coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

प्याजको मूल्य अनियन्त्रित

काठमाडौं – आइतबार भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपाली बजारमा त्यसको असर देखिन थालेको छ। मुलुककै ठूलो फलफूल तथा तरकारी बिक्री केन्द्र कालीमाटीमा आइतबार प्रतिकिलो एक सय पाँच रुपैयाँमा किनबेच भएको प्याजको खुद्रा मूल्य सोमबार एक सय ३५ पुग्यो।

कालीमाटीभन्दा बाहिरको बजारमा आइतबारसम्म एक सय २० रुपैयाँ प्रतिकिलोमा बिक्री गरिरहेका व्यापारीले एक सय ५० पु-याए। अहिले बजारमा प्याज पर्याप्त रहे पनि भारतले प्रतिबन्ध लगाएको निहुँमा व्यापारीले मनपरी गरेका हुन्। प्याज मौज्दात कम हुँदै जाँदा मूल्य अझै अकासिने निश्चित छ।

सामान्यतया अभावको मौका छोपेर मूल्यवृद्धि गर्न पाइन्न। ‘आइतबार भारतले निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेसँगै व्यापारीले मूल्य बढाउन सक्ने ठानेर सोमबार हामी अनुगमन गर्न कालीमाटी पुग्यौं,’ वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निरीक्षण अधिकृत कपिलप्रसाद रेग्मीले भने, ‘अघिल्लो दिनको तुलनामा मूल्य केही भोलिपल्टको बढेकै मूल्यको खरिद बिल देखाए।’ आइतबार भारतले गरेको निर्णयको फाइदा उठाउँदै व्यवसायीले केही चलाखी गर्न खोजे पनि मौज्दातमा रहेको प्याजको मूल्य नबढाउन निर्देशन दिएको र व्यापारीले समेत सोही अनुसार प्रतिबद्धता जनाएको रेग्मीको भनाइ छ।

रेग्मीले सबै व्यवसायी पसलमा नभेटिएका कारण मौज्दात यकिन हुन नसके पनि ७५ देखि ८० टन प्याज मौज्दात रहेको हुन सक्ने अनुमान गरे। केही व्यापारीले बताएको मौज्दातभन्दा वास्तविक मौज्दात बढी देखिएकोले उनीहरुसँग अनुगमन टोलीले स्पष्टीकरण सोधेको छ। रेग्मीले भने, ‘व्यवसायीका कालीमाटीबाहिर पनि गोदाम रहेको बुझिएकोले उनीहरुले कालोबजारी गर्न सक्ने सम्भावनालाई ध्यानमा राखेर अनुगमनलाई तीव्रता दिइनेछ ’।

आइतबार कालीमाटीमा जम्मा २० टन प्याज भित्रिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठले बताए। उनले भने, ‘कालीमाटीमा दैनिक औसत ८० टन प्याज आउने गरेको तथ्यांक छ। व्यवसायीले भारतबाटै कम परिणाममा आएको बताएका छन्।’ उनले अनुगमन सुरु भइसकेकोले मौज्दातमा रहेको प्याजको मूल्य बढाउन व्यवसायीले आँट नगर्ने बताए। ‘तत्काललाई व्यवसायीले चीनबाट प्याज आयात गर्ने तयारी गरिरहेका छन्,’ श्रेष्ठले भने, ‘नेपाली उत्पादनले १० प्रतिशतमात्र माग पूरा गर्छ। यस्तो अवस्थामा उपभोगमा मितव्ययी हुनुपर्छ।’ उनले अनुगमन कालीमाटीमा मात्र गर्नुभन्दा खुद्रा व्यवसायीसम्म विस्तार गर्नुपर्ने सुझाए।

विभागका महानिर्देशक योगेन्द्र गौचनले विभागले अहिले बजारमा रहेको प्याजको बिक्री वितरणलाई मर्यादित गराउने प्रमुख भूमिका रहने बताए। ‘कसैले पनि कृत्रिम अभाव सिर्जना गरेर मूल्य बढाउन पाउँदैन,’ उनले भने, ‘अभावका बेला कालोबजारी नियन्त्रण र आपूर्ति सहज बनाउनेबारे हामीले मन्त्रालयलाई जानकारी गराएका छौं, विकल्पमा छलफल होला।’

गत वर्ष भारतबाट एक लाख ६७ हजार नौ सय ५२ टन प्याज आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ। यसले नेपालमा प्याजको औसत माग दैनिक चार सय ५० टनभन्दा बढी देखिन्छ।

प्रकाशित: १४ आश्विन २०७६ ०२:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App