७ वैशाख २०८१ शुक्रबार
अन्य

दसैँमा इन्टरनेट बन्द

शीर्षक पढ्दा अचम्म लाग्यो होला तर अचम्म नमान्नुस् । यसो हेर्दा सबैलाई हाँसो पनि उठ्न सक्छ । शुरुमा जब मैले यो शीर्षक सोचेँ, एक हिसाबले हाँसो पनि उठ्यो तर गहिरिँदै गएँ र घोत्लिन थालेँ, दसैँलाई यादगार बनाउने हो भने सबैले इन्टरनेटलाई बन्द गर्नुपर्छ भन्नेमा म पक्का हुँदै जान थालेँ ।

हाम्रो समाज जति–जति आधुनिकतातिर बढ्दै गइरहेको छ, उति–उति हाम्रा मान्यताहरु छोड्दै गइरहेका छौँ । इन्टरनेटको जति फाइदा छ, यसको समुचित उपयोग गर्न नजान्दा उति नै बेफाइदाहरु पनि हामीले बेहोरिरहेका छौँ । खासगरी, हाम्रोजस्तो विकाशोन्मुख देशले त यसको उचित प्रयोग गर्न नजान्दा इन्टरनेट एउटा अफिमको लतजस्तो बन्न पुगेको छ । त्यहाँ हामी लठ्ठिनेबाहेक केही गर्न नसकेको हो कि भन्ने भान हुन थालेको छ ।

इन्टरनेट मानिस जोड्ने साधन हो कि भएको सम्बन्ध पनि बिगार्ने भन्ने कुरालाई गम्भीर भएर सोच्ने बेला आइसकेको छ । छोराछोरी रातभर इन्टरनेटमा गेम खेलेर, स्पोर्ट्स हेरेर बिहान ढिलोसम्म सुतिदिन्छन् । घरमै बस्दा पनि अरुले डिस्टर्ब गर्छन् भनेर कोठाको चुकुल लगाएर बसिदिन्छन् । इन्टरनेटमा उनीहरु व्यस्त भइदिँदा खाना तयार भयो भनेर दस पटक बोलाउँदा पनि आवाज सुन्दैनन् ।

सुने पनि एक्कैछिन भनेको दर्जनौँ चोटि भइसक्छ र आए पनि ठुस्स अनुहार लगाएर किन बोलाएको होला भन्ने भाव देखिन्छ । आफ्ना लागि पेट भर्नेभन्दा पनि आमाका लागि पेट भरिदिने र खाइदिनु भनेको ठूलो काम गरिदिएजस्तो व्यवहार अहिलेको हरेक घरको कहानी बनिसक्यो ।
कतिपयको त कतिसम्म देख्नुपर्छ भने मिहिनेतपूर्वक दाल, भात, तरकारी, सागसब्जी तयार पा¥यो, चाडबाडका बेला पनि यस्तो खानु भन्ने गुनासो सुन्नुपर्छ । पौष्टिताले भरिपूर्ण खानाको साटो चाउमिन, पिज्जा, बर्गरको माग हुन थाल्छ ।

जब आमा रिसाएर ‘यो घर हो, रेस्टुरेन्ट होइन’ भनेर कड्किन थाल्छिन्, अनि मात्र रुच्छ दाल–भात–तरकारी ।
अहिलेको पुस्तालाई जङ्क फुड (पत्रु खाना) र इन्टरनेट भयो भने केही पनि चाहिँदैन । उनीहरुलाई घरपरिवार–आमाबाबा–नातागोता केही र कोही पनि चाहिँदैन ।

इन्टरनेटले गर्दा सम्बन्ध कस्तो राख्ने, सम्मान कसरी गर्ने, सरसहयोग कसरी गर्ने, कसिलो सम्बन्धका लागि के गर्ने भन्ने कुरामा ह्रास आएको छ ।

हालै एक जना दिदीले सुनाउँदै हुनुहुन्थ्यो, ‘दसैँ र तिहार आयो कि मलाई तनाव हुन्छ । घरमा काम गर्नेहरु पनि चाड मान्न जान्छन् । छोराछोरी र श्रीमान् सोसल मिडियामै व्यस्त हुन्छन् । आफ्नो त हातखुट्टाले पनि काम गर्न छोड्दैछ । कसरी सबै परिपञ्च पु¥याउने होला ? घरको सरसफाई गर, चाडपर्वको खाना तयार गर, त्यसका लागि किनमेल गर... हेर्दा सजिलो छ तर कम्ता कठिन छैन ।’

