८ वैशाख २०८१ शनिबार
राजनीति

भ्रमण बर्ष औपचारिकता मात्र नबनाउने मुख्यमन्त्रीको उद्घोष

धरान– नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन तथा लक्ष्य अनुसार विदेशी पर्यटन भित्र्याउन १ नं प्रदेशमा प्रदेशस्तरीय पर्यटन प्रर्वद्धन समिति गठन भएको छ।

सरकारको लक्ष्य हासिल गर्न १ नं प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश कुसियैतको अध्यक्षतामा ५१ सदस्यीय समिति गठन भएको हो। नेपाल सरकारले सन् २०२० लाई भ्रमण बर्षको रुपमा मनाउने घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। सोही बर्ष १ नं प्रदेश सरकारले पनि ५ लाख पर्यटन भित्र्याउन लक्ष्य राखेको छ। यो लक्ष्य हासिल गर्न यसअघि संघीय सरकारले २१ सदस्यीय प्रदेशस्तरीय समिति गठन गरेको थियो। सोही समितिमा ३० जना थप गरी ५१ सदस्यीय समिति गठन गरिएको हो।

प्रदेश राजधानी विराटनगरमा मंगलबार नयाँ सदस्यहरुलाई नियुक्ती पत्र प्रदानसँगै समितिको प्रथम बैठक बसेको थियो। समितिका संरक्षक एवं मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा बसेको बैठकले सचिवालयसँगै विभिन्न १२ सदस्यीय उपसमिति संयोजकहरु पनि चयन गरेको छ। बैठकले मुल समारोह व्यवस्थापन उपसमिति संयोजकमा फडिन्द्र अधिकारी, प्रर्वतीय पर्यापर्यटन उपसमिति संयोजक टिका गुरुङ, पुर्वाधार निर्माण उपसमिति संयोजक रेवतबहादुर थापा, धार्मिक तथा साँस्कृतिक पर्यटन उपसमिति संयोजक भविश श्रेष्ठ, प्रचारप्रसार उपसमिति संयोजक पुष्य भट्टराईलाई चयन गरेको छ।

यस्तै, साहसिक खेल पर्यटन उपसमिति संयोजकमा विराट अनुपम गौतम, प्रचारप्रसार सामग्री उत्पादन उपसमिति संयोजक रमेश राई, पर्यटन सेवा उपसमिति संयोजक एलिना मगर, आर्थिक परिचालन उपसमिति संयोजक भीम घिमिरे, सीमावर्ति बजारीकरण पर्यटन उपसमिति संयोजक कृष्ण साह, ग्रामिण पर्यटन तथा होम स्टे, हस्तकला पर्यटन उपसमिति संयोजक अर्जुन कार्की र अतिथि सत्कार उपसमिति संयोजक देवी गौतम चयन गरिएको छ। 

बैठकलले प्रत्येक उपसमिति संयोजकसहित १७ सदस्यीय सचिवालय पनि गठन गरेको छ। सचिवालयमा संरक्षकको हैसियतमा मुख्यमन्त्री, अध्यक्षको हैसियतमा पर्यटन मन्त्री, सहअध्यक्षको रुपमा प्रदेश मुख्यसचिव, सहसंयोजक राजन श्रेष्ठ र सदस्य सचिवको हैसियतमा पर्यटन सचिव सञ्जिव राई पनि सचिवालयमा रहनेछन्। ‘अझै कति साथीभाईहरु छुट्नु भएको छ भने उपसमितिहरुमा छुटेका साथीहरुलाई पनि समावेश गर्न सकिन्छ,’ पर्यटन मन्त्री तथा समिति अध्यक्ष कुसियैतले भने,‘राष्ट्रिय लक्ष्य २० लाख र प्रदेशको लक्ष्य ५ लाख पर्यटन भित्र्याउने छ, यसको लागि कसरी पर्यटक भित्र्याउने? योजना बनाउने, आफ्नो पर्यटन प्रोडक्ट, गन्तव्यहरुको उजागर गर्ने, प्रचार गर्ने काम गर्नेछ।’

भ्रमण बर्ष औपचारिकता मात्र हुँदैनः मुख्यमन्त्री राई

१ नं प्रदेशका मुख्यमन्त्री शेरधन राईले नेपाल भ्रमण बर्ष २०२०लाई प्रदेश सरकारले औपचारिकतामा मात्र सिमित हुन नदिने बताएका छन्। 

प्रदेशस्तरीय पर्यटन प्रवर्द्धन समितिको पहिलो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले भ्रमण बर्ष २०२०लाई प्रदेशको समृद्धिको जग बसाउने अवसरकोरुपमा मनाउने बताए। ‘भ्रमण बर्ष २०२० लाई औपचारिकतामा मात्र सिमित हुन दिदैनौं, बोर्ड र पोष्टरमा सिमित हुँदैन,’ मुख्यमन्त्री राईले भने,‘यो प्रदेशको समृद्धिको जग हाल्ने हिसाबले भ्रमण बर्ष मनाउछौं।’ प्रदेश सरकारले आवधियक योजना बनाएर सार्वजनिक गरेको खुलाउदै मुख्यमन्त्री राईले अब सरकार अलमल गरेर नबस्ने पनि बताए।

मुख्यमन्त्री राईले १ नम्बर प्रदेशलाई आकर्षक पर्यटकीय गन्तव्य बनाएर ५ लाख पर्यटक भित्र्याउने लक्ष्य पुरा गर्न समिति तथा उपसमितिहरुले ठोस योजना तयार गरी पेश गर्न पनि निर्देशन दिए। मुख्यमन्त्री राईका अनुसार यो बर्ष पर्यटकीय गन्तव्यको प्रचार तथा प्रवर्द्धन र आधार तयार गर्ने बर्षकोरुपमा सरकारले लिएको छ। ‘सबैले आआफ्नो क्षेत्रको एक्सन प्लान बनाएर ल्याउनुस्, अर्को बैठकमा त्यो कार्ययोजना सबैले पेश गर्नुपर्छ। तब मात्र तपाईहरु समितिमा बसेको अर्थ हुन्छ,’ मुख्यमन्त्री राईले भने, ‘त्यसलाई हामी कार्यान्वयन गछौं।’ समितिमा समेट्नुपर्ने मान्छे छुटेको भए थप गरेर समिति विस्तार गर्ने पनि मुख्यमन्त्री राईले आश्वासन दिए।

प्रकाशित: १५ आश्विन २०७६ ०३:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App