७ वैशाख २०८१ शुक्रबार
समाज

हराएका ६ सय ६३ जना सम्पर्कमा

सरिता श्रेष्ठ

धादिङ - विभिन्न कारणले हराएका ६ सय ६३ जना सम्पर्कमा आएका छन् । जिल्ला प्रहरी कार्यालय धादिङले चलाएको ‘हराएका व्यक्तिको खोजतलास विशेष अभियान’ अन्तर्गत परिवारको सम्पर्कमा आएका हुन्।

हराएको सूचना आउन थालेपछि धादिङ प्रहरीले पहिलो चरणमा विभिन्न समयमा हराएका व्यक्तिको तथ्यांक संकलनको काम गरेको थियो । करिब ३ महिना लगाएर पाँच वर्षयता हराएका र प्रहरीमा उजुरी परेकाको विवरण संकलन गरेको थियो ।

संकलन गरिएको विवरण जिल्लाका सबै प्रहरी युनिट र सञ्चारमाध्यममार्फत सूचना प्रसारण गरिएको थियो । त्यसपछि हराएका व्यक्तिको उजुरी आउन थालेपछि कार्यालयले छुट्टै डेक्स नै निर्माण गरेर विशेष अभियान सञ्चालन गरेको धादिङका प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताए ।

प्रहरीले तथ्यांकअनुसार ४ सय २८ महिला, २ सय ३१ बालबालिका र १४ जना पुरुष हराएका छन् । तथ्यांक हेर्दा धादिङ जिल्लामा महिला र बालबालिका बढी मात्रामा हराउने गरेका छन् । ती हराएका व्यक्तिमध्ये ४ सय २२ महिला, २ सय २८ बालबालिका र १३ जना पुरुष फेला परिसकेका छन् । अझै १० जना फेला नपरेको प्रहरी उपरीक्षक बैदवारले बताए । हराएर फेला परेकामध्ये एकजना पुरुष र एक बालकको मृत्यु भएको पारिवारले प्रहरीलाई जानकारी दिएका छन् । यो तथ्यांकमा द्वन्द्वकालमा हराएकालाई भने समेटिएको छैन ।

परिवारको सम्पर्कमा नरहने संख्यामा महिला धेरै छन् । महिला आफूखुसी बिहे गरेर जाने, घरमा विवाह गरेको थाहा पाएपछि प्रहरीमा जानकारी नदिने गर्नाले पनि महिलाको संख्या बढी देखिएको हुनसक्ने प्रहरी प्रमुख बैदवारले बताए । ‘जिल्लामा महिला बेचबिखनको घटना खासै छैन,’ बैदवारले भने, ‘महिला आफूखुसी बिहे गर्ने र परिवारलाई जानकारी नगराउने गरेकाले महिलाको संख्या बढी रहेको हुनसक्ने अनुमान गरेका छौं ।’

हराएका बेला उजुरी गरेको आधारमा जिल्लाका सबै प्रहरी युनिटलाई खबर गरेर गाउँगाउँ र टोलटोल पुगी हराएका व्यक्तिको पछिल्लो विवरण पत्ता लगाउने काम गरेको बैदवारले बताए । प्रहरीका अनुसार हराउनेबित्तिकै आत्तिएर प्रहरी युनिटमा रिपोर्ट गर्ने तर फेला परेपछि प्रहरीमा जानकारी नदिने हुँदा धेरैजना हराएको तथ्यांकमा देखिएको हुनसक्छ ।

विशेष गरी घरायसी समस्या, आर्थिक अवस्था कमजोर हुनु, सामाजिक सञ्जालको प्रभाव, मायाप्रेम, मानसिक तनावका कारण हराउने गरेको प्रहरी नायब उपरीक्षक रूपक खड्काले बताए । ‘जिल्लामा यत्तिको संख्यामा मानिस हराएपछि हाम्रो टिमले तथ्यांक संकलन गरी खोजी कार्य सुरु गरेका थियौं,’ प्रहरी नायब उपरीक्षक खड्काले भने, ‘अभियानका क्रममा बढी मात्रामा सामाजिक सञ्जाल, घरायसी समस्या र मायाप्रेमका कारण हराउने गरेको भेट्यौं ।’

प्रकाशित: १५ आश्विन २०७६ ०२:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App