८ वैशाख २०८१ शनिबार
अर्थ

चिनियाँ पर्यटक वृद्धिदर सुस्त

पोखरामा चिनियाँ पर्यटक। तस्बिरः सन्तोष/नागरिक

पोखरा – सन् २०१८ मा एक लाख ५४ हजार चिनियाँ पर्यटक नेपाल भित्रिए। सन् २०१९ को अगस्टसम्म आएका चिनियाँको संख्या एक लाख ६ हजार छ। आगमनको अनुपात हेर्दा कुनै अवरोध नभए सन् २०१९ मा पनि पोहोरकै हाराहारी चिनियाँ नेपाल आउने अनुमान व्यवसायीको छ। यसबाट उनीहरु सन्तुष्ट भने छैनन्।

चिनियाँको वृद्धिदर सुस्त रहेको उनीहरुको भनाइ छ। नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१४ मा नेपालमा एक लाख २४ हजार चिनियाँ आएका थिए। यो संख्या भूकम्पका कारण घटेर सन् २०१५ मा ६५ हजारमा सीमित भयो। बोर्डका अनुसार सन् २०१६ र २०१७ मा नेपाल आउने चिनियाँको संख्या एक लाख चार हजारमा उक्लेको थियो।

भूकम्पपछिका हरेक वर्ष चिनियाँ पर्यटक बढेको देखिए पनि यो वृद्धिदर सन्तोषजनक नरहेको उनीहरुको भनाइ छ। बढी नै अपेक्षा गरेको मुलुक चीन र भारतमध्ये चिनियाँको आगमन सोचेअनुरुप बढ्न नसकेको उनीहरु बताउँछन्। २०१६ र २०१७ को तुलनामा २०१८ मा केही बढेको देखिए पनि त्यसबाट उत्साही हुन नसकिने उनीहरुले बताए।

‘भूकम्पपछिका हरेक वर्ष चिनियाँ पर्यटकको ग्राफ बढेको देखिन्छ। तर त्यसले हामीलाई सन्तुष्ट बनाउन सकेको छैन,’ माउन्ट कैलाश रिसोर्टका सञ्चालक नरेश भट्टराई भन्छन्, ‘ग्राफले वृद्धि देखाए पनि व्यवसायीले चिनियाँबाट सोचेअनुरुप कमाउन सकेका छैनन्।’ चिनियाँ पाहुनाले पछिल्लो समय निकै सस्तो प्याकेज खोज्न र मूल्यमा बार्गेनिङ गर्न थालेकोले उनीहरुबाट आम्दानी बढाउन नसकेको भट्टराईको भनाइ छ।

चिनियाँ र भारतीय पर्यटकबाट पोखराले पर्याप्त लाभ लिने सोचे पनि आउजाउ सहज नहुँदा अपेक्षाकृत पर्यटक आउन नसकेको उनले बताए। नेपाल र चीनका विभिन्न सहरसम्म सिधा हवाई उडान सञ्चालन भए पनि स्थलमार्ग सहज नहुँदासम्म चिनियाँको आगमन देखिने गरी नबढ्ने उनले बताए। ‘नेपालसम्मको हवाई भाडा अधिक महँगो छ। नेपालको राष्ट्रिय ध्वजाबाहकको चीनसम्म पहुँच छैन,’ उनले भने, ‘त्यसले गर्दा चिनियाँ पर्यटक अन्यत्र मोडिएका छन्। बर्सेनि करोडौं चिनियाँ विदेश जान्छन्। सीमा जोडिएको छिमेकी नेपालमा एक–डेढ लाख आउनुलाई राम्रो मान्न सकिन्न।’

नेपाल भित्रिने मुख्य स्थलमार्ग तातोपानी नाका अहिले पनि पर्यटकका लागि बन्द छ। सबै चिनियाँले हवाई मार्ग प्रयोग नगरेको उनले बताए। ‘तातोपानी नाका खुला हुन्थ्यो भने चिनियाँ नेपाल आउँथे। भूकम्पपछि हवाई मार्ग मात्र विकल्पमा रह्यो,’ उनले भने, ‘नेपालसम्मको हवाई भाडा महँगो भएकोले आउन चाहने पनि अन्यत्र मोडिए।’ चिनियाँ पर्यटक भित्र्याउने योजना नै बन्न नसकेको उनले बताए।

‘हामी व्यवसायीले पनि योजना बनाएका छैनौं। सरकार पनि चिनियाँका लागि योजनाबद्ध देखिन्न,’ उनले भने। भट्टराईका अनुसार चिनियाँलाई नेपाल आउँदा भाषाको समस्या छ। त्यसैले एक्लाएक्लै आउन हिच्किचाउँछन्। समूहमा मात्र हिँडने चिनियाँलाई पोखरा तान्ने बलियो योजना नबनेको उनले बताए।

