coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अवरुद्ध सडक १४ घण्टापछि खुल्यो

दिक्तेल–जयराम सडकको नागीमा खसेको पहिरो। तस्बिर: नागरिक

खोटाङ — वर्षाका बेला पनि सञ्चालनमा रहेको खोटाङको एक मात्र दिक्तेल–हलेसी सडक पहिरोका कारण करिब १४ घण्टा अवरुद्ध भएको छ। निरन्तरको वर्षापछि हलेसी तुवाचुङ नगरपालिकाको नागीमा पहिरो खस्दा अवरुद्ध बनेको सडक मंगलबार बिहान साँढे ९ बजे खुलाइएको हो। सोमबार साँझ ७ बजे माथिबाट खसेको पहिरो सडकको ५० मिटरभन्दा बढी क्षेत्रमा थुप्रिएपछि मध्यपहाडी लोकमार्ग अन्तरगतको दिक्तेल–हलेसी सडक अवरुद्ध बनेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए।

हलेसी तुवाचुङ नगरपालिकाको पहलमा दुई वटा जेसिभी प्रयोग गरेर सडकको अवरोध हटाइएपछि सडक खुलेको हो। ‘ठूलो पहिरो खसेको रहेछ। दुई वटा जेसिभि प्रयोग गरेर बिहानैदेखि पहिरो पन्छाउने काम भएको छ,’ मेयर राईले भने, ‘सडकबाट सवारी साधन आवत–जावत गर्ने वातावरण बनाइएको छ।’

सवारी साधन एकतर्फी आवत–जावत सुरु भएपनि पहिरो पन्छाउने काम पूर्णरुपमा नसकिएको पहिरोमा छेकिएका शिक्षक दिलीप राईले बताए। वर्षाका कारण जिल्लाका सबै कच्ची सडक ठप्प भएको अवस्थामा पनि सञ्चालनमा रहेको एक मात्र सडकमा पहिरो खस्दा यात्रु थप मारमा परेका छन्। दशैं र तिहारको मुखमा खोटाङका दिक्तेल–बाक्सिला, दिक्तेल–ऐसेलुखर्क, दिक्तेल–पाथेका, दिक्तेल–मात्तिम–पञ्चमी, दिक्तेल–रेग्मीटार–रसुवा सडक ठप्प बनेको छ। यस्तै, मध्यपहाडी लोकमार्ग अन्तर्गतको दिक्तेल–निर्मलीडाँडा–चखेवाभन्ज्याङ सडक पनि ठप्प छ।

जिल्ला प्रशासन कार्यालयले दिक्तेल–निर्मलीडाँडा–चखेवाभन्ज्याङ सडकलाई चालु अवस्थामा राख्न ठेकेदारलाई निर्देशन दिएको हप्ता दिन वितिसक्दा पनि कार्यान्वयन भएको छैन। गाउँ घरमा पुग्ने सडक वर्षाका कारण बन्द भएपछि दशैं तिहार मनाउन घर फर्कने स्थानीय चिन्तित बनेका छन्। सडक हिलाम्मे भएका कारण यात्रु हिँडेर गाउँ घर गर्न बाध्य बनेका छन्।

प्रकाशित: १४ आश्विन २०७६ ०६:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App