७ वैशाख २०८१ शुक्रबार
समाज

आपराधिक घटना रोक्न प्रहरी सक्रिय

बाँके- गाउँ, बस्ती, शहर, बजार सबैतिर दशैंको रौनक शुरु भइसकेको छ। कोही शहरबाट गाउँ फर्किरहेका छन् त कोही गाउँबाट शहरतिर झर्दैछन्। आफन्तहरु एकापसमा भेला हुन शुरु भइसकेको छ। परदेश गएकाहरु घर फर्किँदैछन्। कोही किनमेलमा ब्यस्त छन्। दशैंमा बलि चढाउन र मासुका लागि खसीबोकाको जोहो हुँदैछ। चाडपर्वको शुरुआतसँगै बाँकेमा सुरक्षा चुनौती पनि उत्तिकै थपिने गर्छ।

बाँकेमा प्रहरीले चाडपर्व लक्ष्यित सुरक्षा योजना सार्वजनिक गर्दै दशैँ, तिहार र छठ पर्वमा कोही पीडित हुन नपरोस् भन्ने उद्देश्यले सबैतिर प्रहरी परिचालन गरेर सुरक्षा व्यवस्थालाई चुस्त बनाएको दावी गरेको छ। अत्यधिक भीड हुने बैंक तथा वित्तीय संस्था, व्यावसायिक मल, मनोरञ्जन स्थल, बसपार्क जस्ता ठाउँमा आपराधिक घटना हुनसक्ने भएकाले त्यस्ता ठाउँमा सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ।     

प्रहरीले चाडबाड सुरक्षा योजनामा मदिरा खाएर होहल्ला, जुवातास, आतिशबाजी, गुण्डागर्दी नियन्त्रण गर्नेदेखि राजमार्ग सुरक्षासम्म रहेको छ। प्रहरी उपरीक्षक वीरबहादुर ओलीले ६५ किलोमिटरमा फैलिएको नाकादेखि बजार, राजमार्गमा आपराधिक घटना हुन नदिन सतर्कता अपनाइएको बताए।

भारतमा काम गरेर चाड मान्न घर फर्किने नेपालीलाई नाकामा सताउने र लुट्ने काम नहोस् भनेर भारतीय प्रहरीसँग समन्वय गरेर सादा पोशाकका प्रहरी परिचालन गरिएको हो।     

प्रहरी उपरीक्षक ओलीका अनुसार नाका, बजार, बसपार्कदेखि राजमार्गसम्म सुरक्षा निगरानी बढाइएको छ। चाडबाडमा विशेष गरेर बैंक तथा वित्तीय संस्था आसपास, भारतबाट मजदूरी गरेर फर्किने नेपाली लुटिने गर्दछन्। शहर या जिल्ला बाहिर टीका लगाउन जाँदा घर खाली हुने भएकाले त्यस्ता घरमा चोरी हुने खतरा बढ्छ।

प्रत्येक वर्ष दशैं र तिहार आसपासमा साना ठूला दुई दर्जनभन्दा बढी चोरीका घटना हुँदै आएका छन्। प्रहरीले यसपटक त्यस्तो हुन नदिन विशेष सतर्कता अपनाएको जनाएको छ।     

दुर्घटना न्यूनीकरणका लागि नियमितदेखि ‘सरप्राइज’ जाँचको व्यवस्था गरेको प्रहरी उपरीक्षक ओलीले बताए। चाडका बेलामा बजारमा कालाबजारीदेखि कमसल खाद्य पदार्थ बिक्री हुन सक्नेतर्फ पनि प्रहरी ध्यान लगाएर बसेको छ।

प्रहरी उपरीक्षक ओलीले चाडबाडमा हुन सक्ने जोखिमलाई ध्यानमा राखेर सुरक्षा निकायका प्रमुखहरुलाई बिदा नदिएको बताए। 'सरकारी अड्डाहरुमा आलोपालो भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको छ, गस्तीको प्रबन्ध गरिएको छ,' प्रहरी उपरीक्षक ओलीले भने– 'दशैंमा अपराध नहोस् भनेर हामी लागिपरेका छौं।'   

सीमाबाट बिचौलिया लखेट्दै प्रहरी     
खासगरी चाडपर्वकै बेला भारतबाट स्थलमार्ग हुँदै नेपाल भित्रिने नेपालीहरु लुटिने र ठगिने सूचनाहरु बाहिरिने गर्दछन्। तर, नेपाल–भारत सीमानाका जमुनाहामा भने भारतबाट मजदूरी गरेर फर्किँदै गरेका नेपालीहरु नेपालगञ्जका होटल व्यवसायीहरुबाट पीडित छन्। यतिबेला दैनिक करीब ५ सय नेपाली भारतबाट नेपाल फर्किने गरेका छन्। भारतबाट आउने नेपालीहरु बिहान र साँझको समयमा हुल बाँधेर आउने गरेका छन्।     

यही मौका छोपेर नेपालगञ्जका होटल व्यवसायीहरुले जमुनाहा नाकामा बिचौलिया खटाएका छन्। एकाबिहानै होटलबाट खटाइएका बिचौलियाहरु जमुनाहामा पुग्ने र भारतबाट आएका नेपालीहरुलाई तानातान गरेर हैरान पारिरहेका छन्।     

