८ वैशाख २०८१ शनिबार
राजनीति

आरजु भन्छिन्ः सरकारको गलत नीतिको कारण युवाहरु विदेशिने क्रम बढ्यो

बारा– नेपाली काँग्रेसकी नेतृ आरजु राणा देउवाले सरकारको गलत नीतिको कारणले गर्दा देशमा रोजगारी सृजना हुन नसक्दा युवाहरु बिदेशिने क्रम बढ्दै गएको बताएकी छिन्।

संजिवनी वाटिका जीतपुर बाराले २९ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा युवाहरुलाई रोजगारी दिने अवसरहरुलाई पहिचाल गरि त्यसमा सरकारले लगानी गर्नुपर्ने सुझाव समेत देउवाले दिइन्।

कृषिमा क्रान्ती गरेर लाखौ युवाहरुलाई देशमै रोजगारी दिने वर्तमान सरकारले बताउने गरे पनि त्यो पुरा गर्न कुनै कार्यक्रम लागु गर्न नसकेको आरोप उनले लगाइन्। धेरै युवाहरुलाई कृषि क्षेत्रमै रोजगारी दिन सकिने भए पनि सरकारले कृषि क्षेत्रलाई बेवस्था गरेको देउवाले बताइन्।

कृषि उत्पादन बढाउनको लागि आवश्यक पर्ने मललाई समेत वर्तमान सरकारले किसानहरुलाई पर्याप्त मात्रामा उपलब्ध गराउन नसकेर कृषि व्यवसायलाई बर्वाद गर्न खोजेको उनले बताइन्।

किसानहरुलाई समयमै आवश्यक पर्ने मल उपलब्ध गराउन सरकार पर्याप्त बजेटको व्यवस्था नगर्दा किसानहरुलाई मल अभाव हुने गरेको देउवाले बताइन्।

मल खरिद गर्न पाँच अर्ब रुपैया कृषि समाग्री संस्थाले माग गरे पनि सरकारले दुई अर्ब मात्रै बजेट दिएर गुणस्तरहीन मललाई सरकारले आयात गरि कृषि पेशामा लागेका किसानहरुलाई समस्यामा पारेको उनले बताइन्।

देशमा रोजगारीको अवसर नपाएर परिवारका चलाउने युवाहरु बिदेशिने गर्दा परिवारमा रहेका जेष्ठ नागरिकहरुलाई समेत समस्या हुने गरेको उनले बताइन्।

संजिवनी वाटिकाले वृद्धाअवस्थाको लागि बाँस स्थान सहित खानपानको लागि गरेको व्यवस्था सराहनीय रहेको बताउदै नेतृ देउवाले बुढेसकालको सहारा बनेको संजिवनी वाटिकालाई आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाइन्।

कार्यक्रमलाई सम्बोधन गर्दै संजिवनी वाटिकाका अध्यक्ष समेत रहेका नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पूर्वमन्त्री फरमुल्लाह मंसुरले बृद्धहरूको अवस्थालाई ख्याल गरि ५ लाखको सानो रकमबाट २०६४ सालमा स्थापना गरिएको बताए।

कार्यक्रममा वीरगन्ज महानगरपालिकाकी उपप्रमुख ८९ वर्षिय शान्ति कार्की र पूर्व राष्ट्रिय सभा सदस्य कलैया उपमहानगरपालिकाका निवासी विश्वनाथ प्रसाद अग्रवाललाई जनही १० हजार नगद सहित सम्मान गरिएको छ।

संजिवनी वाटिका निर्माणमा सहयोग गर्ने चन्दादाता महागढीमाई नगरपालिका बरियारपुरका प्रमुख उपेन्द्र प्रसाद यादव, भरतपुर महानगरपालिकाका उप सचिव कृष्णप्रसाद चापागाईं, प्रज्जवल तिमिल्सिना, मनोज कुमार साह, प्रहलाद साह सोनार, शशिकान्त मिश्र, जगदिश प्रसाद कानुलाई दोसल्ला ओढाई सम्मान पत्र सहित नेतृ डा.देउवाले सम्मान गरेकी थिइन्। 

कार्यक्रममा नेपाली कांग्रेस बाराका सभापति जयचनद्र चौरसिया, प्रदेश सभासदस्य शोभा लामा, कांग्रेसका नेता मनिभुषण यादव, मुकेश कुशवाहा, संजय गुप्ता, सिम्रौणगढका मेयर विजयशंकर यादव लगायतको सहभागिता रहेको थियो।

प्रकाशित: १४ आश्विन २०७६ १३:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App