८ वैशाख २०८१ शनिबार
अर्थ

खुलेनन् सुपथ मूल्यका पसल

डोटी- जिल्लाका प्रमुख व्यापारी केन्द्र दिपायल, पिपल्ला तथा सिलगढीमा दशैँ–तिहारमा हरेक वर्ष सञ्चालन हुँदै आएका सुपथ मूल्यका पसल अहिलेसम्म सञ्चालन भएका छैनन्। सुपथ मूल्यका पसल सञ्चालन नहुँदा यहाँका उपभोक्ता बजारमा तोकिएको भन्दा महङ्गो मूल्यका सामान किन्न बाध्य छन्।     
     
साल्टट्रेडिङ कर्पोरेशनको उपशाखा कार्यालयले दशैँ–तिहारका लागि दिपायलस्थित पिपल्लालगायतका मुख्य बजारमा सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको थियो। सुपथ मूल्यको पसलमा आवश्यक पर्ने चिनी, नुनलगायतका खाद्यान्न दिपायलका लागि ढुवानी ठेक्का कसैले पनि नहालेका कारण सुपथ मूल्य पसल सञ्चालन गर्न नसकेको साल्टट्रेडिङ कर्पोरेशन उपशाखा कार्यालयले जनाएको छ।     
     
साल्टट्रेडिङ उपशाखाले सुपथ मूल्यको पसल सञ्चालन नगरेको भन्दै स्थानीयवासी आक्रोशित भएका छन्। साल्टट्रेडिङले पसल नचलाउने नाममा विभिन्न बाहना देखाउन थालेको पूर्वउद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेन्द्रबहादुर खड्काले बताए। उनले भने, 'ढुवानी ठेक्का नहुँदा पसल नचलाएको भन्नु साल्टट्रेडिङ कर्पोरेशनको गैरजिम्मेवार भनाइ हो, नागरिकले पाउने सुविधाबाट बञ्चित गराउनु गलत छ।'   
     
बजारमा हाल चिनी ९५ रुपैयाँ र नुन २५ रुपैयाँ प्रतिकिलोका दरले बिक्री हुँदै आएको छ। दशैँमा बजारमा व्यापारीले आफूखशी मनपरी रकम असुल गर्न थालेको स्थानीयवासी भरतबहादुर विकले बताए। प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले सुपथ मूल्यको पसल सञ्चालन नभएको विषयमा आवश्यक जानकारी लिई सञ्चालन गर्न पहल गर्ने बताए।     
     
यतिमात्र नभई गत वर्ष खरीद गरिएको चिनीको मूल्य निर्धारण अर्थात रकम नतोकिएको भन्दै साल्टट्रेडिङ कर्पोरेशनले खरीद गरी ल्याएको चिनीसमेत गोदाममै थन्किएको छ। गत वर्ष यहाँका केही स्थानीय तहले सञ्चालन गरेका सुपथ मूल्य पसल पनि यो वर्ष सञ्चालन हुन सकेका छैनन्। रासस

प्रकाशित: १४ आश्विन २०७६ ०५:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App