८ वैशाख २०८१ शनिबार
समाज

उपचारका लागि नरबहादुरलाई काठमाडौं लगियो

सुर्खेत- आर्थिक अभावमा उपचार नपाएर थलिएका विस्थापित शिविरका नरबहादुर रोकालाई शुक्रबार काठमाडौं पठाइएको छ। कांग्रेसका नेता एवम् सुर्खेतका सांसद पूर्णबहादुर खड्काले बाढीपीडित रोकाको सम्पूर्ण उपचारमा सहयोग गर्ने भएपछि उनलाई काठमाडौं पठाइएको हो । नागरिक दैनिकमा बिहीबार नरबहादुरको बारेमा समाचार प्रकाशित भएको थियो । नरबहादुरको काठमाडौंस्थित वीर अस्पतालमा उपचार हुने छ ।

                ‘हामी जनप्रतिनिधीहरुका लागि सर्मनाक सन्देश’ भन्दै खड्काले रोकाको उपचारका लागि तत्काल पहल गर्ने बताएका थिए । ‘समाचार पढ्दा धेरै दुःख लाग्यो, रोकाको सम्पूर्ण उपचारको व्यवस्थासहित काठमाडौं बोलाएको छु’ शुक्रबार नागरिकसँग खड्काले भने, ‘सुर्खेतदेखि काठमाडौंसम्म आउन र यहाँ उपचारमा लाग्ने सम्पूर्ण खर्चको व्यवस्था मैले गरेको छु ।’

                ०७१ साउन २८ र २९ गते इत्राम खोलामा आएको बाढीले घर बगाएपछि रोका परिवार महिला प्रशिक्षण केन्द्रको अस्थायी शिविरमा पालमुनि बस्दै आएको छ । क्यान्सर लागेपछि तीन महिनाअघि भारतमा रहेका नेपालीहरुको सहयोगमा रोकाको बायाँ खुट्टा काटिएको थियो । सुर्खेत नपुग्दै दायाँ खुट्टामा पनि क्यान्सरको संक्रमण देखियो । क्षेत्रीय अस्पताल सुर्खेतमा जचाउँदा दायाँ खुट्टा पनि काट्नुपर्ने भनियो । विहान–बेलुकाको छाक टार्ने क्षमता नभएका रोका परिवार उपचारका लागि सहयोगीको खोजीमा थियो ।

                ५१ वर्षीया श्रीमती सीता र १४ वर्षीय जोठो छोरा प्रकाशलाई नरबहादुरको स्याहार–सुसार गर्न ठिक्क हुन्थ्यो । कमाउने मानिस छैनन् । दुखाई कम गर्ने औषधि नपाउँदा नरबहादुर झन समस्या थिए। घाउ दुख्दा नरबहादुर रात–दिन चिच्याउथे । रोका परिवारजस्तै अन्य विस्थापितहरु आँखा चिम्लिन पाउँथेनन् । कांग्रेस नेता खड्काले उपचारका लागि काठमाडौं बोलाएपछि रोका परिवारमा आशाको त्यान्द्रो पलाएको छ । ‘आर्थिक अभावमा आठ दिनदेखि श्रीमानको दुखाई कम गर्ने औषधि पनि किन्न सकेका थिएनौं’ सीताले भनिन्, ‘नेताज्यूले काठमाडौं बोलाउनु भएको छ, अव विमार सन्चो हुन्छ कि भन्ने आशा पलाएको छ ।’

                उपचार नपाएर विस्थापित शिविरभित्र छटपटाइरहेको समाचार प्रकाशित भएपछि खड्काले सहयोगीमार्फत रोका परिवारलाई काठमाडौं बोलाएका हुन् । ‘पत्रिकामा समाचार आएपछि नेताज्यूले फोन गर्नुभयो’ कांग्रेस युवा नेता विष्णुबहादुर खड्काले भने, ‘उहाँकै निर्देशनअनुसार नरबहादुर, उनकी श्रीमती सीता र छोरा प्रकाशलाई बसमार्फत काठमाडौं पठाएका छौं ।’ उनले वीर नरबहादुरलाई वीर अस्पतालमा उपचारको व्यवस्था मिलाइएको बताए । ‘हामीले सुरुमा लखनउ पठाउने तयारी गरेका थियौं, भाषालगायतको समस्याका कारण काठमाडौं सजिलो हुने देखियो’ उनले भने, ‘नेताज्यूले वीर अस्पतालमा कुराकानी गरेर उपचारको व्यवस्था गरेपछि काठमाडौं पठाएका हौं।’ 

 

प्रकाशित: १० मंसिर २०७३ १३:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App