७ वैशाख २०८१ शुक्रबार
अर्थ

गण्डकी घुम्न प्रदेश १ लाई चुल्हे निम्तो

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईमार्फत प्रदेश सरकार र प्रदेशका जनतालाई चुल्हे निम्तो दिँदै गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल। तस्बिर : नागरिक

विराटनगर – गण्डकी घुम्न प्रदेश १ लाई चुल्हे निम्तो दिइएको छ। सोमबार गण्डकी प्रदेशबाट आएको मन्त्रीसहितको टोलीले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईमार्फत प्रदेश १ सरकार तथा  जनतालाई चुल्हे निम्तो दिएको हो।

गण्डकी प्रदेशको निम्तो बुझ्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशवासीलाई एकपटक गण्डकी प्रदेश घुम्न आग्रहसमेत गरे। उनले भने, ‘नेपालकै पर्यटनको केन्द्र पोखरासमेत रहेको गण्डकी प्रदेशको एकपटक भ्रमण गर्न प्रदेशवासीलाई आग्रह गर्दछु।’

नेपालकै पर्यटकीय केन्द्रका रुपमा रहेको गण्डकी प्रदेशसँग पर्यटन क्षेत्रमा सहकार्य गर्न प्रदेश १ सरकार इच्छुक रहेको पनि राईले बताए। उनले भने, ‘पर्यटन क्षेत्रमा गण्डकी प्रदेशसँग सहकार्य गर्न प्रदेश १ इच्छुक छ।’ राईले गण्डकी प्रदेश र प्रदेश १ ले दुवै प्रदेशका सरकारबीच पर्यटनको क्षेत्रमा सहकार्य गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन महत्वपूर्ण योगदान गर्न सक्ने पनि बताए।

राईले गण्डकी प्रदेशसँग प्रदेशको राजधानीबाट सिधा हवाई सेवा विस्तारका लागि संघीय सरकारसँग पहलसमेत भइरहेको जानकारी दिए। विराटनगरबाट पोखरास“ग सिधा हवाई सेवा सुरू भए दुवै प्रदेश घुम्न चाहने पर्यटकलाई सुविधा हुने राईले बताए। उनका अनुसार  नेपाल भ्रमण वर्ष २०२० को तयारी प्रदेश १को सरकारले पनि गरिरहेको छ। विश्वकै अग्लो चुचुरो सगमाथादेखि नेपालकै होचो स्थान केचनाकवलसम्म रहेको प्रदेश भएकाले प्रदेश १ मा पनि पर्यटनका थुप्रै सम्भावना रहेको राईले बताए।

प्रदेश सरकारले विभिन्न १६ वटा स्थानलाई पहिचान गरेर पर्यटन प्रवद्र्धन गर्ने योजना अघि सारेको पनि राईले जानकारी दिए। विराटनगरका पर्यटन व्यवसायी फडिन्द्र अधिकारीले पर्यटन क्षेत्रमा फड्को मार्दै गरेको गण्डकी प्रदेश र प्रदेश १ बिच सहकार्य भए दुवै प्रदेशलाई फाइदा हुने धारणा राखे।

उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जीव कोइरालाले प्रदेश १ र गण्डकी प्रदेशबीच पर्यटन प्रवद्र्धनमा सहकार्यले दुवै प्रदेशलाई लाभ हुने बताए। उनले भने  ‘सरकार–सरकार तथा व्यवसायीबीच पनि दुवै प्रदेशको सम्भावनाका विषयमा छलफल हुन आवश्यक छ।’ पर्यटन प्रवद्र्धन परिषद् गण्डकी प्रदेशका अध्यक्ष चिरञ्जीवी पोखरेलले गण्डकी प्रदेशले समृद्धिको मूल आधार पर्यटनलाई ठानेको बताए। पर्यटन विकासबाटै प्रदेशको समृद्धिको चाहाना पूरा गर्ने सरकारको योजना रहेको छ। गण्डकी प्रदेशले ‘पहिले आन्तरिक पर्यटन अनिमात्रै विदेशी’ भन्ने अभियान सुरू गरिरहेको र सोही अभियानअन्तर्गत सातै प्रदेशका सरकार र जनतालाई निम्ता दिन थालिसकेको पनि जानकारी दिए। गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले पर्यटनका क्षेत्रमा गरिएको थोरै लगानीले धेरै प्रतिफल दिइरहेको बताए। उनका अनुसार गण्डकी प्रदेशले ३ सयवटा होमस्टे सञ्चालनका लागि ३० करोड रुपैयाँ दिएको तर, त्यो रकमले धेरैलाई रोजगारी प्रदान गर्न सफल भएको जानकारी दिए। रोजगारीमात्रै हैन प्रदेश सरकारले दिएको १० लाख रुपैया“ अनुदानबाट वार्षिक ५० लाख रुपैयाँसम्म आम्दानी गर्न व्यवसायी सफल भएको उदाहरण पनि रहेको मन्त्री लम्सालले  बताए।

नका अनुसार गण्डकी सरकारले सातवटै प्रदेशमा पुगेर सांस्कृतिक कार्यक्रम र कलाकारसहितको टोलीले गण्डकी घुम्न निम्तो बाँड्ने कार्यक्रम सुरू गरिसकेको छ। पोखराबाट हिँडेको ८० जनाको टोली पाल्पा, बुटवल, नवलपुर, भैरहवा वीरगन्ज हुँदै विराटनगर आइपुगेको हो। सो टोलीले विराटनगरबाट काँकडभिट्टा हुँदै जनकपुर पुगेर प्रदेश २ को सरकारलाई पनि निम्तो दिने योजना बनाएको छ। प्रदेश २ को सरकार र जनतालाई निम्तो दिएर टोली प्रदेश ३ को सरकारलाई निम्तो दिन जाने पनि मन्त्री लम्सालले जानकारी दिए। काठमाडौंमा प्रधानमन्त्रीको प्रमुख आथित्यमा गण्डकी पर्यटन प्रवद्र्धन कार्यक्रम गरेर पहिलो चरणको कार्यक्रम समापन गर्ने योजना रहेको छ। यस्तै दोस्रो चरणमा प्रदेश ६ र ७ लाई निम्तो दिन जाने गण्डकी सरकारले तयारी गरेको छ। यतिमात्रै हैन गण्डकी प्रदेश सरकारले प्रदेशका ११ वटा जिल्ला समन्वय समिति र ५० वटा पालिकालाई समेत पर्यटन प्रवद्र्धनका कार्यक्रममा जोडेको मन्त्री लम्सालले जानकारी दिए। गण्डकी प्रदेशबाट आएको टोलीले विराटनगरमा डकुमेन्ट्री प्रदर्शन, चित्र प्रदर्शन तथा सरकारी निकाय तथा पर्यटन व्यवसायीस“ग छलफल कार्यक्रमको आयोजना पनि गरेको थियो।

प्रकाशित: १४ आश्विन २०७६ ०२:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App