८ वैशाख २०८१ शनिबार
खेल

फिफा विश्वकप छनौट खेल्ने नेपाली टोलीको विदाई

तस्बिर : एन्फा

काठमाडौं– सन् २०२२ कतारमा आयोजना हुने फिफा विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको मंगलबार विदाई भएको छ। 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार अष्ट्रेलियासँग खेल्ने नेपालीलाई एक कार्यक्रम गरी विदाई गरेको हो। टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवाल र एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले विदाई गरेका हुन्।

विदाई कार्यक्रममा नेपाली टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक रणनीति अनुसार सुखद नतिजाका लागि खेल्ने बताए। कप्तान चेम्जोङले दशरथ रंगशाला समयमा नै बनोस् भन्दै घरेलु समर्थक माझ आफूहरु खेल्न आतुर रहेको बताए।

भूकम्पले भत्काए पछि दशरथ रंगशालामा कुनै प्रतियोगिता भएको छैन साथै पुननिर्माणको काम भइरहेको छ।

यस्तै कुवेतसँगको खेल पछि आराम पाएका नवयुग श्रेष्ठ र अजित भण्डारी टोलीमा फर्किएका छन्। छनोटको समूह ‘बी’ मा रहेको नेपालले असोज २३ गते अष्ट्रेलियासँग उसैको मैदानमा छनोट खेलको आफ्नो तेस्रो खेल खेल्दैछ। 

अस्ट्रेलियासँगको खेल पछि टोली अस्ट्रेलियाबाट असोज २८ गते जोर्डनसँग हुने खेलका लागि जानेछ। यस समूहमा २ खेलमा ३ अंक जोडेको नेपाल चौंथो स्थानमा रहेको छ।

छनोटको पहिलो खेलमा नेपाल कुवेतसँग उसैको मैदानमा ७–० को फराकिलो अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा चाइनिज ताइपेलाई २–० ले हराएको थियो।

नेपालसँगै समूह ‘बी’ मा रहेको अष्ट्रेलिया १ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा छ। यस समूहमा २ खेलमा ३ अंक जोडेको कुवेत शीर्ष स्थानमा छ। ३ अंक जोडेको जोर्डन तेस्रो र अंकविहीन ताइपे पुछारमा रहेको छ।  

प्रकाशित: १४ आश्विन २०७६ १२:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App