेम्बरमा भनेका थिए, '२०१४ को विश्वकप जर्मनीको कुल जनसंख्याभन्दा बढी चिनिया समर्थकले हेरेका थिए। जबकि चीनको समयअनुसार खेल बिहान ३ बजे सुरु भएको थियो।'

यसैगरी विश्व विख्यात खेलकुद सामग्री उत्पादक जर्मनीको एडिडासका पूर्व मालिक तथा बायर्न म्युनिख सल्लाहकार समितिका सदस्य हेर्बेट हेइनरले भविष्यमा बुन्डेसलिगाका खेलहरू विदेशमा पनि हुनसक्ने बताएका छन्। त्यसमा चीन सबैभन्दा उपयुक्त गन्तव्य हुने उनको भनाइ थियो।

प्रकाशित: ११ मंसिर २०७३ ०३:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App