चिनियाँ नेपाल आउने मुख्य सिजन मार्च–अप्रिल हो। ‘उनीहरु समूहमा हिँड्छन्। प्याकेजमा मात्र यात्रा गर्छन्। किनमेल र आकाशमा हुने साहसिक गतिविधि (अल्ट्रालाइट, प्याराग्लाइडिङ) मा रमाउँछन्। पदयात्रा निकै नै छोटो दुरीको मात्र गर्छन्,’ उनले भने, ‘भाषा, खानपिन, पहुँच, प्रचारप्रसारको अभाव, नयाँ र आकर्षक प्याकेजको कमीले पनि चिनियाँ नेपाल आउन सकेनन्।’

पोखरामा अहिले चिनियाँलाई मात्र सेवा दिने होटल र रेस्टुरेन्ट गरी १७ वटा छन्। ती पनि चिनियाँ पर्यटकको आगमन घट्दा व्यवसाय धान्न गाह्रो परेको बताउँछन्। पोखरामा व्यवसाय गरिरहेका चिनियाँ ली हा राङ भन्छन्, ‘वास्तवमा भन्ने हो भने पोखरामा अहिले चिनियाँको व्यापार धान्नै मुस्किल छ। हामीले बाध्य भएर यहाँ व्यवसाय चलाएका छौं।’

चिनियाँ व्यवसायीको संस्था ओभरसिज चाइनिज एसोसिएसनका अध्यक्ष जाङ जिआङ सङ भन्छन्, ‘हामी संस्थागत रुपमा नेतृत्व गरेकोले मात्र बस्न बाध्य छौं। नत्र व्यवसाय धान्न सक्ने अवस्था छैन। चिनियाँ पाहुना आउनै सकेनन्।’

भूकम्पअघिको व्यावसाय देखेर अरु चिनियाँ व्यवसायी पनि पोखरामा लगानी गर्न तयार रहेकोमा अहिले लगानी गरिसकेका पनि डुब्ने अवस्थामा पुगेको उनले बताए।

‘पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि पोखरा र चीनका केही सहर जोड्ने गरी सिधा हवाई उडान भए आउन सक्छन,’ अध्यक्ष जाङले भने, ‘नत्र पोखरामा व्यवसाय टिकाउन मुस्किल छ।’ गाडीमा आउन चाहने पर्यटकका लागि पहुँच नहुनु नै मुख्य चुनौती रहेको उनले सुनाए।

पर्यटन बोर्ड पोखराका प्रबन्धक सूर्य थपलियाका अनुसार चिनियाँ पर्यटक समूहमा हिँड्छन्। चिनियाँ युवापुस्ता घुमफिर रुचाउने भए पनि उनीहरुलाई नेपालसम्म तान्ने आकर्षक कार्यक्रम दिन नसकिएको उनले बताए। ‘युवापुस्ता र रोमाञ्चक चिनियाँ पाहुनालाई तान्ने गतिविधि नै भएन,’ उनले भने, ‘प्रवद्र्धन पनि निकै कम छ। भारतमा जसरी सरकार र निजी क्षेत्रले चीनमा प्रवद्र्धन गर्ने हो भने आगमन बढ्छ। वर्षमा १०–१२ प्रतिशतको वृद्धिलाई उत्साहजनक मान्न सकिन्न।’

नेपाल र चीनबीचको हवाई सञ्जाल राम्रो भए पनि स्थलमार्ग खुला नभएसम्म चिनियाँ भित्र्याउन चुनौती रहेको उनले बताए। चिनियाँ पर्यटक पछिल्लो समय भियतनाम, कम्बोडिया लगायत दक्षिणपूर्वी एसियाली मुलुक जान थालेको उनले सुनाए। ‘दक्षिण पूर्वी एसियाली मुलुकले पर्यटनमा जुन रुपमा योजना बनाएका छन्, त्यस अनुसार नेपालले बनाएन। अनि चिनियाँ अन्यत्र डाइभर्ट भए,’ थपलियाले भने, ‘दक्षिणपूर्वी एसियाली मुलुकसँग प्रतिस्पर्धाको रणनीति पनि नेपालले बनाएन।’ चिनियाँ पर्यटकका लागि नेपालमा भाषा, खाना र गाइडको समस्या अझै रहेको उनले बताए।  नेपाली ध्वजाबाहकले चीन उडान नगर्दा नेपालमा उडान गरिरहेका चिनियाँ वायुसेवाले महँगो भाडा तोकेको र यसले पर्यटक बिच्काएको उनले बताए। ‘नेपाल वायुसेवाले सस्तोमा सेवा दिने गरी चिनियाँ सहरसम्म उडान गरे चिनियाँले पनि भाडा घटाउँथे, तर त्यो अवस्था नहुँदा आगमनमै असर परेको छ,’ थपलियाले भने, ‘हवाई भाडालाई जुनसुकै मुलुकका पर्यटकले पहिलो प्राथमिकतामा राखेर निर्णय गर्छन्।’

प्रकाशित: १४ आश्विन २०७६ ०२:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App