८ वैशाख २०८१ शनिबार
विचार

भ्रमण वर्षको संकेत

सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ घोषणा गरेर २० लाखको संख्यामा विदेशी पर्यटक भिœयाउने लक्ष्य राखेको सरकारको अहिलेसम्मको तयारी र नेपाल आउने पर्यटकको संख्या हेर्दा यसले मूर्त रूप लिनसक्ने संभावना देखिएको छैन। सर्वसाधारणमाझ लोकप्रिय बन्न विभिन्न कुरा घोषणा गर्ने, केही नीति÷नियम पनि बनाउने तर कार्यान्वयनमा लैजान पटक्कै नसक्ने अधिकांश मन्त्रीको प्रवृत्ति भ्रमण वर्षको सवालमा पनि देखिएको छ।

मुलुकमा १०–११ लाखको संख्यामा पर्यटक आइरहेका बेला विशेष तयारीबिना एकैचोटि दोब्बर पर्यटक भिœयाउँछु भन्नु संभावना कम भएको विषय हो। अहिलेका तथ्यांकले पनि यस्तै संकेत गरेको छ। चालु आर्थिक वर्षको ८ महिनामा ७ लाख ४२ हजार पर्यटक नेपाल आएका छन्। यसबीच केही महिना नेपालका लागि पर्यटकीय मौसम नभए पनि नेपालमा महिनाको एक लाखभन्दा बढी पर्यटक आउने वातावरण बन्न सकेको छैन। अध्यागमन विभागको तथ्यांकलेयो वर्षको आठ महिनामा ७ लाख ४२ हजार पर्यटक नेपाल आएको देखाएको छ।

यो गत वर्षभन्दा ६१ हजारलेमात्र बढी हो। सरकार आफैँले यो बेला पर्यटक आगमन कम्तीमा २० प्रतिशतले बढ्ने अनुमान गरेको थियो। तरभ्रमण वर्षको प्रचारप्रसार गरिरहँदा अहिले पर्यटक आगमन १० प्रतिशतले बढ्न सकेको छैन। एसियालगायत युरोपका केही देशबाट नेपाल आउने पर्यटकको संख्या उल्टै घटेको छ।यो वर्ष नजिकको छिमेकी बंगलादेश, पाकिस्तानका साथै युरोपका बेल्जियम, डेनमार्क, न्युजिल्यान्ड, नर्वे, स्विजरल्यान्डलगायत देशबाट आउने पर्यटक घटेका छन्। यसबाहेकका अधिकांश मुलुकबाट आउने पर्यटकको संख्या बढेको त छ तर झिनो प्रतिशतले मात्र।

सरकारका अधिकारीहरू पर्यटक धेरै नआउनुमा प्रमुख तीन कारण मान्छन्– यसबीचका केही महिना पर्यटकीय मौसम नहुनु, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका कारण राति अन्तर्राष्ट्रिय उडान–अवतरण नहुनुर बन्द जेट एयरवेजकोस्थानमा अर्काे कम्पनीको उडान सुरु नहुनु।सरकारको यो दाबी केही हदसम्म जायज पनि हो। यो वर्षको मुख्य पर्यटकीय मौसम अब सुरु हुँदैछ। विगतका वर्षहरू हेर्दा मुख्य मौसममा पर्यटक बढी आएको तथ्यांक हामीसँग छ। विमानस्थल बनाउँदा परेको समस्याले धेरै हवाईजहाज कम्पनीले उडान कटौती गरेका पनि थिए। तर यो भन्दैमा सरकार उम्कन पाउने छैन। सरकारकोलक्ष्य पर्यटक संख्या विगतका तुलनामा लगभग दोब्बर बनाउने हो। यस्ता स–साना बाधा र व्यवधानले पर्यटक घट्ने हो भने लक्ष्य धेरै टाढाको विषय हुनेछ।

नेपालजस्तो प्राकृतिक तथा जैविक विविधता र सांस्कृतिक सम्पदाले भरिएको, सुन्दर हिमालहरूएंव सगरमाथाको मुलुकमा आउने पर्यटकको आगमन किन यति सानो छ ?यो सोच्नुपर्ने विषय हो। हाम्रोजस्तो मुलुकमा वार्षिक एक करोड पर्यटक आउनु ठूलो कुरा नहुनुपर्ने हो। तर दुर्भाग्य, अहिले हामी २० लाखको कुरा गर्दैछौँं। पर्यटन उद्योग पूर्वाधार विकासमा आधारित सेवा व्यवसाय हो। पर्यटक ल्याउन पहिले पूर्वाधार तयार गर्नुपर्छ अनिमात्र प्रचारप्रसार। हामी भने उल्टो गरिरहेका छौँ। पहिलो त पूर्वाधार बनेको छैन र भएको पनि लथालिंग अवस्थामा छ। दोस्रो हाम्रो प्रचारप्रसार पनि अति कमजोर छ। प्रविधिको साथ लिइएको छैन। भ्रमण वर्षबारे संंसारका धेरै देशमा प्रवद्र्धन भइरहेको दाबी सरकारी अधिकारीको छ। सरकारले युरोप, मध्यपूर्व, दक्षिणपूर्वी एसियाली मुलुकलगायतमा प्रवद्र्धन भइरहेको बताइरहँदा तीनै मुलुकबाट पर्यटक आगमन उल्टै घटेको छ।

चीन र भारतजस्ता ठूला अर्थव्यवस्था भएका मुलुकको बीचमा हामी छौँ। हामी देशमा औद्योगिकीकरण गरेर चीन र भारतसँग प्रतिस्पर्धा गर्न सक्दैनौँ। नत जलस्रोतको विकासले मात्र हामी धेरै धनी हुनसक्छौँ। हाम्रो जस्तो मुलुकको विकासका लागि सबैभन्दा उत्तम विकल्प भनेकै पर्यटन व्यवसाय हो। अहिले पेट्रोलियम पदार्थ बेचेर धनी भएका मध्यपूर्वका देशले समेत भविष्यको आयस्रोत पर्यटनमा देखेका छन्।

र, त्यसैअनुसार लगानी गरिरहेका छन्। हामी भने प्रचुर संभावना भएर पनि खुम्चिएर बसेका छौँं। मुलुकको आर्थिक विकास गर्न चाहिने स्रोत पर्यटन व्यवसायबाट लिन सक्ने संभावना छ। हाम्रो निर्यात कमजोर भएको पृष्ठभूमिमा विदेशी मुद्रा आर्जन गर्ने भरपर्दो माध्यम पनि यही व्यवसाय हुनसक्छ। यसका लागि सरकारले भ्रमण वर्ष घोषणा गरेर यति उति पर्यटक भिœयाउने भनेर लक्ष्य तोक्नुभन्दा पर्यटन व्यवसायको दीर्घकालीन योजना ल्याएर त्यसैअनुसार अगाडि बढ्दा बढी फाइदा हुनेछ।

प्रकाशित: १४ आश्विन २०७६ ०३:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App