coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दसैंको बेला सडक थाङथिलो

पाँचथर - ‘हट्यो सारा हिलो मैलो, हरायो पानीको वर्षा।
भयो भवानीको पूजा, चल्यो आनन्दको चर्चा।’

कवि शिरोमणि लेखनाथ पौड्यालले दसैंको महत्त्व र उल्लास कवितामा यसरी पोखेका छन्। तर यसपालिको दसैंमा हिलोमैलो हट्न सकेको हैन। झरी–वर्षाले गाउँ जोड्ने सडक हिलाम्मे छन्। विगतमा घटस्थापनापछि एक नम्बर प्रदेशका पहाडी जिल्लामा दसैंको रन्को ‘सुकिलो’ हुन्थ्यो। छ्यांङ मौसम खुलेर हिमाल, पहाड देखिने यो बेला घरघरमा दसैंका लागि खाद्यान्न, मनोरञ्जनका साधनहरू भित्रिन्थे। तर दसैंको बेला भएको वर्षाका कारण यो वर्ष फूलपातीको सँघारमा समेत रौनक सुरु हुन सकेको छैन।

यतिबेला देश–विदेशमा रहेका परिवारका सदस्यहरू गाउँ आउने क्रम सुरु भएको छ। तर ग्रामीण क्षेत्र जोड्ने सडक वर्षाले थङथिलो भएका कारण उनीहरूको यात्रा कष्टपूर्ण बनेको छ। सडकका कारण यो वर्षको दसैैं सकसपूर्ण हुने देखिएको छ। ग्रामीण क्षेत्रका साना तथा टोलका बजारमा दसैंको खासै चहपहल देखिएको छैन। स्थानीयले गाडी नआउँदा दसैंका सामग्रीहरू घर भित्र्याउन पाइरहेका छैनन्। मुख्य राजमार्ग र ठुला सहरबाट ग्रामीण क्षेत्र जोड्ने अधिकतर सडक समस्याग्रस्त बनेका छन्।

प्रदेश एकको पाँचथर, ताप्लेजुङ, तेह्र्रथुम, धनकुटा, इलाम, भोजपुर, संखुवासभालगायत पहाडी जिल्लाका ग्रामीण क्षेत्र जोड्ने सडकहरूका कारण यो वर्षको दसैं कष्टपूर्ण हुने देखिएको हो। ग्रामीण क्षेत्रमा रहेका स्थानीय तहका केन्द्र पुग्नसमेत कठिन हुने गरेको छ। त्यसो त पहाडी जिल्लाहरूमा विकासका नाममा सडक प्रमुख प्राथमिकतामा राखिएको छ। तर अघिल्लो आर्थिक वर्षको अन्तिमतिर खनिएका, मर्मत तथा स्तरोन्नति गरिएका सडकहरूको अवस्थासमेत बिग्रिएको छ। कतिपय सडकहरूमा गाडी गुड्न सकिरहेका छैनन्। गाउँ जाने प्राथमकिताका सडक राम्रोसँग नबनाई पहाडै छियाछिया हुने गरी टोलटोलमा सडक पु-याउँदा यस्तो समस्या भएको देखिन्छ।

पुष्पलाल (मध्यपहाडी) लोकमार्ग, उत्तर–दक्षिण लोकमार्ग, मदन भण्डारी लोकमार्ग, कोसी कोरिडरलगायत प्राथमिकताका सडकमा समेत समस्या छ। कालोपत्रे भएका मुख्य राजमार्गबाहेकका सडक कतै पहिरो, कतै हिलो, कतै खाल्डाखुल्डीले गाडी चलाउन नसकिने अवस्था छ। गाडी कुदेका ठाउँमा पनि एक घण्टाको बाटोमा तीन–चार घण्टा खर्चिनुपर्ने अवस्था छ। कतै मान्छेले गाडी ठेलिएको देख्न पाइन्छ भने कतै स्काभेटर वा अन्य गाडीको सहायताले गाडी तानिरहेको भेटिन्छ। तेह्र्रथुमको सदरमुकाम म्याङलुङ, संखुवासभाको सदरमुकाम खाँदबारी, भोजपुरको सदरमुकाम पुग्ने सडकको अवस्था निकै कमजोर छ। दसैंको मुखमा पानी परेकाले सडक बिग्रिँदा दुःख पाउने अवस्था आएको पाँचथर, दक्षिणी यासोकका खेम निरौला बताउँछन्। ‘दसैंको समाग्री भिœयाउनका साथै देश–विदेशमा रहेका आफन्तहरू गाउँ आउन पनि समस्या हुने भएको छ। वर्षाले भत्काएको सडक मर्मत हुन नपाउँदै दसैंको मुखमा झरी आयो,’ उनले भने, ‘प्राथमिकता छुट्याएर मुख्य सडकहरू राम्रोसँग बनाएको भए यो समस्या हुने थिएन। दसैं आइसक्यो तर घरहरूमा दसैंका समानहरू भित्रिएका छैनन्।’

