coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

फलेन उन्नत जातको धान, किसान चिन्तित

किसानकै खेतमा पुगेर अनुसन्धान गर्दै कृषि विकास निर्देशनालय दिपायल डोटीका प्रमुख यज्ञराज जोशीलगायतको विशेषज्ञ प्राविधिक टोली। तस्बिरः नागरिक

कैलाली- नेपाल सरकारले पञ्जिकृत गरेको गरिमा जातको धान नफल्दा कैलाली, कञ्चनपुरका किसान चिन्तित छन्। मसिनो तथा बास्नादार र खानका लागि स्वादिलो हुने भन्दै किसानले गरिमा जातको धान रोपेका थिए। धान फलेर पाक्ने समय भइसक्दा पनि धानमा बाला नलाग्दा किसान भने चिन्तित बनेका हुन्।

कैलालीको गौरीगंगा नगरपालिका, घोडाघोडी नगरपालिका, जोशीपुर गाउँपालिका र जानकीनगर गाउँपालिका तथा कञ्चनपुरको बेलौरी नगरपालिका, शुक्लाफाँटा नगरपालिका, पुनर्बास नगरपालिका र बेल्डाँडी गाउँपालिकाका किसानले गरिमा जातको धान रोपेका थिए। धान पाक्ने समय भइसक्दा पनि खेतमा रोपिएको धानमा बाला नलाग्दा किसान भने चिन्तित छन्।

गरिमा जातको धान दस कठ्ठा जमिनमा लगाएको बताउँदै गौरीगंगा नगरपालिका–७, मट्कौनाका हेमन्तराज ओझाले भने, ‘सरकारले समेत सिफारिस गरेको मसिनो तथा धेरै फल्ने धान भएकाले गरिमा जातको बीउ लगाइयो, त्यो अहिलेसम्म फलेन।’ भएको पूरै खेतमा गरिमा जातको धानको बीउ रोपेको बताउँदै उनी भन्छन्, ‘भएको पूरै खेतमा गरिमा जातको धान रोपे, धान नफुल्दा यसपालि भोकमरी हुने भयो।’ धान नफलेपछि किनेर जहान परिवार पाल्नुपर्ने समस्या आइलागेको उनी बताउँछन्।  स्थानीय एग्रोभेटबाट  गरिमा धानको बीउ लिएर रोपाइँ गरेकोमा अहिलेसम्म धानमा बाला लाग्ने संकेत नदेखिएको उनले बताए। ‘धानको बोट हेर्दा मोटो छ, तर बाला अंकुराउने लक्ष्यण नै देखिँदैन,’ उनले भने,‘स–सानो खेतबारी भएका हामी किसानले धेरै धान फलाउने उद्देश्यले उन्नत जातको धान खेती ग¥यौँ, तर अहिले बाला नलाग्दा भने चिन्तित छौँ।’ उनी मात्रै हैनन् कैलाली, कञ्चनपुरका सयौँ किसान धान नफल्दा चिन्तित बनेका हुन्।

कैलाली, कञ्चनपुरका किसानले लगाएको धानबाली नफलेको खबर पाउने वित्तिकै आइतबार नै कृषि विकास निर्देशनालय दिपायल डोटीका प्रमुख यज्ञराज जोशीको संयोजकत्वमा ९ सदस्यीय प्राविधिक कार्यदल गठन गरिएको छ। कार्यदलले कैलालीका विभिन्न किसानको खेतबारीमै पुगेर बालीको अध्ययन, अनुसन्धान गरेको छ। ‘हामी किसानको बारीमै पुग्यौँ,’ कृषि विकास निर्देशनालयका प्रमुख जोशीले भने,‘धेरै फल्ने र छिटो पाक्ने भएकाले किसानले गरिमा गरिमा जातको धानको वर्णशंकर लगाएका रहेछन्, यसले किसानलाई ठूलो धोका दियो।’

कैलाली र कञ्चनपुरमा ७ सय बिघा भन्दा बढी क्षेत्रफलमा गरिमा धानको बीउ रोपिएको र यसले फसल नदिएको प्रारम्भिक अध्ययनबाट देखिएको बताउँदै जोशीले भने,‘कैलाली, कञ्चनपुरमा मात्रै ७ सय बिघा खेतमा धान फलेको छैन।’ 
बाली निरीक्षणपश्चात् जोशीले धानको बोटमा खैरो थोपा भएको ढुसीजन्य रोग देखिएको र गरिमा जातको धानमा यस्तो रोगको लक्ष्यण नहुने बताए। गरिमा धानले विगतमा राम्रो उत्पादन दिएको विश्वासका आधारमै किसनको अत्याधिक मागका कारण कसैले अन्य जातको धानको बीउ बिक्री गरेको हुनसक्ने भएकाले पनि यसको गहन अध्ययन गरेर दोषीलाई कारबाही गर्न संघीय सरकार र प्रदेश सरकारलाई पत्राचार गरिने उनले बताए।

अध्ययनका क्रममा किसानले गरिमा जातको धानको बीउ किनेको एग्रोभेटमा सोध्दै जाँदा नेपालमै यो धानको एक मात्रै डिलर दाङमा रहेको र त्यहीबाट पश्चिममा कञ्चनपुरदेखि पूर्वमा चितवनसम्म यो धानको बीउ वितरण भइको देखिएको उनले बताए। ‘दाङको डिलरसँग कुरा भएको छ,’ उनले भने,‘के कति कारणले धान फल्ने बीउ किसानलाई उपलब्ध गराएको भनेर जवाफ मागेका छौँ।’ कैलाली र कञ्चनपुरका विभिन्न क्षेत्रमा निरीक्षण गरी यहाँ लगाइएको धानको नमुना परीक्षणका लागि बाली विज्ञानको ल्याबमा पठाई सकिएको भन्दै उनले भने,‘बीउ बिक्री गर्ने एग्रोभेट र डिलर जवाफदेही र जिम्मेवार रहने छ।’

यस वर्ष उसै पनि धानका लागि चाहिने पर्याप्त पानी नपर्दा अन्नको भण्डार मानिएको कैलाली, कञ्चनपुरमा अघिल्लो वर्षको तुलनामा उत्पादन कम हुने आँकलन गरिरहेकै बेला गरिमा जातको धानले फसल नदिँदा ठूलो परिणाममा अन्य प्रदेशबाट चामल आयात गर्नुपर्ने अवस्था आउन सक्ने उनले बताए।

प्रकाशित: १४ आश्विन २०७६ ०८:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App