८ वैशाख २०८१ शनिबार
समाज

माटो जाँचले बढायो कृषिजन्य वस्तुको उत्पादन

जाजरकोट- अघिल्लो वर्ष कृषिजन्य पदार्थको उत्पादन बढाउन माटो जाँचले उत्पादन बढेको छ। अघिल्लो वर्षभन्दा यो वर्ष उत्पादनमा वृद्धि भएसँगै किसानले नगरपालिकाबाट ५० प्रतिशत अनुदानमा बीउ लिएर व्यावसायिक खेती गर्न थालेका छन्।     
     
गत वर्ष ७५ प्रतिशत अनुदानमा बीउ पाएका किसानले अहिले ५० प्रतिशत अनुदानमा बीउ पाएका हुन्। भेरी नगरपालिकाले गाउँगाउँमा गएर किसानको खेतबारीमै माटो जाँच गरी माटोमा अम्लियपन पत्ता लगाएर सोहीअनुसारका बीउ सिफारिश गरेको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए।     
     
कृषक समूह मार्फत बीउ वितरण गरी सबै कृषकलाई व्यावसायिक रूपमा खेती गर्ने वातावरण बनाएको छ। उनले भने, 'अघिल्लो वर्षभन्दा यो वर्ष बीउ लिने र सहयोग माग्ने कृषकको सङ्ख्या अत्यधिक भएको छ, नगरपालिकालाई सबैभन्दा उत्कृष्ट बनाउन किसानको माग नै पहिलो आधार बनाएका छौँ।'   
     
कृषकले लगाएको बालीको रेखदेख र सल्लाह दिनका लागि खेतबारीमा प्राविधिक खटाउनुका साथै वडाध्यक्षलाई निगरानी गर्न आग्रह समेत गरेको प्रमुख घर्तीले बताए। माटो र परिवेश सुहाउँदो खेती गर्न किसानलाई सहयोग गरी अगाडि बढाउन कृषि क्षेत्र विकास कार्यक्रमसँग सम्झौता गरिएको छ। सो कार्यक्रमबाट नगरपालिकाका कृषकको जीवनस्तर माथि उठाउन महत्वपूर्ण कार्य हुने नगरपालिकाले जनाएको छ।     

कार्यक्रमले पूर्वाधार विकासका साथै तरकारी खेती, ओखर, कागतीलगायतका बिरुवा उत्पादनमा लगानी गर्नेछ। कृषकले उत्पादन गरेका कृषिजन्य वस्तुको बजारीकरण गर्नका लागि सडक निर्माण गर्ने योजनासमेत रहेको छ। त्यस्तै किसानलाई कृषिजन्य वस्तुको उत्पादन गर्नका लागि चाहिने मल, औजार, आवश्यक औषधि तथा उपकरणका साथै तालीमसमेत दिने प्रमुख घर्तीले बताए।     
     
माटो जाँचपछि उत्पादन राम्रो पाएर कृषिजन्य वस्तुको उत्पादनलाई थप प्रभावकारी बनाएका कृषक अहिले नगरपालिकामा नयाँ–नयाँ खालका योजना माग गर्न थालेका छन्। वडा नं ८ का कृषक लालबहादुर थापाले भने, 'हामी माल भएर चाल नपाउने किसान रहेछौँ, अहिले हामी नगरपालिकासँगको सहकार्यलाई बढाएर लैजान्छौँ र आफैँ आत्मनिर्भर भई परिचय बदल्छौँ।' स्थानीय सरकार नहुँदा सदरमुकाम आएर कहिले पनि बीउ नपाई फर्केको समस्या सुनाउँदै अर्का किसान मानबहादुर घर्तीले बताए।     
     
नगरपालिकाले नेपालकै पहिलो पोषण एप्स बनाई प्रयोगमा ल्याएसँगै यहाँका कृषकले लाभसमेत उठाएका छन्। सो एप्समा कृषिदेखि पोषणसम्म र बालीनाली लगाउनेदेखि कसरी खानेसम्मका कुरा समेटिएका कारण कृषकलाई सजिलो भएको हो।

कृषकलाई राहत पुग्ने खालका नयाँ–नयाँ योजना ल्याएर प्रयोग गर्ने थुपै योजना कार्यान्वयमा आउने प्रशासकीय अधिकृत डिल्लीराज बेल्वासेले बताए। रासस

प्रकाशित: १४ आश्विन २०७६ ०५:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App