मध्यपहाडी लोकमार्गको कालोपत्रे नभएको एक सय ९२ किलोमिटर खण्डको ठाउँठाउँमा बेहाल अवस्था छ। यो सडकले पाँचथर, तेह्रथुम, धनकुटा र भोजपुरका विभिन्न गाउँहरू जोड्छ। कतिपय खण्डमा ठेकदारले समयमा काम नगर्दा स्थानीयले सास्ती खेप्नुपरेको छ। ‘कालोपत्रे नभएका ठाउँमा अलि बढी समस्या छ। निर्माणका कामहरू चलिरहेकाले पनि गाडी कुदाउन समस्या हुने गरेको छ,’ लोकमार्गको फिदिम कार्यालयका आयोजना प्रमुख अभिमान मुल्मीले भने, ‘दसैंका बेला पानी परेकाले समस्या भयो।’

पाँचथरको गणेश चोकबाट सुनसरीको चतरा जोड्ने कोसी कोरिडोर र यसले छोएका सडकको अवस्था पनि उस्तै छ। ताप्लेजुङका ग्रामीण क्षेत्र जोड्ने धेरै सडकहरूमा गाडी चल्न सकेको छैन। कतिपय ठाउँमा दुःखले ट्याक्टरमात्र चलिरहेको छ। मेची राजमार्गको वाहानन्दे हुँदै गुफा जोड्ने मदन भण्डारी राजमार्गमा दोभान बजारभन्दा माथि गाडी चल्न सकिरहेको छैन। मेरेङदिन, मिक्वाखोला, आठराई त्रिवेणी, मैवाखोला गाउँपालिकाका विभिन्न गाउँहरूलाई जोड्ने सडक वर्षाले थङथिलो हुँदा दसैंमा स्थानीयले सकस भोग्नुपर्ने अवस्था छ। ‘राजमार्गको कन्तबिजोक छ। दसैंको बेला गाउँमा आवश्यक सामान ल्याउन सकिएको छैन। राजमार्गबाट गाउँ जोड्ने सडकको हालत उस्तै छ। मर्मत गर्न जनप्रतिनिधिको ध्यान छैन,’ साँघुका असोक चोङबाङ लिम्बुले भने, ‘गाडी कुदाउन मात्र हैन हिँड्नै समस्या छ। यो पालिको दसैंमा यहाँका बासिन्दाले सास्ती भोग्नुपर्ने भयो। सरकारी ध्यान नपुग्दा समस्या भएको हो।’

ताप्लेजुङका अधिकतर सडकमा समस्या छ। दसैंको बेला घुइँचो हुने प्रसिद्ध पाथीभरा देवीको दर्शन गर्न जानका लागि प्रयोग हुने सुकेटार–काडलेपाटी सडक खण्डको अवस्था उस्तै छ। ठाउँठाउँमा ठेल्नुपर्छ। उत्तर–दक्षिण लोकमार्गको सुकेटार–तापेथोक सडकको अवस्था उस्तै छ। दाहालगाउँ–तेल्लोकजस्ता गाउँ जोड्ने धेरै सडकको यात्रा पनि कष्टप्रद छ। तेह्रथुम सदरमुकाम जोड्ने बसन्तपुर–म्याङलुङ सडकको कन्तबिजोक छ। २६ किलोमिटरको यो सडक हुँदै सदरमुकाम आउनसमेत कठिन छ। सामाजिक सञ्जालमा यो सडकका तस्बिरहरू राखेर तीनै तहका सरकारको चर्को अलोचना भइरहेको छ। ‘सडकको दुर्दशाको त कुरै नगरौं। दसैंमा सदरमुकाम आउनै कठिन छ, ग्रामीण क्षेत्रको अवस्था झन् असहज छ’ स्थानीय विपिन निङलेखु भन्छन्, ‘यो सालको दसैं सडकका कारण असहज हुने भयो।’ तेह्रथुममा आठराई जोड्ने मध्यपहाडी लोकमार्ग, म्याङलुङ–शुक्रवारे, सिदुवा–शुक्रवारेलगायत सडकमा गाडी कुदाउन सकस भइरहेको छ।

