coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पेट्रोल भण्डारण आधा दिनलाई मात्र

नेपाल आयल निगमको प्रदेश नं ५ रुपन्देहीमा रहेको डिपो। तस्बिर : नागरिक

दिलीप पौडेल/रेखा भुसाल

रुपन्देही – नेपाल आयल निगमले इन्धन भण्डारण क्षमता वृद्धि नगर्दा निगमको प्रदेश नं ५ रुपन्देही डिपोमा पेट्रोल भण्डारण क्षमता आधा दिनमा झरेको छ। पेट्रोलको खपत बर्सेनि बढ्दै गए पनि रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं ७ मा रहेको निगम डिपोको क्षमता विस्तार नहुँदा पेट्रोलियम भण्डारण क्षमता घटेर आधा दिनमा झरेको हो। पेट्रोलमात्र नभएर डिजेलको भण्डारण पनि तीन दिनलाई मात्र छ।

भण्डारणस्थल नहुँदा उक्त डिपोबाट पेट्रोल तथा डिजेलको बिक्री व्यवस्थापन गर्न हम्मे परेको निगमका अधिकारी बताउँछन्। उक्त डिपोबाट दैनिक करिब तीन सय किलोलिटर पेट्रोल बिक्री हुने भए पनि भण्डारण क्षमता एक सय ४० किलोलिटरमात्र छ। पेट्रोल राख्न ७० किलोलिटरका दुई ट्यांक छन्। डिजेल भण्डारण क्षमता तीन हजार ४० किलोलिटर छ। त्यहाँ डिजेल दैनिक करिब ११ सय किलोलिटर बिक्री हुन्छ। यसले माग तीन दिनको माग पनि धान्दैन। निगमका समग्र मुलुकभर पेट्रोल पाँच दिन, डिजेल आठ दिन र हवाई इन्धन १० दिनलाई स्टक राख्न सक्ने क्षमता भए पनि रुपन्देहीको अवस्था निकै थोरै छ।

निगमले इन्डियन आयल कर्पोरेसनबाट ल्याएको पेट्रोल आफ्नो भण्डारण स्थलमा खन्याएर बिक्री गर्नुपर्ने भए पनि सिधै पम्पमा पठाउने गरेको छ। भण्डारण क्षमता निकै कम हुँदा पेट्रोलिय पदार्थ आपूर्तिको व्यवस्थापनमा हम्मे परेको निगमको ५ नम्बर प्रदेशका प्रमुख सुरज शाहले बताए। ‘पेट्रोल भण्डारण क्षमता आधा दिनलाई मात्र पुग्नेछ,’ शाहले भने, ‘एक दिनमात्र ढुवानी रोकियो भने पेट्रोल आपूर्तिमा समस्या आउँछ।’ डिजेलको भण्डारण करिब तीन दिनलाई मात्र पुग्ने भए पनि यसमा पनि कठिनाई छ।

रुपन्देहीको भलबारी डिपो मुलुकमै धेरै पेट्रोलियम पदार्थ बिक्री गर्नेमध्ये तेस्रो स्थानमा पर्छ। यहाँबाट डिजेल करिब दैनिक हजारदेखि ११ सय, पेट्रोल दुई सय ३० देखि तीन सय, मट्टितेल १२ देखि १४ किलोलिटर बिक्री हुन्छ।

सरकारले तीन महिनालाई पुग्ने गरी पेट्रोलियम पदार्थ भण्डारणस्थल बनाउने बताउँदै आए पनि आयल निगमको रुपन्देही डिपोमा पेट्रोल भण्डारण क्षमता आधा दिन र डिजेलको तीन दिनलाई मात्र छ।

यहाँबाट आठ जिल्लामा पेट्रोलियम पदार्थ बिक्री हुन्छ। रुपन्देहीका एक सय ५८, नवलपरासीका ५०, कपिलवस्तुका ७४, पाल्पाका १०, स्याङ्जाका १२, गुल्मीका पाँच, अर्घाखाँचीका आठ र बागलुङको दुई गरी तीन सय १८ बिक्रेताले पेट्रोलियम पदार्थ लगेर बिक्री गर्दै आएका छन्। दुई सय ५० पेट्रोल पम्प छन् भने ५९ मट्टितेल बिक्रेता छन्।

इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट ल्याएको इन्धन सिधै डाइभर्ट हुँदा तेल कमीको समस्या हुने गरेको पश्चिमाञ्चल डिलर्स एसोसिएसनका अध्यक्ष प्रेम न्यौपानेले बताए। ‘डिपोमा भण्डारण नहुँदा डाइभर्ट गर्दा लस हुने गरेको छ,’ न्यौपानेले भने, ‘निगमले भण्डारण क्षमता बढाउनु पर्छ।’ अहिले गुनासो गरेपछि डाइभर्ट गरे पनि नापचाँज गरेर दिन थालेको उनले बताए।

भण्डारण क्षमता मात्र नभएर लोडिङ प्वाइन्ट पनि कम हुँदा बिक्रीमा कठिनाइ भएको प्रादेशिक डिपो प्रबन्धक शैलेन्द्र भुसाल बताए। ‘भण्डारणस्थल र लोडिङ प्वाइन्ट थोरै हुँदा आइओसीबाट ल्याएका ट्यांकर सिधै डाइभर्ट गर्छौं,’ भुसालले भने, ‘न्यूनतम ३० दिनलाई पुग्ने गरी भण्डारण क्षमता बढाउनु पर्छ।’

अहिले डिपो भएको ठाउँमा भण्डारण क्षमता विस्तार गर्ने जमिन पनि छैन। डिपो पाँच बिघा क्षेत्रफलमा छ। अहिले उक्त डिपोमा रहेको तीन सय ७९ किलोलिटरको मट्टितेलको भण्डारण ट्यांक छ। मट्टितेलको खपत घटेकाले उक्त ट्यांकलाई कन्भर्जिङ गर्न लागेको प्रबन्धक भुसालले बताए। ‘यहाँ जमिन कम भएकाले थप स्टोरेज ट्यांक बनाउन सक्ने अवस्था छैन,’ उनले भने, ‘मट्टितेलको ट्यांकलाई कन्भर्जिङ गर्दैछौं।’

निगमले तीन महिनालाई पुग्ने गरी भण्डारणस्थल बनाउने बताउँदै आए पनि क्षमता बढाउन सकेको छैन। निगमले रुपन्देहीकै भैरहवाको ओमसतिया गाउँपालिका–४ र ५मा जमिन खरिद गरेको छ। उक्त जग्गा खरिदमा अनियमितता भएको सार्वजनिक भए पछि डिपो निर्माण अघि बढ्न सकेको छैन।

पेट्रोलियम पदार्थको भण्डारणमा नभएर लोडिङ प्वाइन्ट पनि कम रहेको उनले बताए। अहिले त्यहाँ चारवटा मात्र लोडिङ प्वाइन्ट छन्। थप चारवटा प्वाइन्ट निर्माण गर्न टेन्डर गरिसकेको प्रबन्धक भुसालले बताए। भुसालका अनुसार एक करोड १४ लाख रुपैयाँमा बोलपत्र आह्वान गरिसकेको छ।

निगमको उक्त डिपोमा आइओसीको बैतालपुर, मुगलसराय र गोन्डा डिपोबाट आयात गर्दै आएको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण गरेपछि अहिले केही परिमाण डिजेल अमलेखगन्जबाट ल्याउन थालेको छ।

प्रकाशित: १५ आश्विन २०७६ ०१:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App