७ वैशाख २०८१ शुक्रबार
समाज

उपत्यकामा ६ हजार प्रहरी परिचालन

काठमाडौं - दसैंलाई लक्षित गरेर उपत्यकामा ६ हजार ३ सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ। प्रहरी प्रधान कार्यालयको नेतृत्वमा चाडबाडको शान्ति सुरक्षामा ध्यान पु¥याउँदै गत वर्षभन्दा यसपाली दुई हजार बढी प्रहरी परिचालन गरिएको हो।

गतवर्ष चार हजार हाराहारी प्रहरी परिचालन गरिएकोमा यो वर्ष सवारी साधन र जनघनत्व बढेकाले प्रहरी बढी परिचालन गर्नुपरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी अशोक सिंहले जानकारी दिए। उनका अनुसार महानगरीय प्रहरी कार्यालय रानीपोखरीले प्रहरीले एकीकृत चाडपर्व सुरक्षा योजना अघि सारेको छ।

‘उपत्यकामा हरेक वर्ष जनसंख्या र सवारीको चाप बढ्दै गएको छ। प्रहरीको संख्या बढेको छैन,’ उनले भने, ‘भएको प्रहरी जनशक्तिलाई परिचालन गरेर शान्ति, सुरक्षा सहज बनाउन हामी लागिपरेका छौं।’ उनले यो वर्ष शान्ति सुरक्षालाई फरक शैलीमा अपनाइएको बताए। सिंहका अनुसार सादा पोशाक, पैदल गस्ती, मोबाइल गस्ती, साइकल गस्ती र मोटरसाइकल गस्तीद्वारा उपत्यकालाई सुरक्षाको घेरामा राखिएको छ। मोबाइल गस्ती उपत्यकामा ४८ वटा स्थानमा परिचालित हुनेछ। पैदल गस्ती ६० स्थानमा तथा साइकल गस्ती ३५ स्थानमा परिचालित हुनेछ। त्यस्तै, मोटरसाइकल गस्ती ६३ स्थानमा परिचालन गर्ने योजना अघि सारिएको जनाइएको छ।

यात्रुहरुको बढी चाप र चहलपहल हुने स्थानमा सादा पोशामा प्रहरी परिचालित छन्। नयाँ वर्षपार्क, रत्नपार्क, सुन्धारा, कोटेश्वर, गौशाला, चावहिल, लगनखेल, कलंकी, बल्खु, थानकोट, जगाती, चोभारलगायत क्षेत्रमा उच्च निगरानी बढाइएको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता श्याम ज्ञवालीले आवश्यताअनुसार सुरक्षा–व्यवस्था चुस्त पारिएको जानकारी दिए। ‘सर्वसाधारणले ढुक्कसँग शान्ति सुरक्षाको प्रत्याभूत गर्न पाउनेछन्। यदी कसैलाई अप्ठेरो प¥यो, सामान चोरीयो हरायो वा अन्य असुरक्षा महसुस भएमा प्रहरीलाई खबर गर्न सक्नेछन्,’ उनले भने, ‘प्रहरीले चाडबाडको बेला सादा पोशाकमा अझ बढी निगरानी बढाएको छ।’

त्यस्तै, घर फर्कने यात्रुको चापका कारण उपत्यकाको ट्राफिक व्यवस्था केही असहज बनेको छ। १८ गतेसम्म १०÷१२ लाखभन्दा बढी यात्रुहरू बाहिरिनसक्ने भएकाले त्यसपछि ट्राफिक व्यवस्था सहज हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। ठाउँठाउँमा सिसी क्यामेरा जडान गर्ने कार्य महशाखाले गरेको छ।

ललितपुरका गाउँगाउँमा प्रहरी परिचालन

उपत्यकाभित्र ग्रामीण इलाका बढी भएको जिल्ला ललितपुरमा प्रहरीले नयाँ तरिकाले दसैं सुरक्षा योजना अघि सारेको छ। सहरदेखि ५÷६ घण्टाको दूरीमा रहेका गाउँमा प्रहरीले छुट्टै तरिकाले सुरक्षा योजना अघि सारेको हो। ग्रामीण इलाकाका विभिन्न चौकीहरुसँग मिलेर परिसरबाट सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ। बागमती गाउँपालिका, कोन्जोसोम गाउँपालिका र महाकांल गाउँपालिकामा बढी जुवातास र जाँड रक्सी बिक्रीवितरण हुने भएकाले सातादिन अघिदेखि नै प्रहरी परिचालन गरिसकिएको परिसरले जनाएको छ।

महानगरीय प्रहरी परिसर जावलाखेलका एसएसपी टेकप्रसाद राईले गाउँमा जुवातास र जाँडरक्सी सेवनका कारण बढी घटना हुन भएकाले यसपाली गाउँ केन्द्रित सुरक्षा योजना अघि सारेको जानकारी दिए। उनका अनुसार जिल्लाभरी ९ सय हाराहारी प्रहरी परिचालित छन्। ‘ललितपुरका गाउँतिर अलिकति अराजकता हुन्छ। गत वर्षहरुमा भएका घटनाहरुलाई आधार मानेर यो वर्ष हामीले सचेतता अपनाउँदै प्रहरी परिचालन गरेका छौं। यसपाली जुवातास र जाँड रक्सी बिक्रीवितरण रोक्छौं,’ उनले भने।

प्रकाशित: १५ आश्विन २०७६ ०२:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App