उनले गुनासो गर्न छाडिनन्, ‘छोराछोरीलाई केही भनुँ, बल्ल छुट्टी भएको छ, आराम गर्न पनि नपाइने भनेर गनगन गर्न थालिहाल्छन् । हाम्रो जमानामा त बहिनी, चाडपर्व आउँदा घरकी आमालाई मात्र आउँदैनथ्यो । घरका हरेक व्यक्तिलाई चाड आउँथ्यो । बसेर के–केमा कति खर्च गर्ने र  कसको जिम्मेवारी के हो भनी छुट्याइन्थ्यो । यसले गर्दा एउटै व्यक्तिलाई धेरै लोड पर्दैनथ्यो । चाडपर्व हो, सबैले रमाइलो गर्नुपर्छ भन्ने सोचाई हुन्थ्यो । काका, मामा, फुपू, काकी, सानीआमा, ठूलो बाबा, कान्छा बा, भतिज–भतिजी, सबै नजिक हुन्थ्यौँ । वनभोज जान्थ्यौँ । नौरथाभरि बिहानै नुहाई–धुवाई गरेर मन्दिर पुग्थ्यौँ ।

शारीरिक व्यायाम हुन्थ्यो, दिमाग ताजा हुन्थ्यो, खाना खाएको पच्थ्यो ।
दसैँ भन्नेबित्तिकै परिवारसँग बस्ने, परिवारमै रमाउने, एकअर्कालाई खुशी राख्ने भन्ने अर्थ लाग्थ्यो । अहिले त दसैँ भन्नेबित्तिकै आफ्नो खुशी, आफ्नै मात्र रमाइलोका रुपमा बुझ्न थालिएको छ ।
‘ए नानीबाबु हो, तल आऊ मामा आउनुभएको छ भन्दा एक घण्टा लगाएर ओर्लने र ठस्स परेर बस्ने, अझ नमस्ते गर भन्यो भने त काण्ड नै पुग्यो ! यस्तो लाग्छ, बोलाउनु नै ठूलो गल्ती गरियो ।’
उहाँको गुनासोले अहिलेको अवस्था ठ्याक्कै चित्रित गर्छ । हुन पनि चाडपर्व भनेको सामूहिक खुसीको अवसर हो, व्यक्तिको खुसीको होइन ।

हिजोआज के साना के ठूला, सबै व्यक्तिगत खुसीमा रमाउन थालेका छन् । कोही ल्यापटपमा, कोही मोबाइलमा, कोही फिल्ममा, कोही सिरिजमा, कोही सामाजिक सञ्जालमा भएको व्यस्तता देख्दा यस्तो लाग्छ, चाडको सामूहिकताको मर्म मरिसक्यो ।

हामीले इन्टरनेटको महत्व बुझेनौं वा युवा पिँढीलाई बुझाउन सकेनौँ । अब त हुँदाहुँदा वयस्क र पाकाहरु पनि इन्टरनेटमै बढी व्यस्त हुन थालेका छन् । प्रत्यक्ष सोसलाइज हुनुभन्दा कृत्रिम र डिजिटल सोसलाइजका कुराले महत्व पाउन थालेका छन् ।

अनि यस्तो अवस्थामा भने सधैँभरि मारमा पर्ने भनेका गृहिणीहरु नै हुन्छन् । त्यसैले यसपालिको दसैँमा इन्टरनेट बन्द गरेर परिवारमा रम्न सिकाउनु जरुरी भएको छ ।

ताकि पारिवारिक माहोल र रमाइलोले डिजिटल एङ्जाइटीबाट मुक्ति दिलाओस् । डिजिटल डिप्रेसनबाट निकाल्न र त्यसले दिएको आत्मबलको कमी, सोच्न सक्ने क्षमताको अभाव, शारीरिक व्यायामको कमी, आफ्ना चाडपर्व, कला–संस्कृतिको ज्ञानको कमीलाई हटाउन सकियोस् ।

यसरी इन्टरनेटले खोसेको टिन एजर र वयस्कलाई सहज दैनिकीमा फर्काउन घरको इन्टरनेट बन्द गरौँ । ताकि यसले खोसेको परिवारिक खुसी र सहभागिता फर्काउन सकौँ । जति बढी सहभागिता, उति धेरै खुसी ! यस पटकको दसैँ इन्टरनेटरहित दसैँ !!
 

प्रकाशित: १५ आश्विन २०७६ ०९:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App