भारतबाट फर्किएका एक नेपालीले भने – 'कुन होटलमा गएर बस्ने भन्ने हामीलाई थाहा हुँदाहुँदै होटलवालाहरुले तानेर सताउँछन्।' होटलले निश्चित कमिसन दिएर बिचौलिया खटाउने गरेका छन्। भारतबाट आउने नेपालीलाई दुस् ख दिन थालेपछि प्रहरीले सीमानाका जमुनाहामा कडाइ गर्न शुरु गरेको छ। बिहानै ग्राहक खोज्दै जमुनाहा पुग्ने १०/१५ जना बिचौलियालाई दैनिकजसो प्रहरीले लखेट्नुपरेको छ।     

इलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी नायब निरीक्षक माधव रिजालले भने –'होटलबाट खटिएका व्यक्तिहरुले जमुनाहामै पुगेर अभद्र व्यवहार गरिरहेका छन्।' भारतबाट फर्किँदै गरेका नेपालीलाई आफ्ना होटलसम्म पुर्‍याउन विचौलियाहरुबीच बाझाबाझ नै हुने गरेको छ।     

प्रहरी उपरीक्षक ओलीले भने– 'भारतबाट फर्किँने मात्र नभई अन्य कुनै पनि यात्रुलाई तानेर अभद्र व्यवहार गर्नेलाई कारबाही गर्छौ। प्रहरीलाई खबर गरेर सहयोग गर्नुहोला।'    

होटल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष भीमलाल कँडेलले नेपालगञ्जका होटल व्यवसायीहरुलाई त्यसो नगर्न आग्रह गरिएको बताउँदै भने– 'यात्रुलाई अभद्र व्यवहार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाहीको दायरामा ल्याउनुपर्छ। व्यवसायी नसुध्रिए त्यसको जिम्मेवारी सङ्घले लिँदैन।'    

सीमामा ‘हेल्प डेस्क’     
चाडपर्वका बेला सीमानाकामा हुने विभिन्न अपराध तथा ठगी नियन्त्रण गर्न र पीडितलाई तत्काल सहयोग गर्न जमुनाहा नाकामा यात्रु सहायता कक्ष स्थापना गरिएको छ।     

त्यस्ता आपराधिक घटनालाई ध्यानमा राख्दै नेपाल–भारत सीमानाका जमुनाहामा सावधानी अपनाइएको छ। घटना हुन नदिने र केही गरी भइहालेमा पीडितको सहयोग र उद्धारका लागि प्रहरी तयारी अवस्थामा रहेको बताइएको छ।    

घटना घटेको सूचना पाएको ५ मिनेटमै प्रहरी टोली परिचालन गर्ने व्यवस्था मिलाइएको छ। नाकामा ‘यात्रु सहायता कक्ष’ स्थापना भइसकेको छ। इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख एवं प्रहरी नायब निरीक्षक माधव रिजालले भने– 'सीमा क्षेत्रमा भीडभाडका बेला हुने ठगी र अपराधबाट सर्वसाधारणलाई सुरक्षित बनाउन कक्षको स्थापना गरिएको हो।'    

प्रहरीको अगुवाइमा थालिएको यस कदममा स्थानीय सहयोगी पनि एकजुट भएको उनले बताए। नेपाल–भारत सीमानाकाको मुख्य प्रवेशद्वारमै सहायता कक्षको स्थापना गरिएको छ। कक्षमा प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी, विभिन्न यातायात व्यवसायी, स्थानीय नागरिक समाज लगायतका प्रतिनिधिहरु रहनेछन्।     

इलाका प्रहरी कार्यालयका अनुसार सामान्य अवस्थामा पनि दैनिक २ हजार ५ सयभन्दा बढी यात्रुको यसै नाकाबाट आवागमन हुने गर्छ। दशैं तिहारका बेला चार हजारभन्दा बढी यात्रुहरुको आवागमन हुने गरेको प्रहरी नायब निरीक्षक रिजालले बताए।     

नशालु पदार्थको प्रयोग गरी यात्रुलाई लठ्याएर लुट्ने, रिक्सा र गाडीवालाले चर्को भाडा असुल्ने, यात्रु मिलाएबापत कमिशन खाने, यात्रु तानातान गर्ने र बसको टिकट मिलाइदिने भन्दै पैसा असुलेर अलपत्र पार्ने, एउटा सिटको बसको टिकट धेरै जनालाई दिने, यात्रुको चापअनुसारका गाडी उपलब्ध नहुनेजस्ता समस्या यात्रुले भोग्ने गरेका छन्।     

कोही लुटिएर बेखर्ची भएमा गन्तव्यसम्म पुग्ने व्यवस्था, नशालु पदार्थको सेवन गराएर लुटिएका पीडित फेला परेमा उनीहरूको उपचार र घरसम्म पुर्‍याउने व्यवस्था, हराएका बालबालिका तथा अलपत्रमा परेका यात्रुलाई संरक्षण तथा उद्धार गर्न सहायता कक्ष सञ्चालनमा ल्याएको प्रहरी उपरीक्षक ओलीको भनाइ छ।

यात्रुको चापअनुसार सवारी साधन उपलब्ध नभएमा तत्काल थप गर्ने, ठग तथा दलालको खोजी र कारबाही गर्ने पनि प्रहरीले बताएको छ। रासस

प्रकाशित: १४ आश्विन २०७६ १०:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App