धनकुटाको भेडेटारदेखि पाँचथरको राँकेसम्म जोड्ने एक सय किलोमिटर राँके–भेडेटार सडक खण्डको सडक थङथिलो हुँदा दर्जनौं गाउँका बासिन्दा प्रभावित बनेका छन्। गाडी नआउदा दसैं मान्न आउने र दसैंका सामग्रीहरू गाउँ आई नपुगेको पाँचथर, लिम्बाका घनश्याम घिमिरे बताउँछन्। हिले भोजपुर खण्डमध्ये लेगुवासम्मको सडक बिँग्रिदा भोजपुर, संखुवासभाको जनजीवन प्रभावित बनेका छन्। धनकुटाका विभिन्न ग्रामीण क्षेत्रमा दसैं पुगेको छैन।
कोसी राजमार्गअन्तगृत बसन्तपुर–चैनपुर सडक कालोपत्रे भएको भनिए पनि संखुवासभाको ४२ किलोमिटर खण्डबाहेकको सडक कच्ची भइसकेको छ। कालोपत्रे गरिएको भए पनि ठेलेर गाडी कुदाउनुपर्ने बाध्यता रहेको छ। संखुवासभामा उत्तर–दक्षिणी लोकमार्गसहित विभिन्न ग्रामीण क्षेत्र जोड्ने सडकको अवस्था बिग्रिएको छ। ‘हिँउद लाग्यो, अब बाटो सुक्छ भनेको त दसैंको मुखमा परेको झरीले बाटो खत्तम बनाइदियो। पैसा तिरेर हिँड्छु भन्दा पनि पाइँदैन। गाउँमा सडक छ भनेर के गर्नु, गाडी कुद्न सक्ने अवस्था छैन,’ संखुवासभाको पाँचखपन–२ का रामु भट्टले भने, ‘हरेक बर्खामा गाउँ जाने सडक बिग्रिन्छ। दुःख पाउने हामी जनता नै हौं।’

भोजपुर जाने सडकको अवस्था पनि उस्तै छ। हिले–लेगुवा सडकका कारण सदरमुकाम पुग्न निकै दुःख भोग्नुपर्छ। यसका साथै भोजपुर–दिङ्ला, भोजपुर घोडेटारलगायत ग्रामीण क्षेत्र जोड्ने सडक हिलाम्मे छन्। इलामका ग्रामीण सडकको अवस्था पनि उस्तै छ। सदरमुकाम जोड्ने सडकमा झरीका कारण गाडी ठेलेर लैजानुपर्ने बाध्यता छ। फिक्कल–नयाँबजार, इलाम–नामसालिङ, गजुरमुखी–इलाम, बरबोटे–माइपोखरी–जमुना–माबोलगायत सडकमा समस्या छ।

पाँचथरका अधिकतर ग्रामीण सडकमा समस्या छ। कतिपय सडकहरू त सञ्चालन हुन सकेको छैनन्। टोलटोलमा सडक पुगे पनि दसैंजस्तो पर्वको बेला गाडी गाउँ जान नसक्ने अवस्था छ। अधिकतर ग्रामीण सडकमा अवरोध सिर्जना भएको छ। ठाउँठाउँमा गाडी ठेल्नु पर्ने हुन्छ। ‘गाउँमा लैजानुपर्ने सामान धेरै छ। गाउँ जानेको संख्या पनि उत्तिकै छ। बाटोले गर्दा धेरै बोक्न नि सकिँदैन। घण्टौं रोकिनुपर्छु,’ फिदिम–फालोट सडक खण्डका गाडीचालक रमेश राईले भने, ‘मुख्य कमाउने सिजनमा पानी परेकाले समस्या भयो। निर्माणकाम भइरहँदा बाटो झन् बिग्रिएको छ।’

प्रकाशित: १४ आश्विन २०७६ ०२:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App