८ वैशाख २०८१ शनिबार
समाज

मञ्जुलको ‘सम्झनाका पाइलाहरू’ सार्वजनिक

काठमाडौं – कवि तथा गीतकार मञ्जुलले गीति यात्रा संस्मरण समेटिएको पुस्तक ‘सम्झनाका पाइलाहरू’ सार्वजनिक गरेका छन्। नेपालयले आयोजना गरेको पलेँटी शृखलाअन्तर्गत आइतबार उनको पुस्तक विमोचन भएको थियो।

‘सम्झनाका पाइलाहरू’ मञ्जुल र गायक तथा संगीतकार रामेशले पूर्वी नेपालको सांगीतिक यात्रा गर्दाको सम्झनाको संगालो हो। विसं. २०४४ सालमा पहिलोपल्ट प्रकाशित सम्झनाका पाइलाहरूलाई नेपालयले ‘नेपालय क्लासिक’अन्तर्गत पुनः प्रकाशित गरेको हो। ‘पलेँटी’ मा मञ्जुलले विगतको सांगीतिक यात्राको चर्चासँगै उनले रचना गरेका आठ वटा गीतहरू प्रस्तुत गरे।

‘कार्यशील जिन्दगी’ बाट सुरु भएको कार्यक्रममा ‘भोकै मर्ने महाकविका पेटका सारंगीहरू’, ‘गाइ त बाँध्यो ढुंग्रोमा मोई छैन, गरीबको चमेली बोल्दिने कोही छैन’ र ‘कोही त भने जहाज हरर’ लगायत गीत प्रस्तुत गरिएका थिए। त्यस्तै कवि मञ्जुलले ‘गीतार’ कविता वाचन गरेका थिए। कार्यक्रममा राजनीतिज्ञ रघु पन्तले मञ्जुलको व्यक्तित्व र कृतिमाथि आफ्नो मन्तव्य राखेका थिए।

‘मञ्जुल दाइले एउटा उपन्यास लेख्नु भएको थियो। त्यो कृति सयौं प्रति मञ्जुल दाइ र म सँगै बसेर आगोमा जलाएका थियौं। पुस्तक जलाउने क्रममा मलाई कताकता लाग्यो, एककपी रेकर्डको लागि राख्नु पर्छ तर मञ्जुल दाइले मैले के लेखेँ अब यसलाई निमिट्यान्नै पार्नुपर्छ भन्नुभएथ्यो। यो उहाँहरूले गरेको सांगीतिक यात्राको छोटो समयको वर्णन हो तर यसमा तत्कालीन सामाजिक, राजनैतिक र सांस्कृतिक अवस्थाको सुन्दर चित्रण छ।’

मञ्जुलको पलेँटीमा गायनतर्फ मीना निरौला, योगेन्द्र उपाध्याय र आभासले साथ दिएका थिए। अंग्रेजी महिनाको अन्तिम हप्ता संचालन हुँदै आएको ’पलेँटी’को अक्टोबरको शृंखलामा सुमन थापा प्रस्तुत हुने भएका छन्।

प्रकाशित: १४ आश्विन २०७६ ०२:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App