८ वैशाख २०८१ शनिबार
समाज

तरकारीवालीलाई स्नातकोत्तरसम्म छात्रवृत्ति

चितवन- तरकारीवालीका रुपमा संसारभर परिचय बनाउँदै भाइरल बनेकी गोरखाकी कुसुम श्रेष्ठलाई स्नातकोत्तर तहसम्म अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिएको छ। कुसुम अध्ययनरत चितवनको रत्ननगरस्थित क्वेस्ट मोडल कलेजमा एक कार्यक्रम आयोजना गरी नेपाली फिल्म निर्माण कम्पनी पपुलर मल्टी मिडियाले कक्षा ११ र १२ को लागि क्वेस्ट कलेजसँगको सहकार्यमा छात्रवृत्ति प्रदान गरिएको हो। त्यस्तै, काठमाडांैको बबरमहलस्थित नेपाल मेघा कलेजको सहकार्यमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनको पूर्ण छात्रवृत्ति प्रदान गरिएको हो।

शिक्षण शुल्क तथा छात्रवृत्ति प्रदान कार्यक्रममा काठमाडांैबाट पपुलर मल्टी मिडियाका अध्यक्ष शक्तिवल्लभ घोरासैनी, पपुलर मल्टी मिडियाले बनाउँदै गरेको फिल्म 'लम्फू'का निर्देशक गोपालचन्› लामिछाने, फिल्म निर्माता पुनम क्षेत्री गौतम, कलाकार सञ्जीत भण्डारी, वरिष्ठ साहित्यकार एलबी क्षेत्री, कुसुम श्रेष्ठका काका गोपीलाल श्रेष्ठ, क्वेस्ट मोडल कलेजका प्रिन्सिपल जगदीशचन्› शर्मा लगायत उपस्थित थिए।

छात्रवृत्ति पाइसकेपछि तरकारीवाली तथा कुसुम श्रेष्ठले आफ्नो लागि यो सहयोग अतुलनीय रहेको बताइन्। 'यो सहयोग मेरो लागि अतुलनीय छ। उहाँहरुको चाहना अनुरुप मैले उच्च शिक्षा प्राप्त गर्न निरन्तर मेहनत गर्नेछु। अहिले मेरो प्रमुख प्राथमिकता भनेको अध्ययन नै हो।'

उनले आफू निम्न आर्थिक अवस्थामा रहेको समयमा यो सहयोग निकै ठुलो रहेको बताइन्। 'उच्च शिक्षासँगै देशको नाम पनि राखेर मेरो देशको र मेरा बाबाआमाको सपना साकार पार्नेछु,' कार्यक्रममा उनले भनिन्।

आयोजक तथा पपुलर मल्टी मिडियाका अध्यक्ष शक्तिवल्लभ घोरासैनीले उनको पढ्ने चाहनालाई केही सहयोग गर्न पाउँदा खुसी लागेको बताए। 'हामी अत्यन्तै खुसी छौं। पेशा जुनसुकै अँगाले पनि उच्च शिक्षाले नै उनको भविष्य निर्धारण गर्छ। यसकारण पनि हामीले उनलाई उच्च शिक्षाको छात्रवृत्ति प्रदान गरेका हौं,' घोरासैनीले बताए।

नेपाल फिल्म निर्देशक समाजका महासचिव तथा निर्देशक गोपालचन्› लामिछानेले कुसुमलाई आफूले 'लम्फू' फिल्ममा उनलाई सुहाउने भूमिका रहेकोले अफर गरेको बताए। 'कुसुमलाई सुहाउने भूमिकामा हामीले अफर गरेका थियौं तर उहाँले पहिले पढ्ने मनसाय व्यक्त गर्नुभयो। पहिले शिक्षा र पछि जुनसुकै क्षेत्र रोज्न सक्ने भनेपछि हामीले उनलाई छात्रवृत्ति दिने बारेका निर्णय गरेका हौं,' निर्देशक लामिछानेले भने, 'उनको उच्च शिक्षाको लागि यो हाम्रो सानो सहयोग हो।'

निर्माता पुनम क्षेत्री गौतमले 'अवसर आयो भन्दैमा हाम फाल्न पनि नहुने र अवसरलाई नबुझी लत्याउन पनि नहुने' बताइन्। गौतमले कुसुमले चाहेको खण्डमा मोडलिङ क्षेत्रमा आफूले सहयोग गर्ने प्रतिवद्धता जनाइन्।

केही समय अगाडि कुसुमले तरकारी बोकेर हिँडिरहेको अवस्थामा खिचिएका दुई तस्बिर संसारभर भाइरल बनेका थिए। उनका फोटोमा 'तरकारीवाली' ट्याग लगाउँदै विश्वभरका करोडौँ मानिसले सामाजिक सञ्जालहरुमा सेयर गरेका थिए।

स्मरण रहोस्, निर्माणाधिन 'लम्फू'का लागि एक भूमिकामा कुसुमलाई अभिनयको अफर पनि गरिएको थियो तर, कुसुमले आफूले पहिलो प्राथमिकता अध्ययनलाई दिएको भन्दै अस्वीकार गरेकी थिइन्। उनले एक साप्ताहिक पत्रिकाको लागि ब्लोअप फोटो खिचाएपछि आलोचनाको पात्र पनि बनेकी थिइन्।

प्रकाशित: ११ मंसिर २०७३ ०२:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App