६ वैशाख २०८१ बिहीबार
समाज

जोगिएला महराको ‘शालीनता’

दाङ -‘भद्र’ र ‘शालीन’ कृष्णबहादुर महराका निमित्त जोडिने विशेषण हुन्। निकै कम बोल्ने र कसैलाई नहोच्याउने नेताका रूपमा उनी चिनिएका छन्। पुरानो निर्वाचन क्षेत्र रोल्पा छाडेर चुनाव लड्न दाङ आएपछि दाङवासीका लागि उनी भरोसाको केन्द्र बने। पार्टी निकटस्थ मात्रै होइन, फरक पार्टीका कार्यकर्ता पनि उनको शालीनताका पारखी थिए। उनको आलोचना बिरलै सुनिएको थियो।

हेभिवेट नेताको दाङ आगमनबाट विकास निर्माणले केही न केही फड्को मार्नेमा विश्वस्त मतदाताहरूले उनलाई दाङ–२ बाट प्रतिनिधिसभामा पठाए। उनीसँगको अपेक्षा यतिमा मात्रै सीमित रहेन। महरा जिल्लावासीका लागि त्यतिबेला अझ ‘सान’ बनिदिए, जब दाङबाटै पहिलोपटक प्रतिनिधिसभाका सभामुख बने।

आफूले चुनेर पठाएका नेता सभामुख बनेपछि आमनागरिकमा विकासको अपेक्षा बढ्नु स्वाभाविकै थियो। तर उनीमाथि यौन दुव्र्यवहारको गम्भीर आरोप लागेसँगै दाङावासीमा निराशामा डुबेका छन्। यति मात्रै होइन, महराको शालीनता भंग हुने आशंका चुलिएको छ। उनीमाथि लागेको आरोपको छानबिनबाट आउने निष्कर्षले यसको निधो गर्नेछ।

यौन दुव्र्यवहारको आरोपका कारण महराले सभामुख पदबाट राजीनामा दिएपछि जिल्लाको सान गुमेको महसुस भएको दाङवासी बताउँछन्।

सोही आरोपका कारण महराले सभामुख पदबाट राजीनामा दिएपछि जिल्लाको सान गुमेको महसुस भएको दाङवासी बताउँछन्। ‘महरा सरजस्ता शालीन व्यक्तिबारे यस्तो समाचार आउला भन्ने लागेकै थिएन,’ एक मतदाताले भने, ‘यो घटनाले धेरै मन दुखाएको छ।’

आफूूमाथि लागेको यौन दुव्र्यवहारको आरोप छानबिनका लागि महराले सभामुख पदबाट राजीनामा दिएको उल्लेख गरेका छन्। उनलाई मतदान गर्नेहरूले यो आरोप निराधार भइदिए हुन्थ्यो भन्ने अपेक्षा राखेका छन्। ‘उहाँ ९महरा० ले आफूमाथि लागेको आरोपको छानबिनका लागि सहज होस् भनेर राजीनामा दिनुभएको हो। उहाँले न्यायप्रणालीलाई सम्मान गर्नुभएको हो,’ अर्का मतदाताले भने, ‘समग्र जिल्लाको अपेक्षाको पूर्णताका लागि उक्त आरोप निराधार होस् भन्ने अपेक्षा छ।’

निर्वाचनका बेला एकै निर्वाचन क्षेत्रमा उनीसँगै सहकार्य गरेका प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले सभामुख पदबाट राजीनामा आउनु नै जिल्लावासीका लागि ठूलो निराशाको विषय भएको प्रतिक्रिया दिए। ‘उहाँलाई जिल्लाबाट चुनिएका धरोहरका रूपमा आमजिल्लावासीले हेरेका थिए,’ उनले भने, ‘अहिले त्यो सभामुख पद महराले मात्रै नभई सिंगै दाङले गुमाएको आभास भएको छ।

यसले जिल्लावासीलाई निराश तुल्याएको छ।’ महरामाथि लागेको आरोपबारे छानबिनबाट मात्रै तथ्य बाहिर आउने तर यो आरोपको असर महरालाई व्यक्तिगत रूपमा पर्ने उनको विश्लेषण छ। ‘उहाँमाथि लागेको जुन आरोप छ, त्यो चानचुने कुरा होइन,’ उनले भने, ‘तर उहाँलाई लागेको आरोप मिथ्या होस् भन्ने चाहना आमजनमानसमा छ। महराजीप्रतिको आमजनमानसको सदाशयता कायम होओस् भन्ने मेरो चाहना छ।’

आफ्नो जितमा उहाँको ठूलो सहयोग रहेको उल्लेख गर्दै डाँगीले महरालाई मन्त्रीका रूपमा देख्न चाहेको बताए। ‘विभागीय मन्त्री त बन्नुभएन तर सभामुखजस्तो उच्च ओहदामा पुगेर जिल्लाकै गर्वको विषय बनिदिनुभएको थियो तर राजीनामाले त्यो गर्व हराएको महसुस भएको छ।’ नेकपाका जिल्ला अध्यक्ष टीकाराम खड्काले पनि महराबारे आएको समाचार दङाली जनताका लागि निकै दुर्भाग्यपूर्ण भएको बताए। ‘अहिले नै आत्तिहाल्नुपर्ने अवस्थाचाहिँ होइन, यसको पुष्टि छानबिनबाट हुनेछ,’ उनले भने, ‘मलाई लाग्छ, महरा सरबाट त्यस्तो घृणित काम भएको छैन।’

दाङबाट निर्वाचित सभामुख महराप्रति आमदङालीको अपेक्षा र सम्मान उच्च रहे पनि सार्वजनिक भएको घटनाले त्यो अपेक्षामाथि नैराश्य पैदा गराइदिएको उनले बताए। महराबारे लगाइएको आरोपलाई निकै असामान्य रहेको उल्लेख गर्दै उनले सभामुखको करिअर समाप्त गर्ने प्रपञ्चका रूपमा त्यसलाई अथ्र्याए। ‘सभामुखजस्तो उच्च ओहदाको व्यक्तिको करिअरलाई समाप्त पार्नेगरी यो घटना बाहिर ल्याइएको मेरो बुझाइ हो तर छानबिनले यी सबै कुरा निक्र्योल गर्ने भएकाले मेरो दाबी सही नहुन पनि सक्ला,’ उनले भने, ‘तथापि अहिले महराले छानबिनका लागि पदबाट राजीनामा दिनुभएको छ। उहाँको यो कदम निकै सम्मानयोग्य छ।’

कांग्रेसका नेताहरूले पनि महराले राजीनामा दिएकै कारण उनलाई गलत काम गरेकै भनेर भन्न नमिल्ने बताउँछन्। महराले आफूमाथि लागेको आरोपको छानबिनका लागि राजीनामा दिएर सहज बनाइदिएको तर्क गर्दै कांग्रेसका एक नेताले भने, ‘राजीनामा आएकै कारण हिनताबोध गर्नुहुँदैन।’

प्रकाशित: १५ आश्विन २०७६ ०२:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App