coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रभावकारी बन्दै ट्राफिक स्वयंसेवक अभियान

काठमाडौं  - दसैंतिहार लक्षित महानगरीय ट्राफिक प्रहरी महाशाखाद्वारा सञ्चालित स्वयंसेवक परिचालन प्रभावकारी हुँदै आएको छ । महाशाखाले युवा परिषद् र अन्य संघसंस्थाको समन्वयमा असोज ५ गतेदेखि काठमाडौंका २५ ठाउँमा ‘हामी बिनाबर्दीका ट्राफिक हौं’ भन्ने अभियानमार्फत पाँच सय युवा स्वयंसेवक परिचालन गरेको हो ।

महानगरीय ट्राफिक कार्यालयका प्रवक्ता रविकुमार पौडेलले चाडपर्वको समयमा हुने भीडभाड र सवारीचापको व्यवस्थापनमा स्वयंसेवकहरू आफ्नो जिम्मेवारी अनुसार खटिएकाले सो काम प्रभावकारी भएको बताए । उनका अनुसार यात्रुलाई सफल यात्रा गराउन, एकै ठाउँमा हुने भीड हटाउन, चाडपर्वको समयमा घट्ने घटनाप्रति यात्रुलाई सचेत गराउनु उनीहरूको काम हो । सरकारले जेब्राक्रस र आकासेपुलको निर्माण गरेको भए पनि त्यसलाई बेवास्ता गरी जोखिमपूर्ण यात्रा गरिरहेका यात्रुलाई पुलको प्रयोग गर्न लगाउने स्वयंसेवकको मुख्य जिम्मेवारी भएको उनको भनाइ छ ।

ट्राफिक प्रहरीले मात्रै भीडभाडको समयमा सवारी व्यवस्थापन गर्न कठिन हुने हुँदा पाँच सय युवालाई स्वयंसेवकका रूपमा खटाइएको उनले बताए । ‘ट्राफिकलाई नदेखेको अवस्थामा सवारीचालक मनपरी गाडी गुडाउँछन् जसले गर्दा दुर्घटनाको जोखिम बढिरहेको हुन्छ,’ प्रवक्ता पौडेल भन्छन्, ‘त्यस्तो अवस्थामा ट्राफिक स्वयंसेवकको भूमिका महŒवपूर्ण हुन्छ । उनीहरूले ट्राफिकको बर्दी नै नलगाए पनि सवारीचालकलाई ट्राफिक नियमबारे जानकारी गराउँछन् ।’ चाडपर्वको समयमा गाडी र पैदलयात्रु दुवैलाई हतार हुने भएकाले सो समयमा हुने दुर्घटना न्यूनीकरण गर्नु नै स्वयंसेवक परिचालनको उद्देश्य रहेको उनले बताए । उनका अनुसार स्वयंसेवक परिचालन कात्तिक १५ गतेसम्म हुनेछ ।

प्रवक्ता पौडेलका अनुसार राजधानीको दरबारमार्ग, केशरमहल, जमल, रणोद्दीप, त्रिचन्द्र कलेज, भोटाहिटी, वीरअस्पताल, जुद्ध सालिक, न्युरोड, नागस्थान, थापाथली, त्रिपुरेश्वर, कोटेश्वर, बानेश्वर पानीट्यांकी, नयाँ बसपार्क, माइतीघर, सिंहदरबार, पुतलीसडक, कुपन्डोल, पुल्चोक, कालीमाटी, महाराजगन्ज, गौशाला, बीएन्डबी हस्पिटल, कलंकीलगायत २५ स्थानमा स्वयंसेवकले सडक सवारी व्यवस्थापनमा मद्दत गरिरहेका छन् । एक ठाउँमा २० जना स्वयम्सेवक खटिएका छन् ।

स्वयंसेवक परिचालनसँगै भीडभाडको समयमा अलपत्र परेका यात्रुलाई सहायता कक्षमा रही सहयोग पु‍¥याउने उद्देश्यले त्यसका लागि उपभोक्ता संरक्षण समिति, यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीको सहकार्यमा उपत्यकाका १४ स्थानमा नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ । उपत्यकाको नागढुंगा, कलंकी, स्वयम्भू हलचोक, नयाँ बसपार्क, माछापोखरी, पुरानो बसपार्क, सुन्धारा, चाबहिललगायत स्थानमा नागरिक सहायता कक्ष राखिएको छ ।

कालिमाटी चोकमा बिनाबर्दी ट्राफिकको काम गरिरहेका बमिन लामाले विशेषगरी जेब्राक्रसको प्रयोगका लागि पैदल यात्रुलाई चेतना दिनुपरेको बताए । ‘पैदलयात्रु प्रायः जेब्राक्रसको प्रयोग गर्दैनन्, फेरि सडकमा भीडभाड दुर्घटना हुने सम्भावना पनि बढी हुन्छ,’ लामाले भने, ‘यात्रुलाई मिलाएर जेब्राक्रस गराउनु र दुर्घटनाबाट बचाउनु नै हामीलाई दिइएको जिम्मेवारी हो ।’ उनले समयअनुसार खटिनुपर्ने ठाउँ पनि फरकफरक हुने बताए । सोही ठाउँमा पैदल यात्रुलाई बाटो क्रस गराउँदै गरेका स्वयंसेवक मोहन लामा भन्छन्, ‘दसैंतिहारको समयमा मान्छे र गाडी दुवैको चाप उत्तिकै हुन्छ । भीडभाडको समयमा ट्राफिक प्रहरीले मात्रै व्यवस्थापन गर्न नसक्ने हुँदा युएनडिपी संस्थामार्फत हामी यहाँ सहयोग गर्न आएका हौं ।’ असोज ४ गतेदेखि पाँच दिने आधारभूत ट्राफिक तलिम लिएर उनीहरू सवारी व्यवस्थापनको काममा खटाइएका हुन् ।

प्रकाशित: १५ आश्विन २०७६ ०३:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App