१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सोल्टी होटलले मनायो ५०औं वार्षिकोत्सव

काठमाडौं- होटल तथा पर्यटन क्षेत्रको विकासमा योगदान पुर्‍याउँदै आएको सोल्टी होटलले शुक्रबार ५० औं वार्षिकोत्सव मनाएको छ। २०२२ मंसिर १० गते सय वटा कोठाबाट सेवा सुरु गरेको उक्त होटलको उद्घाटन तत्कालीन राजा महेन्द्र शाहले गरेका थिए। सोल्टी पाँचतारे होटलको रुपमा स्थापित छ।

होटलले विशिष्ट पाहुनालाई उत्कृष्ट सेवा र पर्यटन विकासमा योगदान दिँदै आएको जनाएको छ। विशिष्ट श्रेणीका विदेशी पाहुनाको मुख्य रोजाइमा होटल सोल्टी पर्छ।

होटल ५० वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आयोजित कार्यक्रममा होटलका अध्यक्ष प्रभाकरशमशेर राणाले सुरु दिनमा सञ्चालन गर्न कठिन भए पनि अहोरात्र मेहनत र चुस्त व्यवस्थापनले गर्दा आज अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाउन सफलता मिलेको बताए। उनले देश विकासमा हाइड्रो, कृषि र पर्यटन क्षेत्रले महŒवपूर्ण योगदान पुर्‍याए पनि यी क्षेत्रको विकास भने अपेक्षित रुपमा हुन नसकेको उनले सुनाए।

होटल क्षेत्रको विकास र योगदान चर्चा गर्दै उनले सन् २०१८ सम्म मुलुकभित्र चार हजार होटल सञ्चालनमा आउने बताए। 'होटल र पर्यटन क्षेत्रका लागि यो सकारात्मक विषय हो', राणाले भने, 'सरकारले पनि होटल पूर्वाधार निर्माणमा जोड दिनुपर्छ।' उनले असल व्यवस्थापन, बजारीकरण र पूर्वाधार भए होटल सफलतापूर्वक सञ्चालन गर्न सकिने अनुभव सुनाए।

होटलका कार्यकारी अध्यक्ष दिनेशबहादुर बिष्टले मुलुकमा दिगो पर्यटन विकासको परिकल्पना राखेर अघि बढेको सोल्टी विशिष्ट पाहुनाको सेवामा समर्पित भएको जनाए। उनले निजी क्षेत्रसँगको सहकार्यमा स्थापना भएको यस होटलले स्वदेशमै रोजगारीको अवसर पनि सिर्जना गरेको बताए। होटल विकास, प्रवर्द्धन र पूर्वाधार निर्माणमा सबै एकजुट हुनुपर्ने औंल्याउँदै उनले होटल सोल्टी विस्तार हुने क्रममा रहेको जानकारी दिए। 'होटल विस्तार क्रममा सोल्टी छ', बिष्टले भने, 'नेपालगन्जमा आगामी वैशाखसम्म चार तारे होटलका रुपमा यसको शाखा खुल्नेछ। पोखरामा पनि होटल निर्माण तयारीमा छौं।'

होेटलका निर्देशक शान्था डे सिल्भाले नेपालमा पर्यटन विकासमा सबै क्षेत्रले जोड दिनुपर्ने औंल्याए। उनले पर्यटन व्यवसाय महŒवपूर्ण उद्योगका रुपमा स्थापित हुँदै गएको जानकारी दिए।  

कार्यक्रममा होटल एसोसियसन नेपाल (हान) का अध्यक्ष अमरमान शाक्य, ट्राभल एजेन्सिज् अफ नेपालका (टान) का अध्यक्ष चन्द्र रिजाललगायत पर्यटन तथा होटलसँग सम्बन्धित संघसस्थाका प्रतिनिधि उपस्थित थिए। उनीहरूले होटल तथा पर्यटन विकासमा एकीकृत योजना बनाएर अघि बढ्नुपर्ने बताए।

यसै अवसरमा होटल सोल्टीले शनिबार गल्फ टुर्नामेन्ट आयोजना गर्ने जनाएको छ।  गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा उक्त टुर्नामेन्ट हुनेछ।

प्रकाशित: ११ मंसिर २०७३ ०२:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App